
सुर्खेत: भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले जिम्मेवारी सम्हालेको ७५ दिनसम्मका उपलब्धिहरू सार्वजनिक गरेका छन् । मन्त्रालयको नेतृत्व सम्हालेको छोटो अवधिमा उनले विकास निर्माणमा रहेका गाँठा फुकाउने, नीतिगत सुधार गर्ने र स्थलगत अनुगमनलाई तीव्रता दिने कार्यमा महŒवपूर्ण सफलता हासिल गरेको दाबी गरेका छन् ।
मन्त्रालयद्वारा सार्वजनिक मंगलवार ५० बुँदे उपलब्धिमा रणनीतिक सडक, पुल निर्माण, नीतिगत सुधार र अन्तर–मन्त्रालय समन्वयलाई मुख्य प्राथमिकतामा राखिएको छ । मन्त्री चौलागाईंको कार्यकालमा वर्षौंदेखि अलपत्र परेका (रुग्ण) दुई सय ३५ ठेक्कामध्ये ४० वटा ठेक्का तोडिएका छन् भने करिब एक सय ५० वटा ठेक्का तोड्ने प्रक्रियामा रहेका छन् । यसै अवधिमा सडक विभागमार्फत एक सय ५९ कि.मि. सडक कालोपत्रे भएको छ भने ४६ वटा पुलको निर्माण सम्पन्न भएको छ । यस्तै, नारायणी र बागमती नदीमा आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको काम अघि बढेको छ ।
यसैगरी पुरानो राष्ट्रिय यातायात नीति, २०५८ लाई प्रतिस्थापन गरी ‘राष्ट्रिय यातायात नीति, २०८२’ तर्जुमा गरी मन्त्रिपरिषद्मा पेस गरिएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि नीतिगत अध्ययन, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण नियमावली र डिजिटल मोबिलिटी (राइड शेयरिङ) सम्बन्धी मापदण्ड तयार भएका छन् । विकास निर्माणमा बाधक मानिने वन र वातावरणसम्बन्धी समस्या समाधान गर्न वन मन्त्रालयसँग र बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग विशेष समन्वय गरिएको पनि उनको भनाइ छ ।
त्यसैगरी मन्त्री चौलागाईंले आफ्नो कार्यकालमा बाढीले क्षतिग्रस्त वीपी राजमार्ग, अरनिको राजमार्ग (सूर्यविनायक–धुलिखेल खण्डसमेत), नागढुङ्गा सुरुङमार्ग, नागढुङ्गा–मुग्लिन सडक खण्ड, मुग्लिन–दाउन्ने खण्ड, मुग्लिन–पोखरा, भेरी करिडोर, कर्णाली करिडोर लगायतका महŒवपूर्ण सडक पूर्वाधारहरूको स्थलगत अनुगमन गरेका छन् ।
प्रकाशित मितिः ११ चैत्र २०८२, बुधबार ०५:०१
साझा बिसौनी ।