चैत १५ को गहिरो घाउ

कांग्रेस र एमालेको गठबन्धनबाट खड्ग प्रसाद ओलीको नेतृत्वमा बनेको सरकारले गतवर्ष चैत १५ गते आजैका दिन शान्तिपूर्ण आन्दोलनमा बर्बर दमन गरेर निरंकुशताको पराकाष्ठा नाघेको थियो । सर्वसाधारण जनताको हत्या गरेर, कतिपयलाई अङ्गभङ्ग पारेर आफ्नो राज्य शक्तिको पूरापूर दुरूपयोगबाट बहादुरी देखाएको थियो । सत्यतथ्य छानबिनका लागि जनताले उठाएको उचित मागलाई समेत दम्भ देखाएर उपेक्षा गरिदिएको थियो । मृतक र घाइतेका परिवारले आजसम्म न्याय पाउन सकिरहेका छैनन् । चैत १५ को त्यो नरसंहारलाई जबरजस्ती दबाएको कारण अंझ मैमत्त ओली सरकारले पछिल्लो जेन–जी आन्दोलनमा पनि उही र उस्तै प्रकृतिको अमानवीय दमन नीति अपनाएको बुझ्न कठिन छैन । जेन–जी आन्दोलनको सत्यतथ्य जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनेको थियो । आयोगले आफ्नो प्रतिवेदनमा सिफारिस गरे बमोजिम ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेको अवस्था छ ।

सुखी नेपाली समृद्ध नेपालको नारामा निरंकुशता लाधेको तथा म भ्रष्टाचार गर्दैन र गर्न पनि दिन्न भन्ने नारामा चरम भ्रष्टाचार गरेको देखिन्छ । उदाहरणमा प्रधानमन्त्री पदको गरिमा र हैसियत बिर्सेर ओलीले नक्कली भुटानी शरणार्थी काण्डमा सिनो झैं गनाएकी आरजु देउवालाई परराष्ट्रमन्त्री बनाए । स्वतन्त्र रूपमा जितेको मेयरलाई आफ्नो चाकरी बजाएन भन्ने प्रतिशोध साँधेर वडा अध्यक्षहरू र उपमेयर समेतलाई उचालि वा घेराबन्दी गरी असफल पार्न तुलिए । राजनीतिमा पुरातन पार्टीलाई उछिन्दै जनसमर्थन लिएर निकै अगाडि पुग्छ भन्ने मनोरोगबाट ग्रसित भएर रास्वपाका सभापतिलाई मिसन २०८४ मा पुग्न नदिन र समय लम्बाउनका लागि मात्र झुठा मुद्दा हालेर जिल्ला–जिल्लामा घुमाइएको । सहकारी रकम हिनामिनामा गनाएका कांग्रेस र एमालेका धेरै नेता र कार्यकर्तालाई ओली सत्ताले संरक्षण गर्ने गरेको । आफ्नो विरोध गर्ने जो कोहीलाई समाएर फसाउने गरेको । स्वार्थ सिद्ध गर्न उज्यालो अभियानका नायक तथा नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धकलाई अपमानजनक तरिका ले निकालेको । यी र यस्तै बेथिति नै निरंकुशताका प्रतिनिधि घटना हुन ।

