चरा संरक्षण योजना
कर्णाली प्रदेश सरकारले गिद्ध बासस्थान संरक्षणको योजना बनाएको छ । गिद्धको संख्या घट्न थालेपछि सरकारले गिद्ध संरक्षणको योजना बनाएको हो । गिद्ध संरक्षणका लागि स्थानीय तह तथा समुदायमा सचेतनाका कार्यक्रम गर्ने गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । पछिल्लो समय विषाक्त औषधिको प्रयोग, सुरक्षित बासस्थान अभाव, विद्युतीय धराप, रुक कटान, मानवीय अज्ञानताका कारण गिद्धको संख्या दिनप्रतिदिन घटिरहेको छ । यो वर्ष पनि पन्छी संरक्षणका लागि विभिन्न कार्यक्रम गरिएको मन्त्रालयको वन व्यवस्थापन तथा जैविक विविधता संरक्षण महाशाखाले जनाएको छ । गतवर्षको चैत १२ गते मुगुको गमगडीमा सचेतना कार्यक्रम गरिएको थियो । यो वर्षबाट प्रदेश सरकारले गिद्ध संरक्षणको योजना ल्याएको हो । पहिलो वर्ष गिद्धको बासस्थान धेरै भएको ठाउँमा विभिन्न सचेतनाका कार्यक्रम गरिएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर पन्छी संरक्षणको योजना ल्याएको थियो । यो वर्ष कार्यक्रम कार्यान्वयनका लागि आठ लाख बजेट विनियोजन गरिएको छ । यो वर्ष अध्ययनका काम गरेर अर्को वर्ष कार्यक्रम कार्यान्वयन गरिने भएको छ । गिद्ध विश्वभरि नै संकटमा परेको छ । नेपालमा कर्णाली प्रदेश गिद्धको प्रमुख बासस्थानको रूपमा विकास भएको छ । अहिले कुन ठाउँमा गिद्ध बढी बसोबास गर्छन् भन्ने सामान्य खाका निर्माणको काम भइरहेको छ । सोही अनुरूप आगामी वर्षको योजना निर्माण गरिनेछ । आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्नेगरी योजना निर्माण गरिएको मन्त्रालयले जनाएको छ । पन्छी विज्ञसँग राय सुझाव माग गरिएको छ । गिद्ध संरक्षणमा स्थानीय सरकारको सहभागितामा जोड दिनेगरी समुदायमा सचेतीकरण कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । तीन तहको सरकार र समुदाय मिलेर आहारा व्यवस्थापन, पूर्वाधार विकासमा जोड दिनेगरी योजना निर्माणको काम भइरहेको प्रदेश सरकारले जनाएको छ । सामुदायिक वन र संरक्षणकर्ताको सक्रियताले मात्र गिद्धको सुरक्षित बासस्थान बन्न सक्छ । पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेकको प्रयोग न्यून भएपछि गिद्धको मृत्युदर घट्ने अपेक्षा गरिएको छ । अहिले पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेकको अत्याधिक मात्रामा प्रयोग बढेको छ ।
गिद्ध संरक्षणका लागि स्थानीय तहबाट पनि पहल भइरहेको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत गिद्ध संरक्षणको योजना बनाएको छ । गिद्ध संरक्षण गर्ने उद्देश्यले (गौशाला) निर्माण गरिएको छ । अहिले चौकुनेमा रहेको गौसंरक्षण केन्द्र (गौशाला) गिद्धको जमघटस्थल बनेको छ । संरक्षण केन्द्र सञ्चालनमा आएपछि ठूलो संख्यामा गिद्ध आउन थालेका छन् । यसले प्रकृतिको कुचीकारका रूपमा चिनिने लोपोन्मुख चरा गिद्धको संरक्षणमा ठूलो सघाउ पुग्नेछ ।
प्रकाशित मितिः १८ बैशाख २०८३, शुक्रबार ०५:०३
सम्पादकीय ।