धराने माया
ठुल्दाजु मोहनसिंह र माल्दाजु रतन सिंहलगायत हामी तीन दाजुभाइ पिताजीको क्रियाकाजको लागि कोराबास बसेका थियौँ । आमा स्वर्गेवास भएको तीन वर्ष नपुग्दै पिताजी पनि आमालाई खोज्न धुँवाको बाटो भएर आगोको घरबाट हराउनु भएको आज नवौँ दिन भएको थियो ।
माघ १५ र १६ गते धरानमा हुने तय भएको तेस्रो अन्तर्राष्ट्रिय साहित्य महोत्सव चैत १३ देखि १४ गतेको लागि सरेको कुरा अनन्य मित्र रोमु अधिकारीले फोनमार्फत सुनाउनु भयो । पिताजीको अकस्मात निधनको खबर सुनेपछि मित्र उहाँ पनि भावविह्वल हुनु भएको रहेछ । ‘गुरु मेरो त तपाईंसँग फोन गरेर समवेदना प्रकट गर्ने हिम्मत नै आएन । कसरी फोन गरौँ । म बडो अफसोचमा परेँ’ मित्र रोमुजीले दुःखभाव प्रकट गर्दै समवेदना प्रकट गर्नु भएको थियोे । पिता गुमाउनुको पीडा उहाँलाई पनि अनुभूत छ । केही वर्ष अघि उहाँले पनि आफ्ना पिताजीलाई गुमाउनु भएको थियोे । घरमुली सधैँका लागि घरबाट बाहिरिएर अस्ताउने कुराको पीडा भोगेकोलाई मात्रै थाह हुन्छ । मित्र रोमुजी र मलाई एउटै ग्रहदशाले छोएर गयो ।
धरान साहित्य महोत्सव चैत १३ र १४ गते सरेपछि मलाई पनि राहतको महशुस भएको थियो । पिताजी स्वर्गे भएको ४५ दिन भइसकेको थियोे । चुनाव सकिएर देशव्यापी रूपमा चुनावको नतिजा प्रकाशित भयो । दिन गन्दागन्दै तेस्रो अन्तरराष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव–२०८२ को निर्धारित समय आँखै अगाडि आएको पत्तै भएन । गुरु डा. महेन्द्रकुमार मल्ल र मेरो सुर्खेतदेखि धरानसँगै जाने योजना भएपनि उक्त योजना सफल भएन ।
मेरो बिस्ताराको सिरानमाथि झुन्डिएको छ वार्षिक क्यालेण्डर । हावाले क्यालेन्डरका पाताहरूलाई हल्लाएपछि धरान साहित्य महोत्सवमा उपस्थिति हुन खबर ल्याएर हावा झ्यालबाहिर पाले झैँ उभिइरहेको छ, अर्थात म त्यहाँ जानै पर्छ । हर निमेष मनले यस्तै अनुभूति गथ्र्यो । टिकट हातमा लिएर गाडी नचढुञ्जेलसम्म समयका हरेक कणकणमा म हराइरहन्थेँ ।
१० गते बिहानै महेन्द्र गुरुले बाग्लुङदेखि फोन गर्नु भएको थियोे । ‘धिरेन तिम्रो त फोन पनि आउदैन त ?’ जवाफमा ‘गुरु ११ गतेको लागि टिकट बुक गरिसकेको छु, अब उतै भेटौँला’ भन्दै बिदा मागेको थिएँ ।
११ गते टिकटमा उल्लेखित समयअनुसार नै म बसपार्क पुगिसकेको थिएँ । अहिले झोला तानेर यात्रुलाई हैरान गराउने परम्परा सुर्खेतमा अन्त्य भएको रहेछ । झोला गाडीमा राखेँ र आफ्नो सिट सुरक्षित गरेँ ।
पश्चिम दिशा हिँडेको घामको पाइला हेर्दा घडीले सुब्बाकुना पुग्दा पौने दुई बजाएको थियोे । यस्तै पाँच बजेको हुनुपर्छ गाडी कोहलपुर चप्परगौडी गएर रोकियो । क्याविनबाट एउटा कर्कस आवाज बसभित्र बसेका यात्रुको कानमा आएर ठोक्कियो । नास्ता गर्नुस् । कान ठाडा भए । अब बीच बाटोमा गाडी काहीँ रोकिँदैन । एकैचोटि गोरुसिँगे गएर रोकिन्छ खाना खान । यात्रुहरू कान ठाडो पार्दै एकएक गर्दै झरे । होटेलको टेबुलमा गएर ओठहरू चल्मलाउन थाले खाजा नस्ताको प्लेटमा । १५ मिनेको विश्रामपछि हामी सवार गाडी ढकेरी, शम्शेरगञ्ज हुँदै कुसुम पुगेको थियोे । मोबाइलमा घण्टी बज्यो । घरबाट आयो कि भने हतारहतार फोन खल्तीबाट झिकेँ, धरानबाट मित्र रोमुले गर्नु भएको रहेछ ।
‘गुरु कता पुग्ने भयो ?’
‘शम्शेरगञ्ज गुरु ।’
‘म पनि झोलीझिम्टी लिएर झुम्काबाट धरान जाँदैछु, हाम्रो भेट भोलि त्यतै हुन्छ । बसपार्क पुगेपछि कल गर्नुहोला म लिन पुगिहाल्छु ।’
‘हस् गुरु’ भन्दै फोन राखेँ । गाडी हावाको गति समाएर अघि बढ्दै गयो मन भने धरान पुग्ने कुतुहलतामा भुरुङ झैँ नाचिरह्यो ।
गाडीले ठिक समयमा गोरूसिँगे पुगायो, ठिकै समयमा बुटवल हुँदै दाउन्ने पुगायो तर अझैसम्म दाउन्ने सडक खण्डको अवस्था मरेको सिनोको हालझैँ उत्तानो छाती लगाएर बसिरहेको छ । राजधानी मात्रै नभएर नेपालभर जोड्ने बाटोको अवस्थाप्रति राज्यले चासो नदिनु विडम्बना भन्नुबाहेक अरु शब्द भएन । राति १२ बजे पुगेको यात्रु चक्काजामको सिकार भएर बिहान ३ बजेसम्म धुलाम्मे दाउन्नेमै बसिरहनुको दोषी को ? काममा ढिलासुस्ती देखाएर यात्रुलाई सास्ती दिने ठेकेदारहरूप्रति सरकार निर्मम कहिले हुने ? आदि प्रश्नहरूको जवाफ खोज्ने प्रक्रियामा आफूले आफैसँग रिसाउनु शिवाय अरु केही हात लागेन । धुलोको स्वाद चाखाउँदै जामबाट गाडी उन्मुक्ति पाएर कतिखेर निक्लियो याद भएन । भुसुक्कै निदाइएछ गाडीभित्रै । ब्यूझिँदा बिहान ६ बजेको थियोे, पारस बसपार्क चितवन पुग्दा ।
साढे सात बजे गाडीले मकवानपुर हेटौंडा पुगायो । निद नपुगेर आँखा पिरा भएका थिए । धाराको पानीले आँखा भिजाएपछि आँखाको पिरो कम भयो । बिहानको नित्यकर्म र चियानास्ता पछि हामी सवार गाडी हेटौंडाबाट पूर्व लाग्यो । अमलेखगञ्जको चोकलाई दायाँ पार्दै गाडी बायाँ मोडियो । बारा, महोत्तरी, रौतहट, धनुषा, सिराहा, सप्तरी हुँदै पूर्व सुनसरीतर्फ । महेन्द्र राजमार्गको लम्बाई नाप्दै थिए गाडीका चक्काहरू । सर्लाहीको लालबन्दी पुग्दा पहिले झैँ मित्र रोमुजीको मोबाइलको रिङ बज्यो, ‘गुरु कहाँ पुग्नु भयो ?’ उल्लासले भरिएको मनलाई चौडा बनाउँदै भनेँ, ‘लालबन्दी गुरु ।’ उहाँको जवाफ थियोे, ‘एकदेखि दुई बजेसम्म पुग्नु हुन्छ ।’
बर्मझिया पुग्दा चार बजिसकेको थियोे । बाजेका नाउमा खोलिएका पेँडा पसलहरूमा पहिलेको जस्तो चहलपहल थिएन । बाजेको पेँडा बनाउने असली कलालाई नातीहरूले नक्कलीबनाइ ग्राकलाई ढाँटेरर त होइन ? यस्तै–यस्तै मनमा प्रश्नहरू उब्जिए । बाजेको नामले सडक किनारको दायाँबायाँ बाटोमा फिजिएका होडिङबोर्डका उदास चेहेराहरू छल्दै हामी सवार गाडी कोशी ब्यारेजमा पुगेपछि गति कम गर्दै नदी पार गर्यो ।
