‘उनको अक्षर देखेरै मोहित भएँ’

उनी ६ वर्षको थिए । घर राम्रैसँग चलेको थियो । दुई दम्पत्तीको साथमा एक्लो सन्तानको रूपमा रहेका वलवीर सुनारको परिवार सुखी साथ जीवन बिताइरहेको थियो । एक दिन अचानक सुनारका बुबाले कान्छी आमा ल्याएपछि सुनारको जीवनमा केही समय त अँध्यारो नै भयो । परिस्थिति यस्तो आयो, सुनार कि त आमासँग बस्नुपर्ने भयो कि त बाबुसँग बस्नुपर्ने भयो । बाबुआमा मध्ये एउटालाई रोज्नुपर्ने अवस्थामा सुनारले बुबालाई नै रोजे । किनकी उनलाई पढ्न लेख्न र उनको हरेक आवश्यकता पूरा बुबासँग बस्दा सहज हुने भएकाले उनी बुबासँग नै बस्ने निर्णय गरे ।

जुन समयमा बाबुआमा दुवैको मायाको आवश्यकता थियो त्यही उमेरमा बाध्यताले उनलाई आमाको साथ छोडेर बुबासँग बस्नुप¥यो । बुबाले कान्छी आमा ल्याए पनि सुनारलाई कान्छी आमाले कहिल्यै आमाले गर्ने मायाको महसुसको कमी हुन भने दिइनन् । उनले बाबुआमा दुवैको माया उत्तिकै पाए ।

पिता गोपी सुनार र माता आइती सुनारको कोखबाट २०३१ सालमा डाँडापराजुल दैलेखमा जन्मिएका बलवीर सुनारको बाल्यकाल केही दुःख अनि केही सुखसँग बिते । अरुले बिताएको बाल्यकाल जस्तो सुखमय भने उनको बाल्यकाल बितेन । खेल्ने रमाउने उमेरमा बाबुआमासँग अलग भएर बस्नु पर्दाको पीडा उनलाई मात्र थाहा छ । उनी १० वर्षको हुँदा उनकी कान्छी आमा जम्मा १६ वर्ष थिइन् । त्यतिबेला उनका बुबाले सुन बनाउने काम गर्थे । उनले बुबाको साथ कहिल्यै छोडेनन् । बाल्यकालमा कान्छी आमा पाउँदा र आफ्नी आमा आफूबाट टाढा बस्दाको पिडाले पनि उनको पढाइ त्यति राम्रो थिएन । आफू एक्लो छोरा भए पनि कान्छी आमाबाट ६ जना भाइबहिनी जन्मिएपछि सुनारको दिन घरमा भाइबहिनीहरूको रेखदेख र घरको काममा नै बित्यो । उनले कक्षा पाँचसम्म डाँडापराजुलकै स्कुलमा पढे । कक्षा ६ देखि एसएलसी पास भने अवलपराजुल दैलेखदेखि गरे । उनी कक्षा १० मा पढ्दा शिक्षा विषयमा २५ पूर्णाङ्कमा २३ नम्बर ल्याउँदा उनलाई सरले हौसला दिए । कि उनी मेहेनत गर्न सके धेरै अगाडि बढ्न सक्छौ । यसपछिका दिनमा सुनारले दिनरात मेहेनत गरेर पढ्न थाले । उनी भन्छन्, ‘मलाई सरले होसला नदिएको भए सायद मैले यतिको मेहेनत गर्ने नै थिएन होला ।’

