फैलिँदै डढेलो, मासिँदै वन

सुर्खेत: बर्सेनि वन मासिँदै गएको छ । वन मासिनुमा सबैभन्दा ठूलो समस्या डढेलोले निम्त्याएको छ । सरकारले डढेलो रोकथामका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरेको भएपनि प्रभावकारी बन्न सकेको छैन ।

डढेलोकै कारणले सामुदायिक वन छियाछिया बनेको छ । अत्यधिक गर्मी, त्यसमाथि हावाहुरी चल्दा कर्णालीका राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन् । डढेलोका कारण निस्कने धुँवाका कारण वायु प्रदूषण थप बढेको वीरेन्द्रनगरका स्थानीय जगत थापाले बताए । उनले वनमा ढडेलो लाग्दा जंगली जनावर बस्तीमा पस्ने गरेको सुनाए । यो वर्षको हालसम्म वीरेन्द्रनगरका दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको छ । मानवीय त्रुटिका कारण वनमा डढेलो लागेको उनले सुनाए । उनले भने, ‘मानवीय त्रुटिका कारण वनमा डढेलो लागेको छ, चुरोट बीडि खाएर जथाभावी रूपमा फाल्नु, घाँस पलाउने आशमा डढेलो लगाउनु तथा सचेतनाको अभावका कारण वन सखाप बनिरहेको छ ।’

छिताबारी सामुदायिक वनका कोषाअध्यक्ष रमा योगीका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोको मारमा पर्दैछ । ‘अहिले जताजतै हेर्दा ठाउँठाउँमा डढेलो लागेको देखिन्छ,’ उनले भनिन्, ‘आँखाले नभ्याउने ठाउँमा त डढेलो कति हो कति, सरकारले डढेलो रोकथामका लागि सचेतनाका कार्यक्रममा जोड दिनुप¥यो ।’ उनले पर्याप्त जनशक्ति र उपकरण अभावले जंगलैभरि लागेको डढेलो निभाउन आफूहरू असमर्थ भएको उनले सुनाइन् । ‘डढेलो निभाउन सक्ने दक्ष र पर्याप्त जनशक्ति छैन,’ उनले भनिन्, ‘न त हामीसँग आधुनिक उपकरण नै छ, घना जंगलमा फैलिएको डढेलो नियन्त्रण गर्न हम्मेहम्मे पर्ने गरेको छ ।’

एकातिर गर्मी अर्कातिर लामो समयदेखिको खडेरी, जसले गर्दा वन क्षेत्रमा लागेको डढेलोले चाँडै फैलिन पाउने उनको भनाइ छ । ‘हिउँदे वर्षा नहुनु र खडेरीले गर्दा यसपालि डढेलोको जोखिम बढी छ,’ उनले भनिन्, ‘डढेलोबाट वन जोगाउन सबैभन्दा बढी खाँचो जनचेतनाको छ ।’ समुदायमा रहेका केही गलत सोचका कारण मानिसले जंगलमा आगजनी गर्ने गरेको उनले सुनाइन् । सामुदायिक वनमा विमति राख्नेहरूले डढेलो लगाउँदा उपभोक्ताले दुःख पाउने गरेका छन् । गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिंगर र सुकेका ढलापडा काठले डढेलो फैलाएको वन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । वनमा लाग्ने डढेलो नियन्त्रणका लागि विभिन्न सचेतनाका कार्यक्रम राखिएको कार्यालयका वरिष्ठ वन अधिकृत भरतबहादुर थापाले बताए । उनका अनुसार हरेक वर्ष वनमा डढेलो फैलिने गरेको छ । साधन स्रोत र जनशक्ति अभावका कारण डढेलो नियन्त्रणमा चुनौती हुनेगरेको थापाले जानकारी दिए ।

अहिले कार्यालयमा सात जना शसस्त्र वन रक्षक रहेका छन् भने डढेलो नियन्त्रणका लागि पानी ट्याङ्की मात्र रहेको छ । यो वर्ष मात्र वीरेन्द्रनगरका पाँच वटा स्थानमा डढेलो लागेको कार्यालयले जनाएको छ । स्थानीय र कार्यालयको पहलमा पाँचै ठाउँमा डढेलो नियन्त्रणमा लिइएको वरिष्ठ वन अधिकृत थापाले बताए । कर्णाली प्रदेश सरकारले पनि वन संरक्षणका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको छ । तर पनि बर्सेनि रूपमा वन मासिँदै गइरहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ६ हजार सात सय २१ हेक्टर राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लागेको थियो । यसैगरी आर्थिक वर्ष २०८१÷०८२ मा एक हजार दुई सय हेक्टर वनमा डढेलो लागेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । यो वर्ष पनि विभिन्न स्थानमा डढेलो लागिरहेको छ ।

डढेलोको कारण कार्बन उत्सर्जनमा वृद्धि भएको छ । वातावरण प्रदूषित भएको छ । सन् २०४५ सम्ममा नेपालले शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसलाई यसले चुनौती दिएको छ । मानव तथा जीवजन्तुको स्वास्थ्यमा नराम्रो असर परेको छ । जनधनको क्षति भएको, जीवजन्तु तथा बोटबिरुवामा क्षति भएको, लोप हुन लागेका प्रजाति विलुप्त हुने र यसले गर्दा पर्यावरणलाई नै असर पु¥याएको छ । यति मात्र होइन, वनमा रहने सर्प, बिच्छीलगायत जीव डढेलो छल्न मानव बस्तीतिर पस्छन् । फलस्वरूप कीट आतङ्क बढ्छ । हरेक वर्ष लाग्ने डढेलोको कारण पानीका मुहान सुक्दै गएका छन् । ढलेसुकेका काठ, बहुमूल्य जडिबुटी नष्ट भएको छ । कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, मिथेन र अन्य प्राङ्गारिक ग्यास पैदा हुन्छ । यी ग्यासले वायुमण्डलमा रहेको ओजन तहमा क्षति पुग्न गई वायुमण्डलको तापक्रममा वृद्धि हुन्छ । समग्र जैविक विविधतामा असर पुग्छ ।

प्रकाशित मितिः   ५ बैशाख २०८३, शनिबार ०५:०५