तालका माछालाई कोशी नदीका माछा बनाएर बेच्ने पसले र नदीकै माछा बेच्ने पसलहरू पुलछेउकै किनारमा लस्करै थिए । गाडीबाट सहजै छुट्याउन सकिन्थ्यो ताल र नदीका माछा । पापी पेटभन्दा लोभी संसारमा कुनै वस्तु छैन । पेट हुँदैन थियोे भने मान्छेले दुःख पनि गर्दैन थियोे होला । उनीहरूको पेसाप्रति सहानुभूति प्रकट गर्दै कमसेकम उनीहरूले देश त बेचेका छैनन् भन्ने सम्मान पलायो । फेरि टिनटिन टिनटिन घण्टी बज्यो । फोन गुरुकै थियो । ‘कहाँ पुग्नु भयो ?’ ‘मिलन पेट्रोल पम्प ।’ ‘ए ए मेरै गाउँमा पुग्नु भए छ, ४० मिनेटमा धरान बसपार्क पुग्नु हुन्छ ।’ ‘हस् गुरु हस्’ भन्दै फोन राखेँ ।
गाडी इटहरी चोकमा आएर उत्तर मोडियो । चोक उस्तै थियो बरु सडकको रूप फेरिएको थियो । एक लाइन सडकबाट दुईलाइन भएका रहेछन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण छुट्टिएका सडकहरूको दिशा हेरेँ । अतितलाई सम्झना गरेर हातका औँला भाचेँ । भाँचिएका औँलाबाट हिसाब निक्लिएपछि थाह भयो ठीक १६ वर्ष पहिले इटहरी चोकमा पुगेको रहेछु ।
फेरि फोनमा घण्टी बज्यो । फोन मित्र हेमन्त निरौलाजीको रहेछ । प्रश्न उहीँ थियोे ‘सर कता पुग्नु भो ?’ ‘इटहरी’ मैले जवाफ दिएँ । ‘ए ए नजिकै पुग्नु भएछ । भोटेपुलमा झर्नुहोला, म लिन आउँछु हजुरलाई । तपाईंलाई रिसिभ गर्ने म नै हो ।’ हेमन्त सरको मृदुभाषी कुराले आत्मियता थप्यो । कामको बाँडफाँटको जिम्मा सबैलाई दिइएको रहेछ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्थ्यो । गाडी भोटेपुल पुग्न दस मिटर टाढा थिएन । हेमन्तजी मेरै पर्खाइमा बस्नु भएको रहेछ । मैले गाडीको क्याबिनबाटै मोटो ज्यान देखिहालेँ । हतारहतार झर्दै न्यानो मायाको आँचलमा लतपतिएर छाति मिलायौँ र एकले अर्कालाई अभिवानद गर्यौं । म उहाँको पछि बसेँ । धरानको व्यस्त सहरको बाटो हुँदै एक चिया पसलमा मोटरसाइकल अडियो । बाटोबाट भित्र पस्यौँ, उक्त चिया पसल फेसबुकबाट परिचित कवि मधुप्यालाको मधुशाला रहेछ । मधुशालासँगै रहेछ चियाशाला पनि । चिया पिउँदै रातभरिको थकान मेटेँ । डा. भिम खतिवडा, अस्मिता भट्टराई, खेम आचार्य, एमपि पाण्डे र मित्र रोमु अधिकारीज्युहरूसँगको भेटले मन प्रफुल्ल भयो । निद र थकान हरायो, धरान पुगेको वास्तविक अनुभूति भयो । आत्माले धरानको माटोलाई नमन गरेँ शीर झुक्याएर ।
चिया पिएपछि हामी अघि बढ्यौँ । भानुचोकको आडैमा एक पान पसलको अघि हेमन्तजीले बाइक रोक्नु भयो । उहाँ पानको पारखी हो, उहाँका दाँत र ओठले नै परिभाषित गरेका थिए । पानको अर्डर गर्नु भयो आफ्नो लागि । म पनि पानको सानोतिनो पारखी हुँ । मनमा अर्डर गरौँ गरौँ लागिरहेको थियो । हेमन्तजीले सोधिहाल्नु भयो, ‘सर कुन पान लिने ?’ ‘म त मिठा पान नै खान्छु ।’ साउजीले पानको पातको गर्धनतिर कैँची सोझाउँदै टाउको हल्लायो र पातलाई टुई टुक्रा बनायो । कत्था र चुना मिलाएर पान तयार गरेर दियो । मुखमा हालेँ । बनारसी पान र धराने पानमा फरक छुटाउँनै सकेन ।
हामी कार्यक्रमस्थलतर्फ मोडियौंँ । त्यहाँ पुग्दा शोभा भण्डारी र रोमनाथ ढुङ्गेल कार्यक्रम स्थलमा हुनुहुन्थ्यो । भोलिको कार्यक्रमको लागि बन्दोबस्त मिलाउँदै हुनुहुँदो रहेछ । सिमसिम पानीले स्वागत ग¥यो । धनुषा, रौतहट, सिराह, सप्तरीको गर्मीलाई धरानको चिसोले काट्यो । चिसोसँगै शरीरमा स्फूर्ति चलायमान भयो । छोटो परिचयपछि बसाइको प्रबन्ध लक्ष्मी चोकको आडैमा रहेको ह्याप्पी ल्याण्डमा भएको रहेछ । हेमन्त निरौलाजीले मलाई त्यहीँ ल्याण्ड गराउनु भयो । आजको हाम्रो बास रुम नम्बर १०१ मा रहेछ । पहिले नै महेन्द्र मल्ल गुरु र प्रज्ञाका कुलपति भुपाल राईज्यु त्यहीँ हुनुहुँदो रहेछ । गुरु र मेरो रुम एउटै थियोे । २६ घण्टाको यात्रापछि धरान सहर पुगेको थिएँ । अनिदो यात्रा र केही घण्टा अघि मधेस प्रदेशको गर्मीलाई धरानको चिसो मौसमले निलेपछि लुटुक्कै निदाएको थाह नै भएन ।
म ब्युझिँदा विजयपुर गढीको थाप्लोबाट घाम उदाएपछि चिन्नेडाँडा र शुलीकोटको पखेरामा पारिलो घाम परेको थियोे । यसो लाग्थ्यो राति परेको चैते झरिले भिजेको शुली र चिन्नेले आफ्नो जवानीलाई घाममा सुकाइ रहेकाछन् । युद्धमा पराजित सिपाही झैँ साँघुरीगढी भने झोक्रिएर धरान सहर नियाली रहेको थियो ।
विजयपुरका अन्तिम राजा बुद्धिकर्ण राय उर्फ बुद्धिकर्ण राई हुन् । राजा पृथ्वीनारायण शाहको सेनाले विक्रम संवत १८३१ विजपुर कब्जा गरेपछि विजयपुर दरबारको भबिष्य सकियो । विजयपुर कब्जापछि बुद्धिकर्ण राय भारतको बिहार भागेर उतै राज्य खडा गरेर बसेका थिए भन्ने सुक्ती जोडिएको छ । स्रोतअनुसार पृथ्वीनारायण शाहको तिलंगा÷सेनाले पुनः पक्राउ गरी विजपुरमै ल्याएर बर्बर्तापूर्वक शरीरको छाला काढेर बुद्धिकर्ण रायको हत्या गरेका थिए रे । श्रीमानको मृत्युको खबरले रानीले पनि भावविह्वल हुँदै विजपुरभन्दा पूर्व पर्ने खोलामा सेरिएर मृत्युवरण गरेकाले उक्त खोलाको नाम नै सेरी खोला रहन गएको हो रे । जुनखोला अहिले सुनसरीदेखि मोरङ्ग जिल्ला हुँदै दक्षिण बगिरहेको देखिन्छ । भेडेटारबाट सेरी खोलालाई दायाँ पार्दै चोर औँला देखाउँदै मित्र रोमु अधिकारीले गजलकारद्वय खेम आचार्य र अस्मिता भट्टराईको गाउँको सिमाना देखाउनु भएको थियो । विजयपुरगढी आफ्नो पहिचान खोजिरहेको छ । पहिचानमा उभिएर आफ्नो इतिहासको वीरगाथा खोजी रहेको छ । उक्त गाथालाई उजागार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भिœयाउन सकेको खण्डमा कोशी प्रदेश थप समृद्ध हुने अर्को आधारशीला हुन सक्छ ।
खण्डहर अवस्थाको कुरूप चेहेरा लिएर बाँच्ने या खण्डहर अवस्थाबाट पूनर्निर्माण भइ सुन्दर चेहरामा उभिएर हाम्रा पुर्खाको इतिहास विश्वलाई चिनाउने कुराको गाम्भिर्य सरकारले कहिले बुझ्ने ?
