‘तमसुक लेखेर ५ कक्षा पास गरें’

कृष्णप्रसाद दहाल पूर्व शिक्षक हुन् । उनले शिक्षण पेसामा ३८ वर्ष बिताए । वि.सं. २०३१ सालमा अस्थायी दरबन्दीबाट शिक्षण पेसामा सुरु गरेका दहाल वि.सं. २०३७ सालपछि स्थायी शिक्षक भए । प्रावि रतु र पारेगाउँ प्रावि हुँदै उनले १८ वर्ष हस्तवीर प्रावि वीरेन्द्रनगरमा पढाए । १८ वर्षसम्म प्रधानाध्यापकको रूपमा काम गरे । वि.सं. २००८ चैत २० गते जन्मिएका उनी बुबा शिवप्रसाद दहाल र आमा जयकुमारी दहालका जेठा छोरा हुन् । उनी अहिले विभिन्न सामाजिक संघ–संस्था र सहकारी संस्थामा आवद्ध छन् । उनले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी गरेका छन् ।

मेरो जन्म सुर्खेतकै रतुमा भएको हो । त्यतिबेला गाउँमा अहिलेको जस्तो विद्यालय नै थिएन । यातायातको सुविधा पनि थिएन् । पाठशालामा गएर पढ्नुपथ्र्यो । अहिलेको जस्तो किताबहरू नै पाइदैंनथ्यो । दुर्गा, चण्डिलगायतका धार्मिक किताबहरू पढ्नुपथ्र्यो । हामी सात भाइबहिनी थियौं । एउटा भाइ त पाँच वर्षको उमेरमा नै बित्यो । दुई बहिनी छन् । म सानो छँदा बुबाले घरमा सप्ताह लगाएको याद आउँछ । त्यसबेलामा तीन वर्षको थिएँ । भजन गाएका थिए, बाजा बजाएका थिए । त्यसैमा नाँचेको सम्झना अझै पनि आउँछ । बुबा साक्षर हुनुहुन्थ्यो । उहाँको समान्य लेखपढ थियो । आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने उहाँलाई चेतना थियो । त्यसकारण हामीलाई सानैदेखि घरमै निकालाले धुलोपाटीमा लेख्न सिकाउनुहुन्थ्यो ।

त्यसबेलामा ठूलो वर्णमाला किताब पाइन्थ्यो । नेपालगन्जबाट ल्याउन पठाएर बुबाले अक्षर चिनाउनुहुन्थ्यो । ६ वर्षको पुगेपछि म पाठशाला पढ्न गएँ । पाठशालामा पढे बापत ५० पैसा शुल्क तिर्नुपथ्र्यो । सबै एकै ठाउँमा चकटी, गुन्द्री ओछ्याएर बसेर पढ्दथ्यौं । पाठशाला पढ्दाखेरीको एउटा सम्झना अझै पनि छ । दुर्गा र चण्डिका अध्यायहरू कण्ठ गरेर सुनाउनुपथ्र्यो । एक दिन मलाई कण्ठ गरेको सबै आएन । गुरुले केतुकी भनेर काठको लठ्ठीले हातमा हान्नुभयो । म रुदै घर गएँ । गुरु र अन्य विद्यार्थीहरू मलाई सम्झाउन घरसम्म गएको याद अझै पनि आउँछ । दुर्गा पढिसकेर चण्डिको पहिलो अध्याय पढिसकेपछि पाठशाला जान छोडें । घरको जेठो छोरा भएकोले भाइबहिनीको रेखदेख गर्ने र मेलापात गाइगोठालो गर्नुपर्ने बाध्यता थियो ।

