‘खानेपानीलाई पहिलो प्राथमिकता देऊ’

गर्मीयाम सुरु भएसँगै वीरेन्द्रनगरमा खानेपानीको समस्या पुनः बल्झिएको छ । झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी नै यहाँको खानेपानीको मुख्य स्रोत हो । तर झुप्रामा पानीको स्रोत थप र वृद्धि हुन नसक्दा मागअनुसार खानेपानी उपलब्ध हुन सकिरहेको छैन । वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान गर्ने उत्तम विकल्पको रूपमा भेरीको पानीलाई लिइएको छ । तर उक्त आयोजना तत्काल बन्ने सम्भावना छैन । त्यसैले तत्कालका लागि पनि उचित विकल्प खोज्नुपर्ने माग स्थानीय उपभोक्ताहरूको छ । खरीखोला र बोरीखोला खानेपानी आयोजना निर्माणको काम भइरहेको छ । तर अन्य समयमा पनि पर्याप्त पानी उपलब्ध नहुने वीरेन्द्रनगरमा खडेरीको समयमा स्थानीयबासीले थप सास्ती व्यहोर्नु परिरहेको छ । यसै सन्दर्भमा रहेर हाम्रा सहकर्मी गीता थापाले वीरेन्द्रनगरका केही स्थानीयबासीलाई यहाँको खानेपानी समस्या समाधान गर्न के गर्नुपर्ला ? भनी सोधेकी छिन् । प्रस्तुत छ, उनीहरूको प्रतिक्रिया जस्ताको त्यस्तैः

भीमा विक वीरेन्द्रनगर–१२
वीरेन्द्रनगरमा पाँच दिनको एक दिन पानी आउँछ त्यसमा पनि एक घण्टा आउने गर्छ । कोठाभाडामा बस्ने विद्यार्थीलाई घरबेटीले पानी धेरै भर्न नदिने र पाँच दिनसम्म पानी पु¥याउनुपर्ने अवस्था हुँदा खानेपानीको समस्याको मारमा बढी विद्यार्थी नै छन् । प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी वीरेन्दनगर जनसंख्याको चाप विस्तारै बढ्दै गइरहेको छ । अहिले नै खानेपानीको मुहानहरूको खोजी गरी खानेपानीको समस्या समाधान गर्न सकिएन भनेपछि झन् खानेपानीको समस्या विकराल रूपमा नहोला भन्न सकिदैंन । जनप्रतिनिधिहरूले पनि यो विषयलाई प्राथमिकतामा राखेर काम गर्दा राम्रो हुन्छ ।

बालिका आचार्य, वीरेन्द्रनगर–६
पहिलको वर्षहरू भन्दा यो वर्ष झनै खानेपानीको समस्या बढेको छ । नगरबासीलाई खानेपानीको समस्याबाट मुक्त बनाउँछौं भन्दै पटक–पटक विभिन्न राजनितिक दल तथा झुप्रा बृहत खानेपानी संस्थाले पनि पानीको मुहानको खोजी गरेको पनि हो खै त अहिलेसम्म वीरेन्द्रनगरको अवस्था त्यस्तै छ । कसरी समाधान हुन्छ यो हालतले वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान ? यो कुरा अब जनप्रतिनिधिहरूले नै बुझ्न जरुरी छ । जनप्रतिनिधिकोहरूको सबैभन्दा पहिलो काम वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान गर्नु हो । त्यसका लागि झुप्रा बृहत खानेपानी संस्थाले पनि पहल गर्न जरुरी छ ।

नन्दा चुहान, वीरेन्द्रनगर–८

वीरेन्द्रनगरको खानेपानीको समस्या दिनप्रति दिन बढ्दै गइरहेको छ । झुप्रा बृहत खानेपानी संस्थाले वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधानका लागि खरी खोला र बोरी खोलाको पानी ल्याउने भनेको मिति पनि सकिसकेको छ । खै कहाँ गयो खरी र बोरी खोलाको पानी ल्याउने योजना ? दिनप्रतिदिन जनसंख्या बढ्दै छ । संस्थाले नयाँ धाराहरू पनि जडान गरिरहेको छ तर, खानेपानी पाँच दिनमा एक दिन आउँछ त्यो पनि एक घण्टा कसरी पुग्न पानी ? खानेपानी संस्थाले त उपभोक्ताको आँखामा छारो हाल्ने काम मात्र गरिरहेको छ । अब जनप्रतिनिधिहरूकै आश छ ।

जयप्रसाद अधिकारी, वीरेन्द्रनगर

गतवर्षको असार मसान्तसम्ममका खरी र बोरीखोलाको पानी उपत्यकामा ल्याउने भनेर झुप्रा बृहत खानेपानी तथा सरसफाइ संस्थाले गरेको थियो । खै कहाँ गयो त्यो खरी र बोरीखोलाको पानी थाहा छैन । कहिलेसम्म आइपुग्ने हो पानी ? अब वीरेन्द्रनगर उपत्यकाको खानेपानीको समस्या समाधानका लागि जनप्रतिनिधिहरूले नै पहल चाल्नुपर्ने देखिन्छ । मेयर उपमेयरले अबको वीरेन्द्रनगरको पहिलो काम खानेपानीको समस्या समाधान गर्नुपर्छ । जनप्रतिनिधिहरूको पहिला काम खानेपानीको समस्या समाधान गर्नु नै हो । योजनाहरू बनाउँदा खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाइनुपर्छ ।