हिजो साँझ धरान १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्ले सरसँग फोनमा कुराकानी मात्रै भएको थियोे । उहाँको व्यस्तताका कारण भेटघाट हुन सकेन । भोलि बिहान ७ बजे स्रष्टा पार्कमा भेट्ने कुराकानीसहित फोन राखेका थियौँ । प्रभातफेरी स्रष्टा पार्कदेखी सुरु भएर लक्ष्मी चोकमा पुगी महाकवि देवकोटाको शालिकमा फुलमाला माल्यार्पण गरी कार्यक्रम स्थल फर्कने तालिका बनेको थियो । सोही मुताबिक महेन्द्र मल्ल गुरु, केशब कोइराला, अस्मिता, एमपी पाण्डे, हेमन्त सर, रोमु अधिकारी, कुलपति भुपाल राईकै पछि लाग्दै पंक्तिकारका खुट्टा पनि पार्कतिरै सोझिए । अध्यक्ष नेत्र काफ्लेज्यू आफ्नै १३ नम्बर वडा कार्यालयको प्राङ्गणमा साहित्यकारहरूलाई स्वागत गर्दै हुनुहुन्थ्यो । पहिलो पटक वडा कार्यालयबाट आधारभूत स्वास्थ्य सेवा दिएको देखेँ । वडापत्रका लेखिएको थियो, आठओटा स्वास्थ्य सेवा सम्बन्धी निःशुल्क उपचार तथा जानकारीकोबारे ।
धरान उपमहानगरपालिका १३ नम्बर वडाले स्वास्थ्य क्षेत्रमा गरेको कामको सिको नेपालभरीका सम्पूर्ण वडाहरूले गर्न सकेको खण्डमा किशोर, किशोरी, गर्भवती आमा र बिरामीहरूले सस्तोमा उपचार पाएर स्वास्थ्यलाभ गर्ने कुरामा दुईमत छैन । गाउँदेखि सहरसम्म गएर महँगो उपचार गर्ने कष्टको समाधान गाउँमै हुन सक्थ्यो ।
एकवर्ष अगाडिको कुरा हो । मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतले सम्पन्न गरेको कर्णाली उत्सव कार्यक्रममा आउँदा नेत्र काफ्ले सरले भन्नुभएको थियोे । धरानेमा स्थानीय साहित्यकारहरूको सालिक बनाउने कुरा । आज त्यो कुराले मूर्त रूप लिएको थियोे । एक, दुई, तीनजना स्रष्टाको मात्रै होइन, तेह्र जना साहित्यकारहरूको सालिक बनाउने कुरा सामान्य पनि होइन । राज्यले राज्यको नजरमा देखापरेका साहित्यकारहरूको सालिक मात्रै बनाएको छ तर नेत्र काफ्लेज्युले देशले तिर्नु पर्ने स्रष्टाको गुनलाई आफ्नो पहलमा राज्यको नजरमा ओझेल परेका साहित्यकारहरूलाई जीउँदो इतिहास बनाएर धरान उपमहानगरपालिका वडा नम्बर १३ को खोला किनारको खण्डहर जमिनलाई सदुपयोग गरी स्रष्टाहरूको व्याक्तित्व र कृतित्वलाई जिवित बनाइदिनु भएको छ । यति मात्रै होइन धरान उपमहानगरपालिका र कोशी प्रदेशकै इज्जत उच्च बनाउनु भएको छ । नेत्र सर देवदुत बनेर मृतक स्रष्टाहरूको योगदानलाई अमर बनाउनु भएको छ । उहाँलाई भने सृष्टि रहुन्जेल समयले अमर बनाउने कुरामा दुईमत छैन । नेपाल प्रज्ञा प्रतिष्ठान लगाएत नेपालका साहित्यिक संस्थाहरूले उहाँको योगदानलाई सम्मान गर्नुपर्छ कसैले पनि नाक खुम्चाउनु पर्ने कुनै कारण छैन । साहित्य लेख्न जोकोही सक्छ तर साहित्यिक अभियान्ता बन्ने कुरा धेरै अफ्ठेरो कुरा हो । जोकोही जननिर्वाचित वडा अध्यक्षले आफै अग्रसर भएर साहित्यिक अनुष्ठानहरू गरेको तथ्य भेटिँदैन । भाँचिएको आफ्नो हातलाई झुलुङ्गोमा राखेर स्रष्टा पार्क उद्घाटन गर्न उहाँले खेल्नु भएको भूमिकाको प्रशंसा जति गरे पनि कमै हुन्छ ।
साढे आठ बजे बाजागाजा झाँकीसहित नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईज्युले वाङ्मय कवि तथा समाजसेवी छविलाल पोख्रेल, संगीतकार रमाकान्त खनाल, लघुकथाकार एवम् शिक्षासेवी जगदीश नेपाली, ललितकलाकार कर्ण मास्के, कथाकार, जीतमान राई, पत्रकार गमबहादुर लम्जेल, कवि मानबहादुर शाक्य, कवि बेणु आचार्य, कवि कृष्ण पाख्रिन, कवि गोविन्द विकल, कवि बद्रि पालिखे, कवि टंक घिमिरे र कवि विमल गुरुङलगायत १३ जना स्थानीय स्रष्टाहरूको शालिक अनावरण गर्नुभयो ।
राज्यले गर्न नसकेको काम नेत्र काफ्लेज्यूले गरेकोमा कुलपति भूपाल राईले बधाई तथा धन्यवाद दिनु भएको थियोे । साहित्यकार छविलाल पोख्रेलले जातीय छुवाछुत बिभेदको लागि त्यतिबेला देखिनै जागरण अभियान चलाउनु भएको रहेछ । साहित्यकार रमाकान्त खनालले भारतमा पुगि संगीत शिक्षा सिकेर काठमाडौं दरबारसम्म पुगेर कला प्रस्तुत गरेका रहेछन् । जगदीश नेपालीले शिक्षाको पहुँच नभएको समयमा सुनसरी जिल्लामा विद्यालय खोली शिक्षाको बीउ रोप्ने काम गर्नु भएको कुरा शिलालेखमा उल्लेख छ । सबै मूर्ति स्थापित भएता पनि अन्य स्रष्टाहरूको व्यक्तिगत विवरण शिलालेखमा खोपिएर शालिकको मुनि टाँसिन बाँकी छ ।
