प्रधानमन्त्री पदमा देउवाको उम्मदेवारी, एमाले छलफलमै

नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् ।
देउवाले बिहान ११ः३० बजे आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । देउवा प्रधानमन्त्री पुष्पकमल दाहालका साथै आफ्ना समर्थक दल र पार्टीका नेतासहित संसद भवन, नयाँवानेश्वर पुगेका थिए । रामचन्द्र पौडेल, शेखर कोइरालालगायत कांग्रेस नेताहरु पनि उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिएपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएकी थिइन् । तर, उक्त समयसीमा भित्र सहमति नजुटेपछि सरकार गठन बुहमतीय प्रक्रियामा प्रवेश गरेको थियो ।

नयाँ प्रधानमन्त्री छनोटका लागि व्यवस्थापिका संसदमा आइतबार निर्वाचन हुँदैछ ।  कांग्रेस सभापति देउवाले उम्मेदवारी दर्ता गरिसकेपनि नेकपा एमाले भने छलफलमै छ । एमालेले पार्टी उपाध्यक्ष वामदेव गौतमलाइ उम्मेदवार बनाउने चर्चा चलेपनि निर्णय भने भइसकेको छैन ।

प्रकाशित मितिः   २० जेष्ठ २०७४, शनिबार १२:५१