बालेन सरकारको ‘बोल्ड’ कदम

२४ घण्टा नबित्दै ओली–लेखक पक्राउ

सुर्खेत: गठन भएको २४ घण्टा नबित्दै बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले ठूलो कदम चालेको छ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा दमन गरेर ७६ जनाको ज्यान लिएको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक पक्राउ परेका हुन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरू दुवै जनालाई फौजदारी कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा सरकारले शनिवार बिहान ओली र लेखकलाई उनीहरूकै निवासबाट नियन्त्रणमा लिएको हो ।

शुक्रवार बालेन प्रधानमन्त्री नियुक्त भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आयोगले कारबाही सिफारिस गरेको सुरक्षा निकायको हकमा तत्काल कार्यान्वयन नगर्ने तर ओली, लेखक, तत्कालीन गृहमन्त्री सचिव गोकर्णमणि दुवाडी र काठमाडौंका त्यतिबेलाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा तत्काल कारबाही अगाडि बढाउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठक लगत्तै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल अगाडि बढाएका थिए ।

लेखक र ओलीलाई एकसाथ पक्राउ गर्ने प्रहरीको योजना थियो । त्यहीअनुसार दुवैतर्फ प्रहरी अधिकारीहरू खटाइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोली परिचालन गरिएको थियो । पक्राउको तयारी भएपछि ओली र लेखक दुवै गिरफ्तारी दिन तयार भएका थिए । गिरफ्तारी दिनुअघि ओली र लेखकबीच भेट भएको थियो । प्रहरी अधिकारीहरू पक्राउ गर्न आएपछि शनिवार बिहान ओलीले रमेश लेखकलाई टेलिफोन गरेर भनेका थिए, ‘तपाईं गिरफ्तारी दिएर जानुस्, म पनि आउँछु ।’ बिहान पौने ६ बजे लेखकलाई नियन्त्रणमा लिएको प्रहरीले लगत्तै ओलीलाई पनि नियन्त्रणमा लिएको हो । ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । लेखकलाई भने महाराजगञ्जकै प्रहरीको २ नं. गणमा राखिएको छ । गणमा लगेपछि लेखकसँग भेट्न बन्देज लगाइएको छ । शिक्षण अस्पतालमा ओलीलाई राखेपछि त्यहाँबाट अन्य बिरामीलाई भने बाहिर निकालिएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । डाक्टरले निगरानीमै राख्नुपर्छ भनेपछि ओलीलाई टिचिङ अस्पतालमै भर्ना गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले बताए । ‘डाक्टरले उहाँलाई हाम्रै निगरानीमा राख्नुपर्छ भनेकाले अस्पतालमै भर्ना गरिएको हो’, एसपी भट्टराईले भने । शनिवार कानुनी प्रक्रिया अगाडि बढाइएको छैन । आइतवार अदालतमा म्याद थपका लागि उपस्थित गराउनुपर्नेछ । ओली र लेखकले त्यसका लागि तयारी पनि साथै अगाडि बढाएका छन् । यसअघिको भेटमै उनीहरूले कानुनी लडाइँ कसरी लड्ने भन्ने सल्लाह गरिसकेको उनीहरू निकट नेताहरूले बताएका छन् । म्याद थपका लागि लैजाँदा त्यसकोविरुद्धमा बहस गर्ने र सँगै सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षीकरणको निवेदन पनि दायर गर्न उनीहरूको तयारी छ । ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा कारबाही अगाडि बढाउन जाँचबुझ आयोगको सिफारिस छ । आयोगले दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको छ । अब यही दफाअनुसार प्रहरीले अनुसन्धान गरेर अदालतमा मुद्दा लैजाने प्रक्रिया अगाडि बढाउने छ । तर उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्ने कि नगर्ने भन्ने विषयमा भने अदालतको म्याद थप पछि मात्रै तय हुनेछ । उनीहरूले आफूलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न माग गर्नेछन् । तर जिल्ला सरकारी वकिल कार्यालयले भने थुनामै राखेर अनुसन्धान गर्न अनुमति माग गर्नेछ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा ७६ जना मारिएका थिए । प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो । प्रहरीलाई गोली चलाउन आदेश दिएको आरोप उनीहरूलाई छ । तर आयोगको बयानमा भने दुवै जनाले आदेश दिएको अस्वीकार गरेका छन् । गोली चलाउने प्रहरीको हकमा भने थप अध्ययन गरेर मात्रै निर्णय गर्ने भएको छ । आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । उनीहरूलाई तत्काल कारबाही नगर्ने तर ओली र लेखकलाई तत्काल पक्राउ गर्न सुधनले शुक्रवार रातभर सुरक्षा प्रमुखहरू, गृहसचिव र कानुन सचिवसँग आईजीपी निवासमा छलफल गरेका थिए । त्यहि छलफलबाट अहिले नै पक्राउ गरेर कारबाही अगाडि बढाउने सहमति जुटेको थियो ।

सडकमा उत्रियो एमाले

 

यसैबीच ओली र लेखक पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको भन्दै विरोध पनि भइरहेको छ । नेकपा (एमाले) ले ‘गैरकानुनी र राजनीतिक प्रतिशोध’ का आधारमा पक्राउ गरिएको भन्दै रिहाइको माग गरेको छ । शनिवार बसेको सचिवालय बैठकले राजनीतिक र कानुनी रूपमा घटनाको प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । ‘पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीप्रति निन्दा, घृणा र कडा विरोध व्यक्त गरिएको छ । उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गर्दै उहाँहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ,’ उनले भने ।

ओली पक्राउको विरोधमा एमालेले देशव्यापी विरोध प्रदर्शन गरेको छ । एमालेका भ्रातृ संगठनहरूले शनिवार वीरेन्द्रनगरमा पनि विरोध प्रदर्शन गरेका छन् । ओलीलाई तत्काल रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको तथा तत्काल रिहाइको माग गरिएको उनले जानकारी दिए ।

नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चिन्ता व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले पाँच बुँदे धारणा सार्वजनिक गर्दै सरकार उत्तेजनामा आउन नहुने बताएका छन् । ‘भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजनलगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ,’ वक्तव्यमा भनिएको, ‘हामी प्रष्ट गर्न चाहान्छौँ– भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ ।’

दुवै दिनको घटनामा संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने कांग्रेसको धारणा छ । ‘तर त्यो कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानुनी प्रक्रिया बमोजिम हुनुपर्छ,’ वक्तव्यमा भनिएको छ । कांग्रेसले कुनै पनि विरोध प्रदर्शन भने नगर्ने जनाएको छ ।

प्रकाशित मितिः   १५ चैत्र २०८२, आईतवार ०९:३६