एमालेद्वारा सरकारलाई ध्यानाकर्षण पत्र

सुर्खेत: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै नेकपा (एमाले) सुर्खेतले सरकारको ध्यानाकर्षण गराएको छ । एमाले जिल्ला कमिटी सुर्खेतले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई आइतवार दुवै जनाको रिहाईको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

पार्टीका जिल्ला अध्यक्ष कुलमणी देवकोटासहितका नेताले प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अध्यक्ष देवकोटाले हस्ताक्षर गरेको पत्रमा ओली र लेखकको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भन्दै निन्दा र भत्र्सना गरिएको छ । ‘नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णयलाई आधार बनाएर गरिएको गिरफ्तारी केवल व्यक्ति विशेषमाथिको अन्याय मात्र नभइ संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रत्यक्ष अक्रमण हो’ पत्रमा भनिएको छ ।

एमालेले ओली र लेखकलाई तत्काल विना सर्त रिहा गर्न जोडदार माग गरेको छ । यस्तै, २०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगमाथि सर्वोच्च अदालतले समेत प्रश्न उठाएको उल्लेख गर्दै उक्त आयोगको प्रतिवेदन खारेज गरी बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ छानबिन आयोग गठन गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्र बुझाउनुअघि एमालेले पार्टी कार्यालयदेखि मुख्यबजार हुँदै जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शनसमेत गरेको थियो ।

प्रकाशित मितिः   १६ चैत्र २०८२, सोमबार ०५:०१