प्राथमिकतामा नपरेको योजना

कर्णाली प्रदेशमा २०७६ देखि नै लगानी सम्मेलन आयोजनाको योजना बनाइएको थियो । तर ६ वर्ष बितिसक्दासम्म पनि सम्मेलन आयोजना हुन सकेको छैन । अझ पछिल्लो पटक आयोजनाको तयारी गरिए पनि अनिश्चित बनेको छ । विभिन्न समयमा गठन भएका सरकारले लगानी सम्मेलनको विषयलाई प्राथमिकतामा राख्न नसकेका हुन् । कहिले योजना आयोग पूर्ण नहुनु त कहिले सरकार फेरबदल भइरहनु लगायतका कारणले लगानी सम्मेलनको विषय अन्योलमै रहिरह्यो । सरकारले लगानी सम्मेलन गर्ने विषयलाई वार्षिक नीति तथा कार्यक्रममा पनि समेट्दै आएको छ ।

लगानी सम्मेलन गर्ने र कर्णालीमा लगानीकर्ताहरू आकर्षण गर्ने योजना अनुरूप तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नै योजना अगाडि बढाएका थिए । कर्णालीको विकास र आर्थिक समृद्धिमा सहयोग गर्न लगानीकर्तालाई आकर्षित गर्ने भन्दै लगानी सम्मेलनको अवधारणा अघि सारिएको थियो । शाही नेतृत्वको सरकारले २०७७ मंसिरमै गर्ने भनेको सम्मेलन तयारी नपुगेकाले २०७८ वैशाखमा सम्पन्न गर्ने भनिएको थियो । योजना आयोगका पदाधिकारीहरूले सो अनुरूप तयारीसमेत थालेका थिए तर कोरोना महामारीका कारण सम्मेलन स्थगित गरियो । त्यसपछि मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले योजना आयोगलाई नै पूर्णता नदिएपछि लगानी सम्मेलनको योजना तुहिएको थियो । वर्तमान सरकारले लगानी सम्मेलन गर्नुपर्छ भन्ने तरिकाले बहस चलाए पनि आवश्यक तयारीमा खासै ध्यान दिएको देखिन्न । त्यसपछि पनि प्रदेश सरकारले विभिन्न समयमा लगाानी सम्मेलन गर्नेगरी तयारी थालेको थियो । तर सरकारको योजना कार्यान्वयन भएको थिएन । पछिल्लो पटक निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले लगानी सम्मेलन आयोजना गर्ने योजना बनाएको थियो । २०८० वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्नेगरी तयारी थालिएको थियो । सम्मेलनको तयारीका लागि मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो ।

प्रदेश योजना आयोगले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारलाई कार्ययोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृतसमेत गरेको थियो । २०८० माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १९ र २० गते कर्णाली प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको थियो । दुई पटक लगानी सम्मेलनको योजना विफल बनेको थियो । त्यतिबेला धेरै कामसमेत अघि बढिसकेको अवस्थामा सरकार फेरबदलले गर्दा सम्मेलन हुन सकेन । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको नेतृत्व गरेपछि पनि लगानी सम्मेलनको योजना चर्चामा मात्रै सीमित भएको छ । प्रदेश योजना आयोगले भने सम्मेलन आयोजनाका लागि सुक्ष्म तरिकाले तयारी भइरहेको दावी गरेको छ ।

प्रकाशित मितिः   ९ चैत्र २०८२, सोमबार १०:४०