एसएलसी पास गरेपछि उनी उच्च शिक्षा पढ्न सुर्खेत आए । सुर्खेत आएर पढ्ने अवधि उनको एक वर्ष मात्र थियो । उनका बुबाले सुर्खेत बसेर एक वर्षमा जागीर नखाए पढाउन नसक्ने भनेका कारण सुनारले दिनरात नभनी मेहेनत गरेर १० महिने सीएमए पढे । १० महिने कोर्ष सकेर उनले स्थायी जागिर नै खाए । उनको बुबाले दिएको एक वर्ष म्याद नसकिदैं उनले बुबाको हातमा जागिरको लागि नियुक्ति थमाइ दिए । उनले भने, ‘बुबाले कान्छी आमा ल्याए पनि मलाई भने कहिल्यै विभेद गर्नुभएन, सधैं अगाडि बढ्नको लागि साथ र हौसला दिइराख्नुभयो त्यसैले त म सफल भएँ ।’ उनलाई समाजमा धेरै नानथरी कुराहरू सुनाउने गर्थे । बुबाले अर्की आमा ल्यायोसँगै बस्नु हुन्नसम्म भने तर सुनारले कहिल्यै कान्छी आमालाई कान्छी आमाको नजरमा राखेर हेरेनन् । आफ्नी आमासँग भन्दा कान्छी आमासँग धेरै कुरा मिल्ने गथ्र्यो उनको । उनलाई कान्छी आमाले पनि कहिल्यै सौताको छोरालाई जस्तो व्यवहार गरिनन् । त्यही मिलन देखेर समाजले उनीहरूबीचमा फाटो ल्याउन धेरै प्रयास गरे पनि सुनार भने अडिक नै रही रहे । उनी सबैसँग मिल्ने स्वभावका थिए । त्यसैले पनि होला कान्छी आमासँग मिलेर बस्न सके ।
उनले सिएमए पढेर सके पछि जागिरको शिलशिला दैलेखदेखि सुरु गरे । उनले १० वर्षसम्म विभिन्न जिल्लाहरूमा रहेर काम गरे । जागिरको शिलशिलामा पनि उनले पढाइ भने छोडेनन् । उनले पोल्टिकल साइन्स र हेल्थ एजुकेशनममा डिग्री पास पनि गरे । १० वर्ष जागिर गरेपछि उनले फेरि लोकसेवाबाट नाम निकाले र जिल्ला शिक्षा कार्यालय सुर्खेतमा आए । अहिले उनी तीन क्षेत्रको विद्यालय निरीक्षिकको रूपमा काम गरिरहेका छन् ।

उनी २३ वर्षका थिए । जागिरको शिलशिला र पढाइको शिलशिलामा बिहेको लागि केटीतिर ध्यान गएन । तर, उनका बुबाले भने गाउँमा केटी खोज्न थालिसकेका थिए । बुबाले केटी धेरै हेर्न थाले पनि उनले पनि अब बिहे गर्ने उमेर भएछ क्यारे भन्ने सोचे । उनका भाइबहिनीको उनको भन्दा पहिले नै भइसकेकोले पनि उनको बुबाले अब छोराले विहे गर्दैन भन्ने सोचे । त्यति बेलाको समयमा सानै उमेरमा विहे गर्ने चलन भएकाले छोरा २३ वर्ष पुगिसक्यो अब विहे गर्दैन भन्ने कुराले उनको बुबालाई सताएका कारण नै खर काट्न गएका उनका बुबा केटी हेरेर आएँ भन्न आइपुग्र्थे घरमा ।

बुबाको बुहारी ल्याउने सपना साकार पार्नका लागि उनले आफ्नो चिनेको एक जना दाईसँग बिहे गर्नको लागि केटी खोज्न आग्रह गरे । उनलाई फेरि पढेलेखेकी केटी चाहिएको थियो । त्यस समयमा दलित समुदायबाट धेरै पढेलेखेको केटी पाउन कठिन नै थियो । उनले चिनेको दाइले बर्दियामा एक जना केटी छ भनेर देखाउन लगे । उनी हेर्न गए र केटीको बुबा आमासँग कुरा पनि गरे । तर, केटीका बुबाआमाले दैलेख टाढा हुन्छ छोरी दिन्नौं भनेपछि उनी रित्तो हात घर फर्किए ।

उनी हेर्न गएको केटी अरु कोही नभएर शुकला विश्वकर्मा थिइन् । उनी घर फर्कदा शुकलाले कपीमा आफ्नो घरको ठेगाना लेखेर दिएकी थिइन् । सुनारले हार भने मानेका थिएनन् । जसरी पनि शुकलालाई नै विहे गर्ने हो भन्ने मनमा अठोठ लिइ सकेका थिए । शुकला पढे लेखेकी थिइन् । त्यति बेला शुकलाले एसएलसी दिएकी थिइन् ।

पिता लालवीर विश्वकर्मा र माता वली विश्वकर्माको कोखबाट २०३४ सालमा सल्यानमा जन्मिएकी शुकलाको पाँच वर्ष पछिको बाल्यकाल भारतमा बित्यो । उनको बुबा भारतमा काम गर्ने भएकाले सबै परिवारसहित भारतमा गए । शुकलाले कक्षा एक देखि कक्षा ६ सम्म भारतमा नै पढिन् । कक्षा सातबाट भने उनको परिवार बर्दियामा आएकाले बर्दिया ककौरा त्रिभुवन माविबाट एसएलसी पास गरिन् ।

शुकलाले लेखेर दिएको ठेगानाको अक्षरले सुनारलाई मोहित बनायो । उनी दैलेखमा अफिस जान भनेर हिँडेका थिए । आधिबाटोमा पुगेपछि गोजीबाट एउटा कागज निकालेर हेरे । जसमा थियो शुकलाले लेखेर दिएको आफ्नो घरको ठेगाना । उक्त ठेगाना लेखिएको अक्षरले बलवीरलाई यति मोहिन बनायो कि उनी अफिस जान छोडेर आधिबाटोबाटै बर्दिया पुगे, शुकलालाई विवाहका लागि फकाउन । शुकलालाई उनीले खुब फकाए । शुकलाल पनि संस्थामा काम गर्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । बाटोमा नै सुनारले शुकलालाई फकाएपछि शुकला सुनारसँग विवाह गर्न तयार भइन् ।

