डढेलोको जोखिम
गर्मीयाममा डढेलोको जोखिम बढी हुन्छ । अत्यधिक गर्मी, त्यसमाथि हावाहुरी चल्दा कर्णालीमा बर्सेनि वन मासिँदै गएको छ । राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका छन् । वन मासिनुमा सबैभन्दा ठूलो समस्या डढेलोले निम्त्याएको छ । सरकारले डढेलो रोकथामका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरेको भएपनि प्रभावकारी बन्न सकेको छै्रन । डढेलोकै कारणले सामुदायिक वन छियाछिया बनेको छ ।
डढेलोका कारण निस्कने धुँवाका कारण वायु प्रदूषण पनि बढेको छ । वनमा ढडेलो लाग्दा जंगली जनावर बस्तीमा पस्नाले थप क्षति निम्त्याएको छ । यो वर्षको हालसम्म वीरेन्द्रनगरका दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको छ । अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोको मारमा पर्दैछ । अहिले जताजतै हेर्दा ठाउँठाउँमा डढेलो लागेको देखिन्छ । पर्याप्त जनशक्ति र उपकरण अभावले जंगलैभरि लागेको डढेलो निभाउन स्थानीयहरू असमर्थ छन् । एकातिर गर्मी अर्कातिर लामो समयदेखिको खडेरी, जसले गर्दा वन क्षेत्रमा लागेको डढेलोले चाँडै फैलिने गरेको छ । हिउँदे वर्षा नहुनु र खडेरीले गर्दा यसपालि डढेलोको जोखिम बढी छ । डढेलोबाट वन जोगाउन सबैभन्दा बढी खाँचो जनचेतनाको हुन्छ । तर यसतर्फ कसैको ध्यान पुगेको देखिँदैन । कतिपय स्थानमा स्थानीयहरूको मतभेदका कारणसमेत वनमा आगजनी गर्ने गरेको सुनिन्छ । खास गरेर सामुदायिक वनमा विमति राख्नेहरूले डढेलो लगाउँदा उपभोक्ताले दुःख पाउने गरेका छन् । गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिंगर र सुकेका ढलापडा काठले डढेलो फैलाउने गरेको छ । हरेक वर्ष वनमा डढेलो फैलिने गरेको छ । साधन स्रोत र जनशक्ति अभावका कारण डढेलो नियन्त्रणमा चुनौती हुनेगरेको छ ।
डढेलोको कारण कार्बन उत्सर्जनमा वृद्धि भएको छ । वातावरण प्रदूषित भएको छ । सन् २०४५ सम्ममा नेपालले शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसलाई यसले चुनौती दिएको छ । मानव तथा जीवजन्तुको स्वास्थ्यमा नराम्रो असर परेको छ । जनधनको क्षति भएको, जीवजन्तु तथा बोटबिरुवामा क्षति भएको, लोप हुन लागेका प्रजाति विलुप्त हुने र यसले गर्दा पर्यावरणलाई नै असर पु¥याएको छ । यति मात्र होइन, वनमा रहने सर्प, बिच्छीलगायत जीव डढेलो छल्न मानव बस्तीतिर पस्छन् । फलस्वरूप कीट आतंक बढ्छ । हरेक वर्ष लाग्ने डढेलोको कारण पानीका मुहान सुक्दै गएका छन् । ढलेसुकेका काठ, बहुमूल्य जडिबुटी नष्ट भएको छ । कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, मिथेन र अन्य प्राङ्गारिक ग्यास पैदा हुन्छ । यी ग्यासले वायुमण्डलमा रहेको ओजन तहमा क्षति पुग्न गइ वायुमण्डलको तापक्रममा वृद्धि हुन्छ । समग्र जैविक विविधतामा असर पुग्छ ।
प्रकाशित मितिः ६ बैशाख २०८३, आईतवार ०५:०५
सम्पादकीय ।