व्यवसाय सम्वद्र्धन सेवा शुभारम्भ
सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले व्यवसाय सम्वद्र्धन सेवा सुरु गरेको छ । कर्णाली प्रदेशमै पहिलो पटक नवीन सोच भएका उद्यमीहरूलाई लक्षित गरेर व्यवसाय सम्वद्र्धन सेवा’ र ‘व्यवसाय औपचारीकिकरण’ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले बुधवार औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा मन्त्री शाहले निजी क्षेत्रको विकास विना देशको कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य वृद्धि सम्भव नभएको बताए । उनले भने, ‘निजी क्षेत्रको संरक्षण र उत्थानका लागि प्रदेश सरकार सधैँ हातेमालो गर्दै अगाडि बढ्न तयार छ ।’
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले निजी क्षेत्र सफल भए मात्र नगर सफल हुने धारणा राख्दै व्यवसायीका समस्या समाधानमा स्थानीय सरकार सधै तत्पर रहने बताए । वडा नं. ६ का अध्यक्ष जनक रावलले धेरै व्यवसायहरू अझै दर्ता प्रक्रियामा नआउँदा चाहेर पनि सहयोग गर्न नसकिएको बताउँदै यो कार्यक्रमले व्यवसायीहरूलाई कानुनी दायरामा ल्याउन र नगरपालिकाको तर्फबाट सहयोग गर्न सहज हुने विश्वास व्यक्त गरे ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यो व्यवसाय सम्वद्र्धन कार्यक्रम कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतमा सुरु गरिएको हो । कार्यक्रममा संघका कार्यकारी निर्देशक छत्र केसीले स्टार्टअप व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि संघले व्यवसाय सम्र्वद्धन सेवा कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने बताए ।


साझा बिसौनी ।