पढाइ छोडेर पानी ओसार्छन् बालबालिका

भालेको डाँकोसँगै झिसमिसे बिहानमै उनी ब्यूँझन्छन् । रित्तो गाग्री र डोको बोकेर खोलातिर लाग्छन् । जाँदा एक घण्टा लाग्छ । फर्कदा गाग्रीभरी पानी, उकालो बाटो घर पुग्न डेढ घण्टा भन्दा बढी समय लाग्छ । बिहानभरीको समय पानी ओसार्दैमा बित्छ । यो दैनिकी पश्चिम सुर्खेतको छाप्रेका ११ वर्षीय बालक नविन देउवाको हो । घर नजिकै खानेपानीको स्रोत नभएका कारण बिहानै उठेर किताब समात्ने समयमा नविनको दैनिकी भने पानी ओसार्दै बित्ने गरेको छ ।

११ वर्षका नविन कक्षा ६ मा अध्ययन गर्दछन् । किताब समातेर पढ्ने समयमा खोनपानी ओसार्दै समय बित्ने भएकाले उनले नियमित पढ्न समेत पाउँदैनन् । कहिलेकाहीं त ढिलो हुँदा विद्यालय समेत जान पाउँदैनन् । उनी भन्छन्, ‘आधा रातमै उठेर पानीको जोहो गर्न जानुपर्दछ, बिहानभरीमा तीन खेप पानी ओसार्छु कहिलेकाहीं ढिलो भएर स्कुल जान नै छुट्छ ।’ विद्यालय जान पनि एक घण्टा लाग्ने भएकाले पानी ओसार्दैमा समय जाने नविनले आफ्नो दैनिकी सुनाए । नविन मात्र होइन छाप्रे–७ सान्ने गाउँका धेरै जसो बालबालिका बिहान भिसमिसेमा नै डोकोमा गाग्री राखेर धुगाने खोलामा पानी लिन झर्छन् । उनीहरूको दैनिकी नै पानी ओसार्दैमा बित्छ । नजिकै पानीको मुहान नहुँदा त्यहाँका बासिन्दाहरू घण्टौं लगाएर खोलामा पानी लिन जान बाध्य छन् ।

सान्नेकै नौ वर्षीया लक्ष्मी देउवा पनि बिहानको घामको झुल्कोसँगै खोलाबाट पानी लिएर घर आइपुग्छिन् । एकाबिहानै किताब समात्ने हातले गह्रौं गाग्रीभरी पानी बोक्नुपर्ने बाध्यताका कारण चार कक्षामा अध्ययनरत लक्ष्मीलाई थकानका कारण विद्यालय पुग्न डेढ घण्टा लाग्ने गर्दछ । घरमा अर्को कोही नभएका कारण लक्ष्मी सधैंजसो पानी ओसारेर मात्रै अध्ययनका लागि विद्यालयतिर जाने गर्छिन् । घरदेखि निकै टाढा रहेको विद्यालयमा पानी ओसार्दाको थकानका कारण अधिकांश दिन त उनी विद्यालय नै जाँदिनन् । उनी भन्छिन्, ‘मान्छेलाई खाने पानी मात्र भए त थोरै पानी लिए पनि पुग्थ्यो तर, गाई भैंसीलाई समेत पानी बोकेर खुवाउनुपर्छ, कहिलेकाहीं त स्कुल जानै ढिलो हुन्छ ।’

नविन र लक्ष्मी जस्तै जानु देउवाको दैनिकी पनि खासै फरक छैन । दिउँसोको समय स्कुलमा भए पनि बिहान र साँझ भने उनी सधैं पानी लिन खोलामा नै जान्छिन् । ‘खोलाबाट पानी लिएर घर आउँदा साथीहरू स्कुल गइसकेका हुन्छन्,’ उनले भनिन्, ‘अनि एक्लै डरलाग्दो जंगलको बाटो हतार–हतार कटाएर स्कुल जानुपर्दछ । कहिले त पहिलो कक्षा नै छुटिसकेको हुन्छ ।’ अँध्यारोमै पानी लिन गए पनि घर आउँदा घाम उदाइसकेको हुने उनको भनाइ छ । बिहानकै समयमा तीन÷चार खेप पानी ओसार्नुपर्ने भएका कारण सधैंजसो आधा पढाइ छुट्ने गरेको जानुको गुनासो छ । अभिभावकहरू बिहानैदेखि मेलापातमा व्यस्त हुनाले पनि पानी बोक्न बालबालिकालाई नै लगाउने गरेका छन् ।

नविन, लक्ष्मी र जानु त केवल प्रतिनिधि पात्र मात्र हुन् । छाप्रे सान्ने गाउँका अधिकांश बालबालिकाको दैनिकी पानी बोक्दैमा बित्छ । नजिकै पानीको मुहान नहुँदा सान्ने गाउँ मात्र होइन आसपासका गाउँमा समेत खानेपानीको समस्या विकराल रूपमा देखिन्छ । मान्छेलाई खानेपानी मात्र नभइ बालबालिका गाई वस्तुलाई समेत खुवाउने पानी घण्टौं समय लगाएर खोलाबाट बोक्ने गर्छन् ।

गाउँमा सडक पुगेको छैन, खानेपानीको चरम अभाव छ, बिजुली बत्ती छैन । तर, पनि छाप्रेलाई पञ्चपुरी नगरपालिका बनाइएको छ । छाप्रेका बासिन्दालाई आफ्नो नगरपालिका कार्यालयमा आउनै एक दिन लाग्छ । स्थानीय चन्द्रा बिसी भन्छिन्, ‘बाटो, बिजुली खानेपानी, स्वास्थ्य, विद्यालय लगायत भौतिक पूर्वाधारको विकास नै छैन तर, नगरपालिका बनाइएको छ, हामीलाई कर मात्र धेरै तिर्नुपर्छ सेवा सुविधा केही छैन ।’ विकासको हिसाबले हेर्ने हो भने छाप्रे सुर्खेत जिल्लाको सबैभन्दा विकट ठाउँ हो ।

स्थानीय बासिन्दाहरू अबको जनप्रतिनिधिले आफ्नो गाउँको विकास गर्छन् भन्ने विश्वासमा छन् । उनीहरू नवनिवार्चित जनप्रतिनिधिले आफ्नो गाउँमा सडक, बिजुली, स्वास्थ्य, खानेपानी, विद्यालय लगायतको भौतिक विकासका लागि पहल गर्नुपर्ने बताउँछन् ।

प्रकाशित मितिः   २० जेष्ठ २०७४, शनिबार ११:४८