म ११ वर्षको पुगेको थिएँ । घरमा अब बुहारी ल्याउनुप¥यो भनेर विवाहको कुरा चलाउन थाले । ११ वर्षको हुँदा मेरो विष्णुकुमारी आचार्यसँग मागि विवाह भयो । ‘अब त तेरो विवाह हुन लागेको छ । दुलही लिन जाने हो आज’ भनेको याद आउँछ । उनी (विष्णुकुमारी) नौ वर्षको थिइन् । पहिले सानै उमेरमा विवाह गर्ने चलन थियो । बाजा बजाएर दुलही लिन जाँदा मलाई जेठो बुबाको छोरा दाईले काँधमा बोक्नुभएको थियो । रमाइलो लागेको थियो । पहिले र अहिलेको जमाना आकाश–पातल फरक छ । सम्झदा अनौठो लाग्छ । विवाह गरे पनि हामी लामो समयसम्म राम्रोसँग बोलेनौं । ठूला मान्छेहरूले केही भन्छनकी भनेर अप्ठ्यारो लाग्थ्यो । हामी साथीको व्यवहार गथ्र्यौं । उनी माइत गएको बेलामा घरबाट मलाई लिन पठाउनु हुन्थ्यो । ससुराली घरमा जान अप्ठ्यारो लाग्ने । एक जना दाइलाई लिएर जान्थै । आफू आधा बाटोसम्म गएर बस्थें । उनलाई लिन दाइलाई पठाउँथे । अनि घर लिएर आउँथे । विवाह भएको सुरु–सुरुमा ससुराली घरमा जाँदा सासुआमाले ‘ज्वाइँ कति थोरै खाना खानुहुँदो रहेछ, छोरी त पाल्न सक्नुहुन्न की’ भनेर जिस्काउनु हुन्थ्यो । सानैमा विवाह गरे पनि साथीहरूसँग खेल्ने रमाउने गरिन्थ्यो । गाईगोठालो, मेलापात जाँदा धेरै नै खेलिन्थ्यो । पहिले त प्रायको सात वर्षभन्दा माथि उमेर भयो भने विवाह गरिहाल्थे । फुपु, दिदीहरू, दाइहरूको विवाह भइसकेको हुन्थ्यो । उमेर एउटै भएको कारण हामीसँगै खेल्ने गथ्र्यौं । डण्डीबियो, गुच्छा धेरै नै खेलियो । घरका काँक्रा चोरेर बनमा लिएर खाँदा धेरै नै रमाइलो लाथ्यो ।

घरको जेठो छोरा भएको हिसाबले पनि जिम्मेवारी धेरै नै थियो । घरको काम धेरै गर्नुपर्ने भएको कारणले केही समयसम्म पढाइ पनि रोकियो । मैले १५ वर्षको हुँदा पाँच कक्षा पास गरें । जिल्ला शिक्षाबाट पाठशालामा परीक्षा लिने बेला मात्र जाने चलन थियो । त्यतिबेलाको परीक्षा पनि अहिलेको जस्तो हुँदैनथ्यो । परीक्षमा गाउँघारमा प्रयोगमा आउने विभिन्न प्रकारका कागजपत्र र निवेदनहरू लेख्न लगाइन्थ्यो । त्यसैले पढाउँदा पनि यस्तै लेख्न सिकाइन्थ्यो । मैले पनि तमसुक लेखेर कक्षा पाँच पास गरें । त्यसबेलामा परीक्षा दिएर पाँच कक्षा पासको प्रमाण पत्र पाएँ । त्यसपछि मेहेलीमा विद्यालय स्थापना भइसकेको थियो । मैले त्यहाँ ६ पनि ६ महिना पढेर पास गरें । विष्णुले घरमा काम गरेर सघाउँथिन, म ४ घण्टाको बाटो हिँडेर पढ्न जान्थें । सात कक्षा पास गरेपछि घरको जिम्मेवारी सबै मेरो भएको कारण फेरि घरगृहस्थीमा फर्किएँ । ‘काम गरे माम नै माम, पढे कुनै काम’ भन्ने उखान लगाउँथे गाउँमा । पछि २०२७ सालमा कक्षा ८ को परीक्षा दिएर उत्तीर्ण भएँ । त्यसबेलामा म १९ वर्षको भइसकेको थिएँ । वि.सं. २०३१ सालमा शिक्षकको जागिर खाएको हुँ । एक सय रूपैयाँ तलब थियो । मैले वि.सं. २०३५ सालमा एसएलसी पास गरेको हुँ । बाल्यकालमा पढ्ने धोको मैले यसरी पूरा गरें । समग्रमा बाल्यकाल राम्रो भयो । अहिले बाल्यकाल सम्झदा इतिहास जस्तो पनि लाग्छ ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७४, सोमबार १२:४९