सालिक अनावरण पश्चात् झाँकीसहितको प्रभातफेरी स्रष्टा पार्कदेखि लक्ष्मी चोकसम्म पुग्यो । महाकवि देवकोटाको शालिकमा माल्यार्पण पछि झाँकी धरान बेन्क्वेट एण्ड इभेन्टस् पुगेर धरान साहित्य महोत्सवले औपचारिक आकार ग्रहण गरेको थियोे । काठमाडौं, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सुर्खेत, कन्चनपुर, अछाम, संखुवासभा, भोजपुर, रूपन्देही, कपिलवस्तु, चितवन, नुवाकोट, मकवानपुर, बाग्लुङ, नवलपरासी पूर्व, गुल्मी, पाल्पा, तनहुँ, कास्की, आसाम, मेघालय तथा दार्जिलिङका कवि साहित्यकारहरूको उपस्थिति थियोे । हलमा राखिएका कुर्सीहरू भरी गाग्रीजस्तै भरिए । किरात संस्कृति तथा नेपाली भेषभुसाको मिश्रित पहिरनमा थेप्चो नाक गोरो उज्यालो हसिलो चेहरा स्टेजमा उक्लियो । उनको नाम रहेछ सन्जु राई । उहाँ गरिमा डान्स स्कुल धरानकी प्रवन्धक तथा नृत्य निर्देशक हुनुहुँदो रहेछ । साहित्य कला संस्कृति प्रतिष्ठान धरानका संयोजक गोपाल देवानले कार्यक्रम सभाध्यक्षताको आसन ग्रहण गरेपछि देश तथा विदेशबाट आउने स्रष्टाहरूलाई अतिथि आसन ग्रहण गराउनु भएको थियोे । सर्जकहरूको आतिथ्यता ग्रहण पश्चात् प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठले स्वागत मन्तव्यद्वारा सबैलाई स्वागत गर्नु भयो । नेपाली भाषा साहित्य र शिक्षाको क्षत्रमा योग्दान पु¥याए बाफत मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार डा. महेन्द्रकुमार मल्ललाई नगद राशी, सम्मान पत्र र दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियोे ।
अतिथि स्रष्टाहरूको शुभकामना मन्तव्य । कार्यपत्र प्रस्तुत । अग्रज कविहरूको कविता वाचन राखिएको थियोे । पहिलो दिनको अन्तिम विशेष कार्यक्रमका रूपमा गजल महफिल थियोे । किश्वर कोइराला, मुना आत्रेय, अनन्त अनुराग, टिकु भट्टराई, दिपा दिपहरी, यादव भट्टराई र पंतिकार सायरको भुमिकामा थिए । कार्यक्रमको सहजिकरण गजलकार अस्मिता भट्टराईले गरेकी थिइन् । कार्यक्रम सञ्चान हुनुपूर्व मित्र रोमु अधिकारीले सायरहरूको संक्षिप्त परिचयसहित अतिथि आसन गह्रण गराउनु भएको थियोे । सायरका गजलका सेरले दर्शक दिर्घामा बसेका दर्शकहरूको मन लुट्यो । अक्सर मान्छेहरू भिडमा हराउछन् आज दर्शक श्रोताहरू गजलका सेरहरूमा हराएका थिए । हलमा गुञ्जने ताली र हल्ला महफिलको शोभा हो । महफिलको सौन्दर्य भनेकै तालिमा मिसिएको गुल्जार हो । पहिलो दिनको धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सवले देश विदेशबाट आएका साहित्यकारहरूको तालिमा मिसिएको हल्लमा उत्सव मनाएर बिदाइ भयो ।
एउटा कुराले भने मनमा गहिरो छाप छोड्यो । आफ्नो नाम ब्यानरमा नभएपछि निम्तो आएपनि साहित्यिक कार्यक्रममा सहभागी नहुने परम्परा पूर्वमा व्याप्त रहेछ । आफू भए ठीक अरु भए बेठिक भन्ने सोच सायद साहित्यको लागि राम्रो होइन । साहित्यकार हुनु भनेको त अरुलाई सुन्नु पनि हो नि । नेताहरूको जस्तो दाउपेच साहित्यमा गर्न थालेपछि साहित्यकार र नेताहरूमा फरक के नै भयो र ? धरान, इटहरी, विराटनगर, बराह क्षेत्र र भेडेटार दुरीको हिसाबले धेरै टाढा होइन । तर सार्वजनिक बिदाका दिन भएपनि साहित्यिक कार्यक्रममा आउनुभन्दा टिकटक र फेसबुकका रिल हेरेर दिन कटाउन उहाँहरूलाई रमाइलो लाग्यो होला । पूर्व पुगेपछि मैले पनि चिनेका केही थान साहित्यकारहरूलाई व्यक्तिगत खबर गरेको थिएँ तर उहाँको उपस्थिति देखिएन । उहाँहरूको अनुपस्थितिले मलाई पनि खल्लो लाग्यो । निधिखोजी गर्दा आयोजकले पत्रचार गर्दा पनि उहाँहरू आउनु भएको रहेनछ । कार्यक्रम समापनपछि मित्र रोमु अधिकारीज्यूको स्टाटसले पनि उहाँहरूको विषयमा धेरै कुरा बोलेको छ ।
कुनै अपरिचित श्रोताले तपाईंको गजलको फ्यान हुँ भन्दा, मनमा खुसी मिल्ने रहेछ । कार्यक्रम सकिएपछि अपरिचित साहित्यकारहरूले गजल राम्रो रहेछ भनेर दाद पनि दिनु भयो । ध्रुव एक्लास, युवराज ठकुरी, विनोद घिमिरे, इन्दु नेपाल योन्जनसँगको पहिलो भेटले मनमा धेरै खुसी थप्यो ।
कार्यक्रम सकिएपछि आयोजकले सबै साहित्यकारलाई निश्चित गरिएको आवास क्षेत्रतिर पठाउनु भयो । मल्ल गुरू र मेरो बसाइ पहिलेको ठाउँदेखि सरेको रहेछ । यसो भनौ धरान सहरको शीर माथिको सारङ्गाडाँडामा । उक्त क्षेत्रलाई नेत्र सरकै पहलमा पर्यटकीय क्षेत्र घोषणा गरिएको रहेछ । भारत, विराटनगर, झापा, मोरङलगायत मधेश प्रदेशदेखि गर्मी छल्न मान्छेहरू सारङ्गा आउने रहेछन् । सारङ्गा ओसार्न गेटमै गाडी आयो । झोलाझिम्टी गाडिमा कोचेर हामी सिटमा बस्यौँ । दार्जिलिङबाट साहित्यकार विमला प्रधान जोशी, प्रतिमा क्षेत्री र एन बि दाहाल पनि थपिनु भयो । हामी सवार जिप घुम्ति मोड पार गर्दै मुसो झैँ दौडियो । सडक किनारमा सजिएका झिलिमिली होटलहरूको आँगन काट्दै तीन किलोमिटर माथि अवस्थित न्यु जुलिट होटलको आँगनमा पुगेर जिप अडियो । हामीलाई साहुजीको जिम्मा लगाएर चालक फर्किए । दिनभरिको थकान र धरानको गर्मीलाई सारङ्गाको डाँडाको चिसोले खर्लप्पै निल्यो । सारङ्गा डाँडाको खुल्ला आकासबाट धरान, इटहरी, झुम्का, कोशी छेउछाउको अदभूत दृश्य देख्दा लाग्छ स्वर्गको एक टुक्रा जमिनमा खसेर बसेको छ । हामी त्यही दृश्य नियाली रहेका छौँ । झिलिमिली सहरको अदभूत दृश्य जति हेरे पनि धित मरेन । वेटर भाइलाई निवेदन गर्दै रुममा फर्किंए । केही समयपछि भाइले कोठामै सेवा टक्राए । वल्ड दरबारको एकएक पेगको स्वादमा हामी रमायौँ । बाहिर हावाहुरी र पानी परिरहेको थियो । शरीरले न्यानो मागेपछि म आफ्नै बिस्तरामा गएर सिरकमा घुटिमुटी हुँदै निदाएँ ।