कास्कीको लिचीवारि काण्डमा कोही मन्त्रीले घुसको भाग माथिसम्म पु¥याउनु पर्छ अथवा बाको चित्त बुझाउनु पर्छ भनी संवाद गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । माथिसम्म र बा भनेको कसलाई हो ? सांसदहरूले संसद्मा प्रश्न उठाए तर ओलीले ‘म भ्रष्टाचार गर्दैन र गर्न पनि दिन्न’ भन्ने पुरानो थेगो दोहो¥याइदिए । भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक मुछिए, मुछ्ने काम ओली बाहेक अरुको हुनसक्छ भनी कसैले विश्वास गर्न सक्दैन । किनकि करिब दुईतिहाइको शक्तिशाली गृहमन्त्रीलाई छुने आँट कसैले पनि गर्दैन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कैफियत ग्रस्त प्रमुख ओलीको आदेश र निर्देशबाट चल्ने गरेको घटना जनताले चाल पाइरहेका छन् । विरोधी विपक्षलाई प्रतिशोध साँध्नसमेत ओलीले अख्तियार प्रयोग गर्ने गरिरहेका थिए । भिजिट भिसा काण्डमा लेखकले दैनिक ५० लाखसम्म बुझ्ने गरेको भनी मिडियामा खबर प्रसारण भइरहेको थियो । देशको गृहमन्त्रीले त्यसरी घुस हसुरीरहँदा प्रधानमन्त्रीलाई पटक्कै भाग पर्दैन भनीको मुर्खले कसरी विश्वास गर्ला ? ३३ किलो र सय किलो सुन काण्ड , जलहरी काण्ड, भ्युटावर काण्ड ओम्नी काण्ड, यति काण्ड, बतास काण्ड, विमानस्थल काण्ड, बालुवाटार जग्गा काण्ड, पतन्जली जग्गा काण्ड एनसेल काण्ड इत्यादि थुप्रै थुप्रै काण्डहरू छानबिन भएर पनि किन कार्पेटमुनि परेका छन् ? कहिल्यै नखुल्ने गरी किन दराजमा थन्किएका छन् ? ओलीको कार्यकालमा यो देश ग्रे लिस्टमा परेको मात्रै होइन अन्तर्राष्ट्रिय न्याय निकायका अनुसार भ्रष्टाचारको दलदलमा पनि भासिदै गएको थियो । उल्लेखित काण्ड र घटनाक्रमले पुष्टि हुन जान्छ भ्रष्टाचार गर्दैन र गर्न पनि दिन्न भन्ने नारामा ढाकिएको नियत ।

ओली सरकारको नियत, पक्षपात, प्रतिशोध, कुशासन र अकर्मण्यताबाट जनता हत्तु हैरान थिए । त्यसैगरी कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन माओवादी पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नियत र कार्यशैलीले पनि जनता वाक्क दिक्क थिए । संवैधानिक अंग, न्यायीक निकाय र सरकारी सेवाका संघ–संस्था भागबन्डामा बाँडफाँड भएका थिए । पालैपालो शासनका हकदार यी तीन पात्रले देश र व्यवस्थालाई बिर्ता ठानिरहेका थिए । आदर्श सिद्धान्त नीति विचार सबैथोक तिलाञ्जली दिएर आपसमा गठबन्धन गर्ने गर्थे । स्वार्थ बाँझिदा छुट्टिएर फेरि हिलो छ्यापाछ्याप गर्न पनि चुक्दैनथे । निरन्तर सास्ती भोग्नु परिरहेको कठिन परिस्थितिमा रहर नभइ एउटा बाध्यताबस जनताले विकल्पमा राजसंस्था तिर आशा भरेर नजर लगाइरहेका थिए ।

२०८१ साल फागुन २५ गते राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने कार्यक्रम थियो । राजाको स्वागतमा स्वस्फूर्त हजारौँ हजार जनता उर्लेको देख्दा सायद ओलीलगायत गणतन्त्रका खेलाडीको मनमा चिसो पसेको थियो ।

भ्रष्टाचार, कुशासन, छलकपट र अराजकताबाट वितृष्णा भरिएका जनता आक्रोशित छन् भन्ने कुरा यिनलाई राम्रो जानकारी थियो । आक्रोशित जनताको ठूलो हिस्सा राजाको समर्थनमा गयो भने सत्ता जोगाउन मुश्किल पर्छ भन्ने पनि बुझिरहेका थिए । त्यसकारण चैत १५ मा हुने भनिएको आन्दोलनले सत्तालाई गहिरो चिन्तामा धकेलिदिएको थियो । त्यसकारण ओलीले युवासंघलाई बाघले झैं झम्टनु भनेर निर्देशन दिएका थिए । त्यसकारण उनले भित्रभित्रै अनेक षड्यन्त्र गरिरहेका थिए ।

