कृषि रणनीति

कर्णाली प्रदेश कृषिका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो । यहाँको भौगोलिक विविधताले विविधतापूर्ण कृषि गर्न सकिने सम्भावना छ । तथापी अहिलेको अवस्थामा कृषि उत्पादनमा कर्णाली निकै कमजोर देखिन्छ । त्यसैले कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रको सुधार र विस्तारका लागि राण्नीतिक योजना बनाउन थालेको छ । रणनीतिक योजनामा रहेर कृषिका कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । कृषिलाई व्यावसायीकरण गर्न दश वर्षे कृषि रणनीतिक योजना निर्माण गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ देखि २०९१/०९२ सम्मका लागि दश वर्षे कृषि विकास रणनीतिक योजना निर्माण गरिएको हो । २०८१ फागुन १३ गतेको मन्त्रिपरिषद्को बैठकले कृषि रणनीति योजना स्वीकृत गरेको थियो । अब रणनीति योजनामा रहेर मात्र कृषिका कार्यक्रम कार्यान्वयन गरिने छ ।

कृषिमा विशेष योजना नहुँदा कृषिका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । जसले गर्दा बास्तविक कृषकले लाभ पाएका छैनन् । संघीयता कार्यान्वयनमा आएको निकै वर्ष पछि मात्र कृषि रणनीति योजना निर्माण गरिएको हो । ‘मूल्यवान माग’ कृषि रणनीतिको मूल आधार मानिएको छ । ‘मूल्यवान मार्गः सबैका लागि, सधैँका लागि’ भन्ने मुख्य नाराका साथ रणनीति योजना निर्माण गरिएको छ । आगामी आर्थिक वर्षका लागि योजना निर्माण गर्दा नीतिमा समावेश गरिएका विषयमा रहेर गर्नुपर्नेछ । कृषि क्षेत्रलाई मूल्यवान, व्यावसायिक, नाफामूलक, जलवायु उत्थानशील र दिगो कृषि उत्पादन प्रणालीमा रूपान्तरणमार्फत प्रतिफल योग्य कार्यक्रम मात्र कार्यान्वयन गरिने छ । कर्णाली प्रदेशको विशेष सम्पदाका रूपमा रहेका कृषि जैविक विविधता, जल, जमिन र जंगलको संरक्षण र उपयोग गर्न एकीकृत, सहभागीमूलक प्रयास गरी प्रदेशको दिगो खाद्य सुरक्षा सुनिश्‍चित गर्नेगरी रणनीति योजना निर्माण गरिएको छ ।

निर्माण गरिएको रणनीतिक योजनामा कृषि क्षेत्रको रूपान्तरणका लागि युवा तथा महिला केन्द्रित सार्वजनिक, निजी र सहकारी क्षेत्रबीच साझेदारी विकास लगायतका कार्यक्रम राखिएको छ । संघ र स्थानीय तहसँगको समन्वयमा गुणस्तरीय उत्पादन सामग्री, प्रविधि र प्राविधिक सेवा सर्वसुलभ र सुनिश्‍चित गर्दै मूल्य श्रृंखला सञ्‍जाललाई सशक्तिकरण गर्नेगरी आगामी आर्थिक वर्षका योजनासमेत निर्माण भइरहेका छन् । योजनामा कृषि पेसालाई सम्मानित बनाउने, कृषि अनुसन्धान, प्रसार र शिक्षाको एकीकृत प्रयासमार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, तुलनात्मक लाभ र उच्च मूल्यका कृषि उपजको प्रवद्र्धन गरी कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाउने, रैथाने बालीवस्तु र जैविक विविधताको संरक्षण र सम्वद्र्धन गरी वातावरण तथा जनस्वास्थ्यमैत्री कृषि प्रवद्र्धन गर्ने, जलवायु समानुकूलन गर्दै जीविकोपार्जन सुधार र खाद्य एवम् पोषण सुरक्षा सुनिश्‍चित गर्नेलगायतका योजना बनाइएको छ । जसले कर्णालीको कृषिमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   २२ बैशाख २०८३, मंगलवार ०५:०३