एकाएक बाहिरबाट एनबि सरले ढोकामा मुक्का बजारेपछि थाह पाएँ उज्यालो भएको । बिहान ग्यालरिमा अचानक भुपाल राईज्युसँग भेट भयो । भेटपछि थाहा भयो उहाँको बसाइ पनि हाम्रै आडको रुममा भएको रहेछ । बिहानको नुवाइधुवाइ र नित्यकर्मसँगै फ्रेस भएपछि तीन तलामाथि झोला लिएर उक्लियौँ । अमलेट र चिया तयार नहुँदै हामीलाई लिन जीप आँगनमै आइपुगेको रहेछ । हतारहतार चिया अमलेट खाँदै गाडी चढ्यौँ । प्रतिमा क्षेत्री र विमला दिदीले त बोइल अण्डा हतार हतार गरेर गाडीभित्रै खानु भयो । गाडी ओरालो लाग्यो र हामी कार्यक्रम स्थलमा पुग्यौँ ।
हामी पुग्नुभन्दा पहिले नै साहित्यकारहरूलाई भ्रमण गराउनको लागि सत्यसाई स्कुल बस कृषि हाटबजार गेटको अघि उभिएको थियोे । सबै साहित्यकारहरूले आआफ्नो सिट ओगटी सकेका थिए । गुरु नजाने भएपछि म गाडिको अन्तिम सिटमा गएर बसेँ । बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली र श्रम संस्कृति पार्क घुमाउने आजको कार्यक्रमको पहिलो तालिका रहेछ । सबै साहित्यकारहरू बसमा चढी सकेपछि खुसी र जोसमा भरिएको आवाजमा शोभा भण्डारीले नेपाल घुम्न आएका विदेशीलाई झैँ अपरिचित ठाउँको बारेमा व्याख्या विश्लेषण गर्दै अवलोकन गर्ने ठाउँको बारेमा जानकारी गराउनु भयो । यसरी त पंक्तिकारको पनि धरान भ्रमण पहिलो नै थियोे । बडो चाखपूर्वक उहाँका कुरा सुन्दै मोबाइल नोटमा ठाउँहरू टिपोट गरेँ । नबुझेका कुराहरू मेरै सिटको आडमा बसेका होचो कदका मानिस प्रफुल्ल भण्डारीबाट बुझ्ने प्रयास गरेँ ।
जब सत्यसाई स्कुल बसले खुट्टा तान्ने सुरसार ग¥यो । महिला साहित्यकारहरूको हल्लाले कानको कानेगुजी नै खायो । पिकनिक जाने केटाकेटीले झैँ होहो र हाहा गर्दै दिदीहरू नाच्न र गाउन थाले । लाग्छ सोह्र वर्षे जवानीको उमङ्ग उनीहरूको जीवनमा आज देखा परेको हो । उमेरले पैतालिस काटेकाहरू मात्रै होइन साठी नाघेकाहरू बेस्सरी रमाए ।
साहित्यकार भरत बार्बरिक दाइ उमेरले ६१ भएता पनि बुज्रुक महिला, पुरुषको हुलमा उनको उमेर सबैको भन्दा कमै होला भन्ने कुरा उहाँका श्रृङ्गारिक मुक्तकहरूले स्पष्ट पारेको देखिन्थ्यो । फुलेर हिउँ झैँ सेताम्मे बनेका लामा कपालले बार्बरिक दाइको उमेरलाई छ दशकको तुलोमा जोख्ने आट गर्नै सकेको थिएन । दाइको जोस र शरीरको स्फुर्तिले मलाई पनि सोह्र बर्षे युवा अवस्थामा पुर्यायो ।
बस अगाडि उकालो बढेर पूर्व उत्तर लाग्यो केही समयपछि तेरपायँ तेरपायँ हुँदै भित्ता र सडकको फेरो समाएर नागबेली आकारमा दक्षिण हुँदै स्रष्टा स्तम्भलाई दायाँ पार्दै बुढासुब्बा बाजेको मन्दिर बाहिर रोकियो । फुलपाती, धुप, अबिर बेच्न बसेका दायाँबायाँ साहुजीहरूको आवाजलाई नजर अन्दाज गर्दै साहित्यकारहरूको हुल मन्दिर परिसर पस्यो । बुढासुब्बा बाजेसँग कसले के माग्यो थाहा भएन । केही महिनाअगाडि मात्रै मेरा पिताजी स्वर्गेवास भएको हुँदा पूजाआजा गर्न नपाएकाले बुढासुब्बा बाजेसँग माफी मागेर म फर्किएँ ।
२००३ सालमा संगठित रूपले भानु जयन्ति धरानमा मनाएपछि साहित्यिक गतिविधि संस्थागत रूपमा अघि बढेका रहेछन् । स्रष्टा स्तम्भ विजयपुर बीच बजारमा निर्माण हुनु त्यसैको उदाहरण हो । नेपाली भाषा साहित्य तथा कला संस्कृति बचाउन प्रा.डा. टंक न्यौपाने सरले गर्नु भएको महत्त्वपूर्ण योगदानको इतिहासले मुल्याङ्कन गर्ने नै छ । स्रष्टा स्तम्भ उहाँकै अग्रसरतामा निर्माण भएको रहेछ । स्रष्टाको सम्मानमा स्रष्टा स्तम्भ निर्माण हुनु सर्जकको लागि महŒवपूर्ण सम्मान अरु के नै हुन सक्छ ।
किराँत धर्मावलम्बीको आस्थाको केन्द्र बनेको बुढासुब्बा मन्दिर अहिले सबै जातजाति र विभिन्न धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको छ । आफूलाई शिवको सन्तान मान्ने किराँत राईहरूले बौद्ध धर्म र हिन्दु धर्मलाई पनि मान्ने गरेका छन् । बहुभाषाभाषि, बहुधर्मावलम्बी देश नेपाल त्यसै भएको होइन । सोचेका र आँटेका भाकल बुढासुब्बा बाजेले पु¥याउने भएकाले पूर्वी नेपालका पहाडी जिल्ला र मधेस जिल्लाबाट दर्शन गर्ने भक्तजनहरूको भिडले मन्दिर परिसर भरिभराउ थियोे ।
बाजेलाई पंक्षिदेखि बोका, सुंगुर र राँगाको बली चढ्ने भएकाले आफ्नो मनोकामना पूरा गर्न श्रद्धालुहरू लाइनमै लागेर पालो कुरिरहेका देखिन्थे । केही विजयपुर डाँकाकै पश्चिम दक्षिण दिशातिर पिण्डेश्वर मन्दिर भएकाले हामी त्यतै लाग्यौँ । भगवानको दर्शनभन्दा पनि आफू पुगेको ठाउँलाई सार्वजनिक गर्ने लत सामाजिक सञ्जालले लगाएको छ । अहिले फोटो र भिडियो बनाएर सार्वजनिक गर्ने होड चलेको छ मान्छेहरूमा । साहित्यकारहरू मन्दिरका हरेक एङ्गलमा उभिएर ग्रुप र सिँगल फोटो खिच्न तँछाड मछाड गर्न थाले । हरेक ठाउँको अवलोकनको लागि दस मिनेट छुट्टाइएको थियोे । आठ मिनेट नहुँदै शोभा भण्डारीले चर्को आवाज लगाइहाल्नु भयो । हामी उक्त आवाजको पालना गर्दै बसमा फटाफट चढ्यौँ र दन्तकाली मन्दिर लाग्यौँ । सतीदेवीको दाँत पतन भएकाले उक्त मन्दिरको नाम दन्तकाली रहन गएको रहेछ । नेपाली मात्रै होइन रहेछ उक्त मन्दिरमा भारतीय भक्तजनको पनि बाक्लै भिडभाड थियो । मन्दिरको अवलोकन र दर्शन पश्चात समयको पालना गर्दै साहित्यकारको हुल श्रम संस्कृति पार्क प्रस्थान गर्यो ।