लक्ष्मी महतरा, वीरेन्द्रनगर


वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान गर्ने जिम्मा जनताद्वारा चुनिएका जनप्रतिनिधिहरूको हो । झुप्रा बृहत खानेपानी उपभोक्ता संस्थाले त वर्षौंदेखि नै खानेपानीको समस्याको समाधान गर्छु भनेर बारम्बार भनेको छ तर पनि खानेपानीको समस्या जस्ताको त्यस्ते छ । त्यही पनि कोठा भाडामा बस्नेहरू धेरै हुन्छन् । सबैले पानी भर्दाभर्दै पानी सुकिहाल्छ । खानेपानी त पुग्दैन, टेयाइलेटमा हाल्ने पानी, नुहाउने, कपडा धुने पानी झन् परको कुरा हो । नजिक भएकाहरू त बुलबुले जान्छन् तर, टाढा भएकाहरूको अवस्था के होला ? खानेपानीको समस्या समाधानका लागि पानीको मुहान खोजी भएको खरी र बोरी खोलाको पानी छिटो वीरेन्द्रनगरमा ल्याउने पहल गरिनुपर्छ ।

पद्मा बुढा, वीरेन्द्रनगर

खानेपानीको समस्या समाधान गर्छौं भनेर पटक–पटक राजनीतिक दलहरूले भनिरहँदा अहिलेसम्म खरी र बोरीखोलाको पानी वीरेन्द्रनगरमा आउनसकेको छैन । झुप्रा बृहत खानेपानी संस्थाले भने नयाँ धाराहरू वितरण गरिरहेको छ । धारा मात्र वितरण गरेर हुँदैन धारामा पानी आउनु पनि पर्छ । प्रदेश नम्बर ६ को राजधानी वीरेन्द्रनगर भन्न नि लाज मर्दाे भइसकेको छ । एउटा खानेपानीको समस्या समाधान गर्न त यहाँ वर्षै वर्ष लाग्छ भने राजधान कहिले होला ? खरी र बोरीखोलाको पानी तत्काल वीरेन्द्रनगरमा ल्याउनको लागि अब जनप्रतिनिधिले पहिलो एजेण्डा खानेपानीको लिनुपर्छ र भेरीको पानीलाई पनि वीरेन्द्रनगर ल्याउने योजना बनाउनुपर्छ ।

नरिसरा छम्तेल, वीरेन्द्रनगर–११


आजसम्म खरी र बोरीखोलाको पानी ल्याउन नसकेको झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अब कसरी वीरेन्द्रनगरबासीहरूलाई खानेपानीको समाधान गर्ला पत्याउनै गाह्रो भइ सकेको छ । यदि टाढाको पानीको मुहान ल्याउन सकिदैंन भने इनार खनेर पानी आउने ठाउँमा इनार खन्नुपर्छ र पानी नआउने ठाउँमा बोरिङ्ग खनेर टोल टोलमा सार्वजनिक नै भए पनि खानेपानीको धारा हरू बनाउन सकेमा खानेपानीको समस्यालाई केही भए पनि कम गर्न सकिन्छ । वीरेन्द्रनगर प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी भएकाले जनसंख्याको चाप पनि विस्तारै बढ्दै गइरहेको अवस्था छ ।

तुल्सी आचार्य, वीरेन्द्रनगर–६


वीरेन्द्रनगरको खानेपानीको समस्या पहिलेको भन्दा अझै विकराल बन्दै गइरहेको छ । पहिला चार दिनमा धारामा आउने पानी अहिले एक दिन बढाएर पाँच दिन पु¥याएको छ । त्यही पनि एक घण्टा पनि पानी धारामा आउँदैन । वीरेन्द्रनगर बजार क्षेत्र जहाँ झुप्रा बृहतले खानेपानी वितरण गरेको छ त्यहाँको अवस्था झनै खानेपानीको अभाव छ । झुप्रा बृहत खानेपानी कार्यालयले पटक–पटक खानेपानीको समस्या समाधान गर्छु भने पनि खै अहिलेसम्म खानेपानीको समस्या समाधान हुनसकेको छैन । २० वर्षपछि जनताले पाएका जनप्रतिनिधिहरूले वीरेन्द्रनगरको खानेपानीको समस्यालाई समाधानका लागि पहल गर्नु जरुरी छ ।

सुमित्रा केसी, वीरेन्द्रनगर–८


वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान गर्न जनप्रतिनिधिहरूको पहिलो प्राथमिकतामा पार्नुपर्छ । खानेपानी र सरसफाइको क्षेत्रमा बजेट अन्य क्षेत्रमा भन्दा बढी नै छुट्याउनुपर्छ । र अर्काे कुरा खानेपानीको मुहान ल्याउन अझै केही वर्ष नै लाग्ने हो भने सुख्खा ठाउँहरूमा बोरिङ खनेर टोल टोलमा सार्वजनिक धाराहरू राख्दा यसले पनि खानेपानीको समस्यालाई केही भए पनि समाधान गर्न सकिन्छ । खरी र बोरीखोलाको पानी वीरेन्द्रनगरमा ल्याउन तत्काल पहल गरिनुपर्छ । दीर्घकालीन योजनाको रूपमा भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने योजना बनाउनुपर्छ । तब मात्र उपत्यकामा खानेपानीको समस्याको समाधान हुनसक्छ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७४, आईतवार १७:०६