चार मन्त्रीलाई अख्तियारको जरिवाना
साझा बिसौनी संवाददाता
काठमाडौ, २९ पुस ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने चार बहालवाला मन्त्रीलाई पाँच हजार जरिवाना तिराउने निर्णय गरेको छ । यस्तै पूर्व अर्थमन्त्री रामशरण महत र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि कारबाहीमा परेका छन् ।
अख्तियारले सम्पत्ति विवरण नबुझाउने २४ हजार तीन सय ७६ जनालाई पाँच हजारको दरले जरिवाना गर्ने निर्णय गरेको हो । अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले भने, ‘सम्पत्ति विवरण नबुझाउनेलाई पाँच हजार जरिवाना हुन्छ ।’ अख्तियारको कारबाहीमा पर्नेमा चार बहालवाला मन्त्रीमा एकनाथ ढकाल, कुन्ती शाही, दिनेश श्रेष्ठ र विराट विष्ट छन् । ढकाल शान्तिमन्त्री, शाही स्थानीय विकास राज्यमन्त्री, श्रेष्ठ भूमिसुधार तथा व्यवस्था र विष्ट स्थानीय विकास सहायकमन्त्री हुन् । चारै जनाले सांसद हुँदा सम्पत्ति विवरण नबुझाएका थिएनन् ।
पूर्व अर्थमन्त्री महतले पनि सम्पत्ति विवरण बुझाएका थिएनन् । पूर्व ऊर्जामन्त्री राधा ज्ञवाली र महिला बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले तोकिएको समयभन्दा पछि सम्पत्ति विवरण बुझाएका थिइन् । यस्तै सम्पत्ति विवरण नबुझाउनेमा मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, लक्ष्मणलाल कर्णसहितका ३७ सांसद पनि छन् । यस्तै १५ सांसदले पनि तोकिएको समय भन्दा ढिलो विवरण बुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । उनका अनुसार अब पाँच हजार बुझाएर एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन मौका दिइनेछ । यदि यो समयमा पनि सम्पत्ति विवरण नबुझाएमा अकुत सम्पत्तिमा समेत छानविन हुने अख्तियारले जनाएको छ ।
साझा बिसौनी संवाददाता ।