यसरी त श्रम संस्कृति पार्कका केही थान भिडियोहरू सामाजिक सञ्जालमा नदेखिएको पनि होइन तर सशरीर उपस्थिति भएर अलौकिक रूपले देखिएको ठाउँमा पुगेर नजिकबाट अवलोकन गर्न पाउँदा मनमा बेग्लै उर्जा र आनन्द थप्ने रहेछ ।
लामा लामा कपाल । कपालमाथि ह्याट । फ्रेन्च कट दारी । उमेरले पाको हट्टाकटा मान्छे मेरै छाँयाको किनार छेउमा उभिएका थिए । हेर्दा विदेशी जस्तो पनि लाग्ने बोली सुन्दा नेपाली । उहाँसँग परिचय गरिहालेँ । उहाँको नाम रहेछ राजेन्द्र खनाल । प्रोफेसरबाट अवकाश हुनुभएको ११ वर्ष जति भएको रहेछ । उहाँ वातावरण विज्ञ पनि हुनुहुँदो रहेछ । छोराछोरी स्कटल्याण्ड बस्ने भएकाले उहाँको आउजाउ विदेश र स्वदेशमा बराबर नै हुने रहेछ । ७१ वर्षको उमेरमा पनि दाजुको स्फुर्ति देखेर म दङ्ग परेँ । उहाले श्रम संस्कृति पार्क र सर्तु जलाधार खोलाको बारेमा बेलिबिस्तार लगाएर ब्रिफिङ गर्नुभयो । मुख्य कुरा त के थियोे भने नेपाल र भारत देशको सम्झौतापछि कोशी नदीमा बाँध बनाउने कार्य सन् १९५४ देखि सुरु भएर सन् १९५८ मा बाँध निर्माण सम्पन्न भएको कुरा इतिहासले बताउँछ । त्यही बखतको कुरा रहेछ । कोशी नदीको बाँध निर्माणका लागि चाहिने ढुङ्गा भारत रेलगाडी सर्तुखोलासम्म पठाएको रहेछ । अहिलेको श्रम संस्कृति पार्क जहाँ विश्वेश्वरप्रसाद कोइरालाको सालिक छ । त्यसैको आडमा रेल स्टेसन रहेको कुरा राजेन्द्र दाइले सिमेन्टले बनेको पुरानो पहरा देखाउँदै कहानीको बिट मार्नु भएको थियोे । खोलावारिका संरचनाको अवलोकन गरेर खोलापारि तर्यौ फलामे पुलबाट । आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य बनेको छ श्रम संस्कृति पार्क । बन्जर सर्तुखोलाको किनारलाई स्थानीय धरानवासी र बेलायतमा रहने गोर्खा लाहुरेहरूको आर्थिक सहयोगमा श्रम संस्कृति पार्कको निर्माण हर्क साम्पाङले गरेको देख्दा खुसी लाग्यो । आखिर मनले चाह्यो भने असम्भव के नै रै छ र ? श्रम संस्कृति पार्कले नेपाली जातिभाषा, संस्कृति र प्रकृतिमा पाउने जीवजन्तुहरूकोसमेत प्रतिनिधित्व गरेर मानव सभ्यता जोगाउन उदाहरण बनेर पर्यटकहरूलाई लोभ्याइरहेको छ । मानव श्रमले निर्जीव वस्तुलाई पनि सजीव बनाउने रहेछ । श्रममा विश्वास गर्ने मान्छेहरूको सहर धरान हो भन्दा अतिसयुक्ति नहोला । त्यसैको उच्च रूपको नमुना हो श्रम संस्कृति पार्क । मेयर हर्क साम्पाङको श्रममा वडा अध्यक्ष नेत्र काफ्ले सरको पनि केही रचनात्मक विवेक मिसिएको कुरा स्थानीय साहित्यकारहरूले बताएका थिए । विकास भनेको सोच हो सोचलाई स्टक्चरमा बदलेको खण्डमा खण्डहर ठाउँ पनि रमणीय स्थान हुने रहेछ भन्ने उदाहरण हो सर्तुखोला किनार ।
श्रम संकृति पार्कको मध्यभागमा ग्रुप फोटो खिचेपछि सबै कार्यक्रम स्थलतर्फ नै सोझियौँ । धरानको ब्यस्त बजार भानुचोकको मुटुमा उभिएको घण्टाघरको घडीले एघार बजाएको सूचना प्रवाह गर्दा हामी कार्यक्रम स्थल पुगिसकेका थियौँ ।
चना–चिउराको नास्ता पछि १२ बजेदेखि दोस्रो दिनका कार्यक्रमहरू सञ्चालन भए । लघुकथा वाचन, युवा र पाका कवि मिश्रित कविता वाचन । साहित्य कस्तो हुनु पर्छ भन्ने साहित्यमाथिको बहस । मुक्तक वाचन कार्यक्रमका सेसन बाँकी नै थिए । आयोजकले निर्धारण गरेको समयअनुसार सुरु भए । दोस्रो दिनको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले गर्नु भएको थियो । सन्जु राईले हिजो झैँ आज पनि कार्यक्रमलाई औपचारिकताको मालामा उनेर गति दिनु भयो । गजल महफिल झैँ आजको मुक्तक साँझ विशेष आकर्षणको कार्यक्रम थियोे । मदन भण्डारी, सेजल श्रुति, जमुना क्षेत्री, सवि मेबाहाङ, नवराज नवशिला, मञ्जुश्री गिरी, राधा सुवेदी, सुजन डोटेल, माधव भट्टराई, एकराज भट्टराई मुक्तक श्रृङ्खलाका सर्जक हुनुहुन्थ्यो । सबैले चोटिला मुक्त प्रस्तुत गर्नुभयो । सवि मेबाहाङको समुधुर आवाजले सबै दर्शकहरूको मन लुट्यो । मुक्तकलाई तरून्नम्मा गाउने पूर्वको शैलीले मेरो पनि दिल जित्यो । अन्तमा धरान लोकदोहरी प्रतिष्ठानका कलाकारहरूले लोकदोहोरी प्रस्तुत गरेर सबै साहित्यकार अतिथिहरूलाई लोकगितमा नचाइ छाडे । भिम खतिवडा सरको मन्तव्य युद्धको लागि मानसिक रूपले सिपाहीहरूलाई लड्नको लनगि तयार गराउने जोसिलो प्रशिक्षणभन्दा कम थिएन । उहाँको मन्तव्यबाट सहजै अनुमान गर्न सकिन्थ्यो साहित्यले वामपन्थी विचारको प्रतिनिधित्व गर्नुपर्छ । म उहाँको विचारको विपरीत भएर भन्न चाहान्छु साहित्य कुनै पनि वादबाट मुक्त भएर स्रोता र