विकासमा बाधा
वन संरक्षण सबैको दायित्व हो । त्यसैले वन संरक्षणसम्बन्धी विभिन्न कानुन बनेका छन् । वनमा क्षति पु¥याउँदा कानुनी कारबाही हुने गर्दछ । यद्यपि, विकास निर्माणका आयोजना निर्माणका क्रममा वन क्षेत्र प्रभावित हुन्छ । अझ ठूला आयोजना निर्माण गर्दा वन बाधक बन्ने गरेको छ । निर्माण गरिएका नीति संघमा निर्भर हुँदा स्थानीय तथा प्रदेश सरकारले निर्माण गर्ने अधिकांश विकास निर्माणका काम रोकिने गरेका हुन् । जसले गर्दा विकासको गति सुस्त हुने गरेको छ भने लागत वृद्धि भइ खर्च बढ्न गरेको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माणको काममा पनि वन बाधक बनेको छ ।
वर्षाैंदेखि रुख कटानको अनुमति नहुँदा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवत्र्ती क्षेत्रअन्तर्गत पर्ने खण्डमा काम गर्न सकिएको छैन । प्रदेश सरकारले भने विभिन्न समयमा पहल गर्दै आएको छ । संघीय सरकारले सुनुवाई नगर्दा काम हुन सकिरहेको छैन । पटक–पटक रुख कटानका लागि फाइल पेस गर्ने गरिएको भएपनि काम हुन नसकेको हो । फेरि पनि प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जग्गा भोगाधिकारका लागि फाइल अघि बढाएको छ । रुख कटानको अनुमतिका लागि फागुन १९ गते संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फाइल पेस गरिएको हो । मन्त्रालयले ६ महिना अघि वातावरणीय अध्ययन गरेको थियो । अब जग्गा भोगाधिकारको अनुमति पाए काम अघि बढ्ने छ । रुख कटानको अनुमति नहुँदा निकुञ्ज क्षेत्रमा काम ठप्प छ । प्रदेश सरकारले पहल थालेको लामो समय भइसक्दा पनि वनको समस्या समाधान हुन सकेको छैन । उक्त सडक खण्डअन्तर्गत अन्य स्थानमा भने धमाधम काम भइरहेको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले स्रोत सुनिश्चितता गरी काम अघि बढाएको हो । निर्देशनालयले चालु आर्थिक वर्षमा ३२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी पहिलो खण्डको स्तरोन्नतिको कामका लागि ठेका आह्वान गरेको थियो । कुल १० किलोमिटर सडकमध्ये सात किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणको काम थालनी भएको छ ।
सडक निर्माणको ५० प्रतिशत काम सकिएको छ । अब सव–वेश र वेश निर्माणको काम मात्र बाँकी रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रुख कटानको अनुमति आए काम सुरु हुने देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राख्दै आएको छ । तर हालसम्म पनि प्रगति निराशाजनक देखिएको छ । रुख कटानको उल्झन समाधान गरेमा सडक निर्माण कार्यले पूर्णता पाउन सक्नेछ ।
प्रकाशित मितिः ६ चैत्र २०८२, शुक्रबार ०५:००
सम्पादकीय ।