विप्लवको पार्टीले खर्च व्यहोर्ने

२३ जेठ । (साबिस)
क्यान्सरपीडित चार वर्षीया बालिका मनसरा लुहारको काठमाडौंमा उपचारमा सुरु भएको छ । उपचारको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । कालिकोटको रास्कोट नगरपालिका–७ की मनसरा लुहारको दाइने आँखाबाट पलाएको मासु क्यान्सरमा परिणत भएपछि उपचारका लागि राजधानी लगिएको हो ।
मंगलवार बिहानै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताउँदै बालिका र उपचारमा सहयोगी गएका बुबा रने लुहारसहित आफन्त कालिबहादुर महतारालाई साथमा लगेको हो । राजधानीमा उक्त पार्टीले पत्रकार सम्मेलन गरी आर्थिक अभावका कारण क्यान्सरबाट पीडित बालिकाको उपचारको जिम्मेवारी आफूले लिने बताएको हो ।
पत्रकार सम्मेलनमा नेकपाका पोलिटब्यूरो सदस्य तथा भेरी कर्णाली ब्यूरो इन्चार्ज रहेका भरत बमले पार्टीकै पहलमा काठमाडौं ल्याइएकोले अब उपचार पनि पार्टीकै पहलमा हुने बताए । वीर अस्पतालमा उपचारका लागि पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि मंगलवार नै टिचिङ अस्पताल महाराजगन्जमा लगिएको बताइएको छ । पार्टीले पनि मनसराको उपचारका लागि सबैले सहयोग गर्न अनुरोध गरेको छ ।
यसअघि मनसराको आर्थिक अवस्था नाजुक रहेकोले उपचारमा सहयोगको अपिल सहितको समाचार प्रकाशन भएपछि काठमाडौंको करुणा फाउन्डेशनले उपचारको जिम्मेवारी लिने बताएको थियो । तर राजधानी पुग्नुअघि नै कलंकीबाट बालिकालाई भरत बमको नेतृत्वमा पार्टीले उपचारमा सहयोग गर्ने भन्दै लगेपछि आफूहरूको सम्पर्कमा नआएको फाउन्डेशनका फाउन्डर दिपक सापकोटाले बताए । ‘हामीले उपचार गर्ने भनेका थियौं, कलंकीमा आउनेबेलासम्म कालिबहादुर महतारासँग सम्पर्क थियो,’ उनले भने, ‘तर अहिले कसैसँग पनि सम्पर्क छैन ।’ सापकोटाले उपचार गर्ने जिम्मेवारी जसले लगे पनि बालिकाको ज्यान सकुसल बचाउनु मुख्य उद्देश्य हुने बताए । ‘हाम्रो कसैसँग प्रतिस्पर्धा छैन, उपचार गर्ने थुप्रै बालबालिकाहरू छन्, ।’

प्रकाशित मितिः   २४ जेष्ठ २०७४, बुधबार १५:१३