पाठकको मन जित्नुपर्छ । अस्कर वाइल्डले भने झैँ साहित्य निर्जन जंगलको बिचमा फुलेको फूल हो उसलाई स्वतन्त्र फुल्न दिनुपर्छ । साहित्यले कुनै पनि पार्टीको पगडी गुथ्नु हुँदैन । धरान १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्लेज्यूको शब्दप्रति पूर्ण सहमत छु । साहित्यले सबैलाई जोड्छ राजनीतिले तोड्छ । नेत्र सरको माधुर्यता मिश्रित संक्षिप्त मन्तव्यले भावुक बनायो । उहाँको कार्यकाल सकी डेढ बर्षभन्दा बढी समय छैन सकेसम्म अर्को वर्ष साहित्यकारलाई साहित्यिक अनुष्ठानमा जोड्ने वाचा प्रकट गर्नुभयो । उहाँको स्वागतार्थ सबैले ताली बजाए । कार्यक्रम संयोजक गोपाल देवानज्यूको छोटो मन्तव्यद्वारा तेस्रो धरान साहित्य महोत्सवको भव्य रूपले समापन भयो ।
सुर्खेत हुँदा देखिको कुरा हो नेत्र सरको एउटै कुरा थियो । धिरेन सर कार्यक्रम सकिए पनि नआत्तिनु होला तपाईको टिमलाई छोड्ने १६ गते हो । म त्यही मानसिकता बोकेर धरान प्रस्थान गरेको थिएँ । हतारिनु थिएन मलाई । कार्यक्रम सकिए पनि १५ गते घुमफिर गरेर १६ अथवा १७ गते सुर्खेत फर्किने योजना बनेको थियोे मेरो । म त्यही अनुरूप तयार थिएँ । धरान पुग्न बित्तिकै नेत्र सरले भन्नुभएको थियोे सर हतार नगर्नु होला । सरको कुरामा मौन स्वीकृति जनाउँदै टाउको मात्रै हल्लाएँ ।
कार्यक्रम सकिएपछि नेत्र सरले भने झैँ मित्र रोमु अधिकार, अस्मिता भट्टराई, खेम आचार्य, किश्वर कोइराला दाइ, एम.पी पाण्डे, मिलन श्रेष्ठ, रोमन ढुङ्गेल, महेन्द्र मल्ल गुरु लगायत हामी कृषि बजारतिर लाग्यौँ । आजको हाम्रो बसाइको बन्दोबस्त यतै गरिएको रहेछ । खेम आचार्य र अस्मिता बैनीको दौडधुप कृषि बजार पुगेपछि थाह भयो । कार्यक्रम विशेष बनेको रहेछ । अरुलाई ब्लक नम्बर एक र हामीलाई ब्लक नम्बर दुईको रुममा झोला थन्काउन पठाउनु भयो । रुमको बाहिर भागमा भिआइपी लेखिएको थियो । ताला खोलेर रुमभित्र प्रवेश गरेपछि थाह भयो कोठा भिआइपी नै रहेछ । बाहिरबाट एउटै कोठा लाग्ने तर भित्र पुगेपछि दुईओटा छुट्टाछुट्टै एसी कोठा रहेछन् । आ–आफ्नो कोठाको ढोका खोलेर झोलाहरू थन्क्यायौँ । बेडरुम आकर्षक र खुल्ला थियोे । मानौँ कुनै महारानीको खोपी झैँ सुन्दर ।
आज साँझको सरसल्लाह अनुसार भोलि बिहानै सात बजे भेडेटार जाने योजना बनेको थियो । दिनभरिको थकान र बेग्लाबेग्लै रुम भएर पनि होला आज निस्फिक्री सुत्न पाएर भनेको समयमा उठ्न सकेन । खेम आचार्य बिहानै मोरङ जानको लागि बिदा माग्न आउनु भएको रहेछ । म मस्त निद्राबाट ब्युँझन नसकेपछि उहाँ फिर्ता जानु भएको रहेछ । बाहिरबाट ढोका फोर्दैभित्र पसेको महेन्द्र मल्ल गुरुको आवाजले ब्युँझिएँ । उहाँ त तयार भइसक्नु भएको रहेछ । गाडी तल गेटमा खडा थियोे । म पनि हतारहतारमा तयार भएँ । जंगलमा छरिएका सालका पात झैँ कोठामा छरिएका लुगालत्ताहरूलाई झोलामा प्याक गरी तल झरेँ । ठीक विपरीत कृषि बजारमै भएको क्यान्टिनमा चिया पिउन रोकियौँ ।सिमसिम पानी परिरहेको थियोे । प्रतिमा क्षेत्री र बिमला प्रधान दिदी दार्जिलिङ फर्किने तयारीमा हुनुहुन्थ्यो । चाडपर्वमा माइती भेट्न आएका चेलिबेटीलाई झैँ बाटो खर्च दिएर बिदाइ गर्ने सुरसार गर्दै हुन्थ्यो नेत्र सर । गुटमुटिएका रूपैयाँलाई नेत्र सरले विमला दिदीको हातमा थमाउनु भयो । बिमला दिदीले लिन मान्नु भएन । आत्मीयता भरिएको मुटु भित्र नेत्र सरको अघि बिमला दिदीको केही जोर चलेन । दिदीलाई हामि सबै मिलेर बिदाइ गर्यौं । गाडी उहाँहरूलाई छोड्न धरान बसपार्क तिर लाग्यो ।
नेत्र सरकै योजना अनुसार कृषि बजारमा गाडी आएपछि महेन्द्र मल्ल गुरु, मित्र रोमु अधिकारी, एमपि पाण्डे, अस्मिता भट्टराई , हेमबाबु लेखक र पंक्तिकार भेडेटार उक्लियौँ । धरान सहरको शिर चढेर गाडी नागबेली लय पच्छाउँदै पूर्व हुँदै बायाँ उत्तर मोडियो, एक्कासि शिवधारा मोड देखाप¥यो । केही महिनाअघिदेखि झुलुङ्गोमा बन्दी जीवन बिताइ रहेको बायाँ हातको झुलुङ्गो सिमल्दै अघिल्लो सिटबाट दायाँ हातले जमिन देखाउँदै भन्नुभयो यहीँ मोडमा हो सर स्कुटर एक्सिडेन्ट भएको । धन्न नालामा पल्टिएँ । रोडतिर पल्टिएको भए टिप्परले अचार बनाउने रहेछ । ग्रहदशा दाहिना भएर बाँचेँ । ज्यान जोगिने भएपछि नाला नै सही । सन् २००१ को कुरा हो म पनि गुजरागको सुरत सहर हुँदा रेल्वे लाइन क्रस गरेर कतारगाउँ जाँदै थिएँ खुट्टा पटरिमा राखेर क्रस गर्ने सुर मात्रै के गरेको थिएँ रेलगाडी हुत्तिएर आएको थाह भएन । म बालबाल जोगिएको थिएँ । त्यहीँ घटना सम्झेपछि मेरो पनि जिउमा काँडा उम्रिए । अहो ! संसारमा परमात्मा भन्दा ठूलो कोही रहेनछ सोचेँ । स्वास्थ्यलाभ गर्नुबाहेक उपाय थिएन उहाँको लागि । धरान १३ नम्बर वडाको सिमाना निसाने खोलासम्म पर्ने रहेछ । पुल तरेपछि हामी अर्को वडामा प्रवेश गर्यौं । कुहिरोले भेडेटार देखिदैन थियोे । नौकिलो मोडमा पुगेपछि पानीका बुँदाबादी खस्न थाले, मेरो मन भने अठार किलोको भयो । महेन्द्र मल्ल गुरुले अगाडिको सिटबाट बोल्नु भयो । आज भेडेटार नखुल्ने भयो । नेत्र सरले आज यतै बस्ने धिरेन सर । सरको कुराले मत खुसीनै भएँ । मल्ल गुरुलाई नेत्र सरका कुराले अक्क न मक्क बनायो । भेडेटारको चिसो मौसमसँग मिसिएर फुटेको नेत्र सरको वाक्यले मल्ल गुरुको मनमा झन चिसो पस्यो । गुुरु हतारहतार भेडेटार भ्रमण गरेर फर्किने मुडमै देखिनु भयो । धरानबाट सुर्खेत फर्किने यातायातका स्टाफसँग बिहानै सुटुक्क फोनमा कुरा नै गरिसक्नु भएको रहेछ कृषि बजारदेखि ।
