कर्णाली युवा महोत्सव हुँदै

सुर्खेत: कर्णाली युवा महोत्सवको दोस्रो संस्करण शनिवारदेखि हुने भएको छ । कर्णाली प्रदेशका युवाहरूको प्रतिभा पहिचान, नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।

‘युवाका लागि साझा डबली, कर्णालीका लागि साझा सम्भावना’ भन्ने मूल भावसहित वैशाख १९ र २० गते वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा महोत्सव आयोजना हुन लागेको हो । गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणको सफलतापछि यस वर्ष महोत्सवलाई अझ परिष्कृत, व्यवस्थित र विषयगत रूपमा समृद्ध बनाउँदै दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कर्णालीका युवाहरूमा रहेको सिर्जनशीलता, क्षमता, सम्भावना र नेतृत्व ऊर्जा उजागर गर्दै उनीहरूलाई प्रदेशको विकाससँग प्रत्यक्ष जोड्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको जनाइएको छ ।

महोत्सव ‘परिवर्तनका लागि युवा’ को मुख्य आयोजना तथा राष्ट्रिय युवा परिषद्, राष्ट्र निर्माण मञ्च नेपाल, प्लेयिङ फर चेन्ज र कर्णाली युथ फाउन्डेसनलगायत संस्थाको सह–आयोजनामा हुन लागेको हो । महोत्सव मुल आयोजक समितिका अनुसार महोत्सवले कर्णालीका युवालाई आफ्ना विचार, क्षमता, सिर्जना र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्नेछ ।

मूल आयोजक समितिका संयोजक विनोदकुमार शाहीले कर्णालीका युवाहरूलाई आफ्नो शक्ति, सिर्जनशीलता र सम्भावनालाई उजागर गर्ने साझा डबलीका रूपमा महोत्सवलाई अघि बढाइएको बताए । उनका अनुसार महोत्सवमा कर्णालीको समृद्धिमा राज्यको दायित्व, जनप्रतिनिधि र युवाको सम्बन्ध, मिडियामा कर्णालीको स्थान, पर्यटन, शिक्षा, स्वास्थ्य तथा अवसर र चुनौतीजस्ता विषयमा गहन बहस र अन्तरक्रिया हुनेछन् । ‘कर्णालीका युवालाई सुन्ने, बुझ्ने र उनीहरूका सवाललाई नीतिगत बहसमा रूपान्तरण गर्ने साझा मञ्चको रूपमा महोत्सवलाई स्थापित गर्न खोजेका छौँ’ संयोजक शाहीले भने, ‘युवाले केवल सहभागिता जनाउने मात्र होइन, नीति, बहस र समाधान निर्माणमा नेतृत्व गर्ने वातावरण बनाउनु महोत्सवको मुख्य उद्देश्य हो ।’

महोत्सवमा विभिन्न विषयगत सत्र, संवाद र अन्तरक्रियासँगै वतृृत्वकला कार्यक्रम पनि समावेश गरिएको छ । युवाहरूको अभिव्यक्ति, तर्कशक्ति र सार्वजनिक प्रस्तुति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला सत्र राखिएको आयोजकले जनाएको छ । त्यस्तै, साहित्यिक सत्रअन्तर्गत क्षितिज समर्पणद्वारा लिखित ‘तोरकीन’ र ओम रिजालद्वारा लिखित ‘पैकेलो’ पुस्तकबारे विशेष चर्चा गरिनेछ । कर्णालीको साहित्य, सिर्जना र बौद्धिक विमर्शलाई महोत्सवसँग जोड्ने उद्देश्यले पुस्तक चर्चा समावेश गरिएको आयोजकको भनाइ छ ।

महोत्सवको विशेष आकर्षणका रूपमा कर्णालीका विभिन्न क्षेत्रमा उदाहरणीय योगदान पु¥याएका १० जना युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिने भएको छ । सामाजिक परिवर्तन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, कला, साहित्य, नवप्रवर्तन र नेतृत्वका क्षेत्रमा उल्लेखनीय काम गरेका युवालाई सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः   १८ बैशाख २०८३, शुक्रबार ११:३५