नगर विकासको अध्यक्षमा कोइराला

सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षमा नारायण कोइराला मनोनित भएका छन् । नेपाली कांग्रेसका सुर्खेत क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति कोइरालालाई जेठ १७ गतेको मन्त्री स्तरीय निर्णयले दुई वर्षका लागि अध्यक्षमा मनोनित गरेको हो ।

तत्कालीन अध्यक्ष धु्रवकुमार चपाईं वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ को वडा अध्यक्षमा निर्वाचित भएपछि समितिको अध्यक्षबाट राजीनामा दिँदा सो पद रिक्त थियो । समितिको अध्यक्षमा मनोनित भएपछि कोइरालाले सुर्खेत उपत्यकाको समग्र विकासका लागि सबै पक्षसँग समन्वयका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले नवनिर्वाचित जनप्रतिनिधिहरूसँग पनि सहकार्य गरिने जनाए । उपत्यकाको गुरुयोजना, पर्यटकीय स्थलहरूको संरक्षण एवम् विकासका लागि आफ्नो क्रियाशीलता रहने उल्लेख गरे ।

अध्यक्षले समितिको पाँच जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । अध्यक्ष कोइरालाले सदस्यहरूको नाम छनौटको प्रक्रियामा रहेको उल्लेख गरे । यसैबीच नवनियुक्त अध्यक्ष कोइरालाले शुक्रवार साँझ नै पदभार ग्रहण गरेका छन् । समितिको कार्यालयमा निवर्तमान अध्यक्ष धु्रवकुमार चपाईंले नवनियुक्त अध्यक्ष कोइरालालाई पदभार गराएका हुन् । पदभार कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, सचिव भुपेन्द्र खत्री, कोषाध्यक्ष अनन्त पौडेल लगायत समितिका कर्मचारीहरूले स्वागत गरेका थिए ।