कुहिरोको पछ्यौरी ओढेर बसेको भेडेटारको चिसो मौसमले हामीलाई स्वागत गर्यो । धनकुटा जाने बाटोलाई दायाँ पार्दै हामी सवार जीप बिरालोले लखटेको मुसा झैँ पाथिभरा माताको दर्शन गर्न बायाँ मोडियो । भेडेटारको कुहिरोले आफ्नो आँचलमा धनकुटा, तेह्रथुम, भोजपुर, धरान, पाख्रिबास लगायत आसपासका ठाउँलाई लुकाएको थियोे । जसरी चल्ला कोरल्न बसेको पोथी माउले अण्डालाई लुकाएको हुन्छ । हामी कुइरो भित्रको काग झैँ भेडेटारको कुइरोमा हरायौँ । सय मिटरभन्दा टाढाको इलाका देख्न नै सकिएन । पाथिभरामाताको दर्शन पश्चात् हामी पुनः भेडेटार बजार फर्कियौँ ।
भेडेटारको बीच बजारमा इमानसिंह चेम्जोङको पूर्णकदको सालिक अवस्थित रहेछ । उहाँ नेपालका प्रसिद्ध इतिहासकार, भाषाविद, लेखक तथा प्रकाण्ड विद्वान त हुन्न । तथापि विशेष गरी लिम्बु जातिको इतिहास, संस्कृति र भाषा (लिम्बु भाषा÷सिरिजंगा लिपि) को अध्ययन र संरक्षणका लागि उहाँले पुर्याउनु भएको योगदान अहिलेको जिवित इतिहास हो । उहाँको प्रतिमालाई श्रद्धापूर्वक नमन गरेँ । भेडेटार र सूर्योदय गुम्बाका तस्बिरहरू मोबाइल क्यामेराले कैद गर्दै न्यु जुलिट फर्कियौँ । बिहानै खानाको बन्दोबस्त गर्न नेत्र सरले होटल साहुलाई सुझाउनु भएको थियोे । हामी फर्किँदा खाना तयारी अवस्थामा थियोे । तुम्बा पूर्वको पहिचान हो । किराँती परम्परामा गरिने तुम्बाको प्रयोगले किराँत सभ्यतालाई बिशेष बनाएको छ । मित्र रोमु अधिकारीले मलाई तुम्बाको स्वाद चाख्न सघाउनु भयो । तुम्बालाई प्रयोग गर्नुभन्दा पहिले चियर्स गर्ने पद्धति पनि सिकाउनु भयो । बिर्को खोलेर तुम्बाको केही बुँद जमिनलाई चढायौँ । नलिहाड जस्तो देखिने स्टिलको ढुङग्रोमा अर्को ढुङग्रोले ठोकेपछि चियर्स हुने रहेछ त्यसपछि नरिवलको पानी सोसे जसरी तुम्बा लिनुपर्ने रहेछ ।
सुर्खेत फर्किने चटारोमा भेडेटारदेखि धरान फर्कियौँ । झोला कृषि बजारमै थिए । सुर्खेत फर्किने दिन भएर होला कसैको पनि चेहरामा बिहान भेडेटार उक्लने बेलाको जस्तो रौनक थिएन । बादलले आकासलाई छोपेर राखेको निस्साइलो वातावरण जस्तै अनुहार थिए सबैका । कसैको अनुहारमा खुसीको उज्यालो थिएन । सुर्खेत जाने बस धरानबाट हिँडेर हामीलाई इटहरी कुरी बसेको थियोे । न त चेहरामा उल्लास थियोे न त उल्लासमा सजिएको चेहरा । गहिरो आत्मियताको सम्बन्ध भावुक चेहरासँग जोडिएको हुने रहेछ । निःस्वार्थ प्रेममा जोडिएको सम्बन्धको आयतन न त नाप्न सकिने रहेछ न त तराजुमा जोख्न नै । अघात प्रेम प्रकट गर्ने माध्यम बरु नुनिलो आँसु रहेछ । हिस्टपुष्ट मोटो शरीर भएर मात्रै हुने रहेनछ । मन पग्लियो भने बडेमानको ज्यान पनि प्रेमको सागरमा डुबेर पग्लिने रहेछ । नमस्कार सहित छुटिने इजाजत के मागेको थिएँ । मन बाउणिँयो । धेरै बोल्नै सकिनँ । दुई छातीको स्पर्शमा ममताको समुद्र छल्कियो । केही नबोली ट्याक्सिको सिटमा आएर बसेँ । नेत्र सर केही नबोली हामीलाई हेरी टोलाई मात्रै रहनु भयो । यता मेरो मन भक्कानियो, उता नेत्र सरका आँखाहरू ममताको आँचल ओढेर रसाए । रसाएका आँसुले बाघे जुङ्गालाई भिजाए । आँसुले मन भिज्यो पूर्व र पश्चिमको सम्बन्ध झन झाँगियो । गाडीभित्र मौनताले सन्नाटा छायो । मित्र रोमु अधिकारी र एमपि पाण्डे पनि घुँकघुँक गर्दै रुन थाल्नु भयो । शीला झैँ स्थिर रहेका कञ्चनपुरका हेमबाबु लेखकका पनि आँखा रसाए । अघिल्लो सिटमा रहनु भएका डा. महेन्द्रकुमार मल्ल गुरूको पनि बोली फुटेन ।
सायद घटनाक्रमलाई बुझेर हुनुपर्छ । गाडी चालकले चलाखी देखाए र सन्नाटा चिर्न गाडी स्टाट गरी हर्न बजाउँदै धरान छोडे । अलि अगाडी पुगेपछि मित्र रोमु अधिकारी र म मोटरसाइकलमा इटहरी फर्कियौँ । चिया पसलमा चिया पिउँदै थियौँ भित्र बसेर । बाहिर गाडी हामीलाई कुरी बसेको पन्ध्र मिनेट जति भइसकेको रहेछ । मित्र रोमुजीले हामीलाई बिदाइ गर्नुभयो । गाडी आफ्नो स्वभाविक लय पच्छ्याउँदै हिँड्न थाल्यो । कोशी ब्यारेज नजिकैको भारतले अतिक्रमण गरेको नेपाली जमिन र आज भन्दा १९ बर्ष पहिले २०६५ सालमा कोशी नदीको बाडीले डुबानमा पारेको जमिन नियाल्दै हामी पूर्वको सम्बन्ध र धराने मायालाई मुटुमा बोकी पश्चिम फर्कियौँ ।
-धिरेन अनुपम
प्रकाशित मितिः ५ बैशाख २०८३, शनिबार ०५:०४

धिरेन अनुपम ।