१५ गते निर्धारित समयमा आन्दोलनरत जनता तीनकुनेमा भेला जम्मा हुँदैगर्दा नजिकै निजी घरको छतमा लुकि बसेको सादा पोसाकको (प्रहरी ?) ले कार्यक्रम बिथोल्नका लागि सुरुमै अश्रुग्यास हान्यो । जनताले बरामद गरेको खोकामा म्याद गुज्रिएको अश्रुग्यास पाइएको थियो । काममा हिँडिरहेको एक जना निर्दोष बटुवालाई पछाडिबाट गोलि हानेर सडकमा ढालिएको थियो । सडक पार गर्दै गरेकी किशोरी रेविका खत्रीलाई तिघ्रामा गोलि हानी मरणासन्न घायल पारिएको थियो । सत्यतथ्य अन्वेषण गर्न गएका एक टेलिभिजनका सञ्चारकर्मी सुरेश रजवरको आगजनीमा शंकास्पद मृत्यु भएको थियो, रजवरको मोबाइल फोन र क्यामेरा कतै फेला परिरहेको थिएन । प्रहरीको सार्वजनिक अभिव्यक्ति अनुसार ७६ राउन्ड गोलि चलाइएको थियो । गोलीले कतिजनाको सिकार ग¥यो भनी मृतक र घाइते को एकिन हुन नसक्दा राज्यले दबाएको आरोप लागिरहेको थियो । सत्यतथ्य र वास्तविकतालाई बिल्कुल नजरअन्दाज गरेर सम्पूर्ण दोष राजाको टाउकोमा खन्याउँदै आन्दोलनमा सरिक हुने र नेतृत्व गर्ने जनता कार्यकर्ता र नेतालाई छानीछानी गिरफ्तार गरिएको थियो ।

तटस्थ रहनुपर्ने प्रहरी प्रशासनको दुरूपयोग गरेर विवादमा ल्याइयो । आन्दोलनमा भिजिलान्तेको घुसपैठ भयो भन्ने भनाइलाई सत्ताले चिर्न सकेन । लूटपाट र तोडफोड गर्नेलाई खोजी खोजी खोरमा हाल्ने जाँगर देखाएको सरकारले गोलिले कतिलाई घायल बनाएको छ भन्ने देखाउन रूचि लिएन ।

राजा विदेश भाग्न सक्छन् राहदानी जफत गर्नुपर्छ भन्ने ढंगबाट मिडिया ट्रायल गरियो । पत्रकारिताको मर्म धोती लगाएर खबर बनाउन तम्तयार रहेका मिडियाले राजाको उछितो मात्रै काढेनन् सम्पादकीय पनि लेख्न भ्याए । सत्ताको आदेश र निर्देशमा चल्न खुसी मान्ने मिडियाले ओलीको भक्तिभाव देखाए । अनेक प्रश्न गम्भीर र शंकास्पद थिए तर प्रधानमन्त्री ओलीले संसद्को रोस्ट्रममा उभिएर यो अपराध राजाले गरेका हुन कारबाही गर्नुपर्छ भनिदिए ।

उच्चस्तरीय, निष्पक्ष र न्यायीक छानबिनको माग भइरहँदा ओली– लेखकले छल्ने र पर्गेल्ने गरिरहे । बर्बादीको आरोप राजाको टाउकोमा हालेर आन्दोलनमा सक्रिय नेताहरूलाई थुनिदिएपछि जनता तर्सिन्छन् र हेकुलाले पेलेर निरन्तर सत्ता चलाउन पाइन्छ भन्ने दुषित विचार थियो । लूटको धन्दामा कतैबाट घुनपुत्लो नलागोस् भनी त्यत्रो अक्षम्य अपराध गर्न तुलिएका थिए ओली र लेखक । मान्छे मारिदा र अंगभंग हुँदा परिवारजनमा परेको पीडा चुपचाप आँसुमा बगाउनु पर्ने कस्तो विडम्बना ! चैत १५ गतेको गहिरो घाउ पुर्नका लागि छानबिनबाट एकिन गरि न्यायको प्रत्याभूति गर्न अपराधीलाई कठोर दण्ड सजाय दिलाउनै पर्छ भन्ने जनता को माग छ । कानुनका आँखामा धनी गरिब, शक्तिशाली र निमुखा सबै बराबर हुनुपर्छ । न्यायालय सत्ताको इशारामा चल्ने निकृष्ट काम बन्द गरिनुपर्छ । अपराधी जतिसुकै ठूलो र शक्तिशाली भएपनि ढिलोचाँडो कानुनको फन्दामा पर्ने भएपछि सत्तामा बस्ने जो कोही मैमत्त हुन र अनाहकमा जनता मार्न त्रसित हुनेछन् ।

-उमालाल आचार्य

प्रकाशित मितिः   १५ चैत्र २०८२, आईतवार ०५:०३