कुन तहमा कसको बहुमत ?

सुर्खेत, २० जेठ ।
सुर्खेतका नौ वटै स्थानीय तहले पूर्णता पाएका छन् । जिल्लाका गाउँ तथा नगर कार्यपालिकाको शनिवार सम्पन्न सदस्यहरूको निर्वाचनपछि पूर्णता पाएका हुन् । जिल्लाका पाँच वटा नगर कार्यपालिका र चार वटा गाउँ कार्यपालिकाले पूर्णता पाएका छन् ।


जिल्लाको गुर्भाकोट नगरपालिकामा कांग्रेसका तर्फबाट सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् भने अन्य गाउँ र नगर कार्यपालिकामा निर्वाचनबाट सदस्यहरू छनौट गरिएको हो । जिल्लाको सबैभन्दा ठूलो नगर वीरेन्द्रनगर नगर कार्यपालिकामा नेकपा एमालेले बहुमत प्राप्त गरेको छ । वीरेन्द्रनगरको प्रमुखमा नेपाली कांग्रेसका देवकुमार सुवेदी निर्वाचित भए पनि उपप्रमुखसहित बहुमत सदस्य भने एमालेले जितेको छ ।
वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट वीरेन्द्रनगरमा उपप्रमुखसहित नौ वटा वडा एमालेले जितेको थियो । नगर कार्यपालिकाको आठ जना सदस्यका लागि शनिवार भएको निर्वाचनबाट आठै जना एमालेका सदस्य निर्वाचित भएका छन् । योसँगै एमालेले नगर कार्यपालिकामा दुई तिहाईभन्दा बढीको बहुमत पाएको छ । २६ सदस्यीय नगर कार्यपालिकामा प्रमुखसहित सात जना कांग्रेस र एक जना नेकपा माओवादी केन्द्रका सदस्य हुँदा उपप्रमुखमा मोहनमाया ढकालसहित १८ जना एमालेका सदस्य रहेका छन् । शनिवार भएको निर्वाचनबाट एमाले उम्मेदवारहरू राजु गुइँदेल, डण्डबहादुर विक, विष्णुबहादुर वादी, शान्ता खड्का, टिकाकुमारी गुरुङ घले, सरिता चौधरी, लक्ष्मीकुमारी विक र यमुना नेपाली निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानललाई पराजित गर्दै आठै जना सदस्यमा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । सदस्यमा निर्वाचित डण्डबहादुर विक यसअघि वडा नम्बर १६ को वडा अध्यक्षमा पराजित भएका थिए । यस्तै भेरीगंगा नगरकार्यपालिकाले पनि शनिवार नै पूर्णता पाएको छ । आठ जना सदस्यहरूको निर्वाचनपछि नगर कार्यपालिकाले पूर्णता पाएको हो । नगर प्रमुख र उपप्रमुख जितेको नेपाली कांग्रेसले नगरकार्यपालिकाको आठ जना सदस्य पनि एकलौटी आफ्नो पक्षमा पारेको छ । सदस्यमा खीमकुमारी कामी, भूमिकला सुनार, मोतीकला खत्री, रमना दमाई, विष्णु खत्री, खिलबहादुर कामी, प्रतिमा विक र शेरबहादुर विक निर्वाचित भएका छन् ।
गुर्भाकोट नगर कार्यपालिकाको आठ जना सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसबाहेक अन्य दलबाट उम्मेदवारी दर्ता नभएपछि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । सदस्यमा सुशीला कार्की, सरस्वती नेपाली, मनिसरा थापा, तस्बिर घर्ती, गंगा श्रेष्ठ, दिलबहादुर सार्की, खुमबहादुर विक र उवीकला सार्की निर्वाचित भएका छन् । लेकवेशी नगर कार्यपालिकामा भने नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानल विजयी भएको छ । झगीसरा सुनार, तुलीसरा राना, दुर्गा बारघरे, धनसरा सुनार, लक्ष्मीदेवी रेग्मी, इन्द्रबहादुर विश्वकर्मा, रत्नबहादुर सुनार र हिरालाल नेपाली निर्वाचित भएका हुन् ।
यस्तै चौकुने गाउँ कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा विजय हासिल गरेको एमालेले गाउँ कार्यपालिकाको शनिवार सम्पन्न सदस्यहरूको निर्वाचनमा ६ जना सदस्य जितेको छ । एमालेका मन्धरा सावद, रामकली दर्लामी, कमला विक, हरिकला बिसी, नैनसिंह राजी र चमारे दमाई विजयी भएका छन् । यो सँगै चौकुनेको १८ सदस्यीय गाउँ कार्यपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षसहित १४ जना तथा कांग्रेस र माओवादी केन्द्रका दुई र दुई जना सदस्य रहने भएका छन् । त्यसैगरी बराहताल गाउँपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ । संयुक्त प्यानलबाट डिलसरा राजी, शेरबहादुर सुनार, चित्रा विक, भावना बस्नेत, कमला सुनार र रोशनी सुनार निर्वाचित भएका छन् ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा भने नेपाली कांग्रेसका सम्पूर्ण सदस्यहरू निर्वाचित भएका छन् । सदस्यमा गणेश शाही, खगीसरा कँडेल, रुक्मी देवकोटा, चन्द्रा आले मगर, तुलसी लामिछाने, गोर्खे कामी, भगे कामी र समिन्द्रबहादुर राजी निर्वाचित भएका हुन । सिम्ता गाउँपालिकामा नेकपा एमालेको प्यानल विजयी भएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए । निर्वाचित सदस्यमा दीपा चन्द मल्ल, तुलसी सिंह खत्री, शोभा परियार, राधा विक, टेकनारायण विक र सुनिता विक रहेका छन् । चिङ्गाड गाउँपालिकामा भने नेपाली कांग्रेसको एकल प्यानल विजयी भएको छ । नेपाली कांग्रेसका लालवीर सार्की, कुले कामी, पार्वती चुनारा, लली शर्मा जैसी, तिलमाया सुनार र तुलसी शाही विजयी भएका छन् । सुर्खेतमा गाउँ र नगर कार्यपालिकाले पूर्णता पाए पनि अब जिल्ला समन्वय समितिले पूर्णता पाउन बाँकी रहेको छ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७४, आईतवार १७:१०