मन्त्रीको राजीनामा माग

सुर्खेत: कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको राजिनामा मागिएको छ । मन्त्री भण्डारी असफल भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीले उनको राजीनामा माग गरेको हो ।

आइतवार बसेको कर्णाली प्रदेशसभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक कृष्णबहादुर जिसीले भण्डारीलाई तत्काल राजीनामा दिन आग्रह गरे । ‘जनताको आधारभूत सेवा दिने विषयमा स्पष्ट जवाफ नदिने, काम गर्न नसक्ने मन्त्रीज्यू तपाईं असक्षम हुनुहुन्छ, तुरुन्त राजीनामा दिनुस्,’ उनले भने, ‘तपाईंले त्यो मन्त्रालय चलाउन सक्नुहुन्न ।’

जिसीले मुख्यमन्त्री यामलाल कँडेलको समेत आलोचना गरे । मन्त्री भण्डारीलाई किन नियमन गर्न नसकेको भन्दै प्रश्न पनि गरे । ‘मुख्यमन्त्रीज्यू तपाईं नियमन गर्न सक्नुहुन्न, तपाईंको मातहतमा रहेको मन्त्रीज्यूलाई ?’
सभाको यसअघिका बैठकमा सामाजिक विकासमन्त्री भण्डारीमाथि उठेका प्रश्नको विषयमा भण्डारीले गतिलो र जिम्मेवार भएर जवाफ नदिएको प्रतिपक्षको आरोप छ । ‘क्यान्सर पीडितलगायत दीर्घ रोगीहरूलाई प्रदान गर्ने एक लाखको सन्दर्भमा जुन खालको जटिलता प्रदेश सरकार स्वयम्ले पैदा गरेको छ, त्यो गाँठो प्रदेश सरकारले छिटो भन्दा छिटो फुकाउनु पर्छ,’ जिसीले भने, ‘पीडितहरूले सहज ढङ्गले त्यो रकम प्राप्त गर्ने वातावरण बनाउनुपर्छ भनेर मैले त्यतिबेला उठाएको थिएँ ।’

तर मन्त्री भण्डारीले स्वष्ट जवाफ नदिएको उनको भनाइ छ । सदनमा उठेका प्रश्नको जवाफ नदिने बरु स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूको अनुहार हेरेर सरुवा गर्नेमै व्यस्त रहेको भन्दै आलोचना गरे । ‘उस्तै प्रकृतिका केही कर्मचारीलाई उहाँले लखेटेको लखेट्टै गर्नुहुन्छ,’ उनले भने, ‘तर कतिपय उस्तै प्रकृतिका कर्मचारीहरू उहाँले काखीमा च्याप्नुभएको छ, तिनले राम्रो गरुन् नराम्रो गरुन् । नियम त सबैका लागि लागू हुनुपर्छ नि ! यो यस्तो व्यवहार किन भइरहेको छ ?’

प्रकाशित मितिः   ९ चैत्र २०८२, सोमबार १०:४०