अझै अन्योलमा लगानी सम्मेलन

सुर्खेत: कर्णाली प्रदेशमा आयोजना गर्ने भनिएको लगानी सम्मेलन फेरि पनि अनिश्चित बनेको छ । सरकार फेरबदलको सोझो असर लगानी सम्मेलनमा परेको हो । विभिन्न समयमा गठन भएका सरकारले लगानी सम्मेलनको विषयलाई प्राथमिकतामा राख्न नसकेका हुन् । कहिले योजना आयोग पूर्ण नहुनु त कहिले सरकार फेरबदल भइरहनु लगायतका कारणले लगानी सम्मेलनको विषय अन्योलमै रहिरह्यो ।

सरकारले लगानी सम्मेलन गर्ने विषयलाई वार्षिक नीति तथा कार्यक्रममा पनि समेट्दै आएको छ । २०७६ देखिनै लगानी सम्मेलन गर्ने र कर्णालीमा लगानीकर्ताहरू आकर्षण गर्ने योजना अनुरूप तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नै योजना अगाडि बढाएका थिए । कर्णालीको विकास र आर्थिक समृद्धिमा सहयोग गर्न लगानीकर्तालाई आकर्षित गर्ने भन्दै लगानी सम्मेलनको अवधारणा अघि सारिएको थियो । शाही नेतृत्वको सरकारले २०७७ मंसिरमै गर्ने भनेको सम्मेलन तयारी नपुगेकाले २०७८ वैशाखमा सम्पन्न गर्ने भनिएको थियो । योजना आयोगका पदाधिकारीहरूले सो अनुरूप तयारीसमेत थालेका थिए तर कोरोना महामारीका कारण सम्मेलन स्थगित गरियो । त्यसपछि मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले योजना आयोगलाई नै पूर्णता नदिएपछि लगानी सम्मेलनको योजना तुहिएको थियो । वर्तमान सरकारले लगानी सम्मेलन गर्नुपर्छ भन्ने तरिकाले बहस चलाए पनि आवश्यक तयारीमा खासै ध्यान दिएको देखिन्न ।

 

सरकारले लगानी सम्मेलन गर्ने विषयलाई हरेक वर्षको वार्षिक नीति तथा कार्यक्रममा समेट्दै आएको छ । २०७६ देखिनै लगानी सम्मेलन गर्ने र कर्णालीमा लगानीकर्ताहरू आकर्षण गर्ने योजना अनुरूप तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नै योजना अगाडि बढाएका थिए । तर अहिलेसम्म पनि सम्मेलन आयोजना हुन सकेको छैन ।

 

त्यसपछि पनि प्रदेश सरकारले विभिन्न समयमा लगाानी सम्मेलन गर्नेगरी तयारी थालेको थियो । तर सरकारको योजना कार्यान्वयन भएको थिएन । पछिल्लो पटक निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले लगानी सम्मेलन आयोजना गर्ने योजना बनाएको थियो । २०८० वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्नेगरी तयारी थालिएको थियो । सम्मेलनको तयारीका लागि मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो ।

प्रदेश योजना आयोगले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारलाई कार्ययोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृतसमेत गरेको थियो । २०८० माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १९ र २० गते कर्णाली प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको थियो । दुई पटक लगानी सम्मेलनको योजना विफल बनेको थियो । त्यतिबेला धेरै कामसमेत अघि बढिसकेको अवस्थामा सरकार फेरबदलले गर्दा सम्मेलन हुन सकेन ।

मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको नेतृत्व गरेपछि पनि लगानी सम्मेलनको योजना चर्चामा मात्रै सीमित भएको छ । प्रदेश योजना आयोगले भने सम्मेलन आयोजनाका लागि सुक्ष्म तरिकाले तयारी भइरहेको दावी गरेको छ । कार्यविधि निर्माण गरेर सम्मेलन गर्नेगरी विज्ञसहितको सुझावका आधारमा काम अघि बढाइएको योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले बताए । यो वर्ष प्रदेश सरकारले आयोजना बैंक आयोजनाका लागि ५० लाख बजेट विनियोजन गरेको छ । आवश्यकताका आधारमा बजेट थप गरेर सम्मेलन आयोजना गर्नेगरी काम अघि बढाइएको उनको भनाइ छ । देशमा उत्पन्न पछिल्लो परिस्थिति र सरकार फेरबदलले यो विषय ओझेलमा परेको उनले जानकारी दिए ।

प्रकाशित मितिः   ६ चैत्र २०८२, शुक्रबार ०५:०५