उनीहरूले २०५४ सालमा भागी विवाह गरे । विवाहपछि केही समय माइती रिसाए । तर, बाबुआमाको मन न हो आफ्ना सन्तानसँग धेरै समय रिसाएर बस्न सक्दैनन् । शुकलाका बाबुआमाले पनि शुकलालाई माफ गरिदिए । तराईमा बसेकी शुकला पहाडमा विहे गरेर आउँदा सुरु सुरुका दिनमा उनलाई निकै कठिन भयो । उनले छोरी र बुहारी हुँदाको धेरै फरक हुने अनुभव पनि लिइन् । पाँच भाइबहिनीमध्ये घरकी कान्छी छोरी सबैको माया ममतामा हुर्किएकी शुकलालाई घरकी जेठी बुहारी भएर जिम्मेवारी सम्माल्न सुरु–सुरुमा गाह्रो नै भयो ।

उनलाई सबैभन्दा घरको काममा पानी लिन जाँदा गाह्रो लाग्ने गथ्र्यो । घरदेखि आधा घण्टा आरालो हिँडेर पानी लिन जानुपर्ने आउँदा उकालो हिँडेर आउनुपर्ने हुँदा पानी लिन जाँदा शुकला कति पटक त रोएकी पनि थिइन् । विवाह पछिका दिनमा उनी घरमा धेरै समय बसिनन् । उनले विहेपछि सीएमए पढिन् । एचए पनि पढिन् । र लोकसेवाबाट नाम पनि निकालिन् । अहिले उनी सिम्ताको आग्रागाउँ स्वास्थ्यचौकीमा अहेबको रूपमा रहेर काम गर्छिन् ।

विवाहपछिका दिनमा यो जोडी कहिले काहीं सामान्य झगडा त गरे तर, झगडालाई ठूलो रूप लिन भने दिएनन् । दुवैको जागिर सँगसँगै तीन वटा सन्तानलाई पनि सँगसँगै हुर्काए । शुकला सरसफाइमा अलि बढी नै तल्लीन हुने भएकाले सुनारलाई सरसफाइमा हरेक दिन सिकाउनुपर्ने हुँदा धेरै पटक त सरसफाइकै विषयमा यो जोडीको झगडा हुने गर्छ । श्रीमान् श्रीमतीबीच जति झगडा भयो त्यति माया बढ्दै जान्छ । यो जोडी एकअर्काेको प्रशंसा यसरी गर्छन् । सुनारलाई शुकलाको सरसफाइमा धेरै ध्यान दिने बानी मनपर्ने गर्छ । उनी भन्छन्, ‘उनको सरसफाइमा ध्यान दिने बानी र खानपिनमा धेरै केयर गर्ने, कसैसँग पनि ठूलो स्वरले नबोल्ने बानी मनपर्छ ।’ त्यस्तै शुकलालाई पनि सुनारको केही काम गर्छु भनेपछि त्यो काम गरेरै छोड्ने बानी मनपर्ने गर्छ । शुकलालाई कहिले काहीं केही काम गर्नुस् भन्दा काम अलि समयपछि मात्र गर्ने बानी भने सुनारको हटाइ दिए हुन्थ्यो जस्तो लाग्छ ।

यो जोडी एकअर्काेको जन्मदिन र विवाह गरेको वर्ष आउँदा पहिला नमनाए पनि अहिले भने छोराहरूले मनाइ दिने र सरप्राइज दिने गर्छन् । परिवारमा बसेर रमाइलो गर्ने गर्छन् । जो जोडी दुवै जना काममा व्यस्त हुने भएकाले घुम्न गएका छैनन् । तर, दसैं र तिहार बिदामा भने दसैंमा घरमा र तिहारमा माइतीमा गएर रमाइलो गर्ने गर्छन् । उनीहरूका अनुसार दाम्पत्य सम्बन्ध दिगो बनाउनको लागि एकअर्काेबीच विश्वास चाहिन्छ । विवाह भनेको सम्झौता हो यसमा विश्वास र समझदारी भएन भने त्यो सम्बन्ध दिगो हुन सक्दैन । वैवाहिक सम्बन्धमा लभ, केयर, इमान्दारिता र शेयर हुनसक्यो भने त्यो सम्बन्ध कहिले पनि टुट्दैन ।

प्रकाशित मितिः   २० जेष्ठ २०७४, शनिबार ११:३९