भन्सारमा अड्कियो वीरेन्द्रनगरको दमकल
सुर्खेत, १९ जेठ ।
वीरेन्द्रनगरमा बिहीवार बिहानै आगलागी भयो । स्थानीय कोटेश्वर टायर रिसोलिङ्ग सेन्टरमा लागेको आगो नियन्त्रणमा आएन । हेर्दाहेर्दै आगोले जलेर त्यहाँ रहेको करोडौं मूल्यको सामान खरानी भयो । प्रहरी र नेपाली सेनाले आगो निभाउने प्रयास गरे । ट्यांकरमा बोकेको पानीले आगो नियन्त्रणमा लिने प्रयास गर्दागर्दै ठूलो नोक्सानी हुन पुग्यो ।
प्रदेश नम्बर ६ को सबैभन्दा ठूलो नगरपालिका वीरेन्द्रनगरमा हालसम्म पनि दमकल उपलब्ध छैन । प्रादेशिक राजधानीको समेत चर्चा भइरहेको वीरेन्द्रनगरमा दमकल नहुँदा आगलागीका कारण ठूलो नोक्सानी व्यहोर्नुपर्ने बाध्यता रहेको छ । लामो समयदेखि दमकल खरिदको चर्चा भए पनि वीरेन्द्रनगरमा हालसम्म दमकल उपलब्ध हुन सकेको छैन । दमकल नहुँदा आगलागीको समयमा स्थानीय बासिन्दा टुलुटुलु हेर्न विवश छन् । केही वर्ष अघिमात्र स्थापना भएको जिल्लाको भेरीगंगा नगरपालिकामा दमकलको सुविधा हुँदासमेत यस क्षेत्रकै पुरानो नगरपालिका वीरेन्द्रनगरले दमकल पाउन सकेको छैन ।
बिहीवारको आगलागीले वीरेन्द्रनगरलाई पुनः झस्काएको छ । दमकल नहुँदा उक्त आगोलाई समयमा नै नियन्त्रणमा लिन सकिएन । घण्टौंको प्रयासपछि सुरक्षाकर्मीले बुलबुलेबाट पानी बोकेर आगो नियन्त्रणमा लिन सफल भए । आगलागीपछि जम्मा भएका स्थानीय बासिन्दा भने टुलुटुलु हेर्न विवश भए । स्थानीयले छिमेकी भेरीगंगा नगरपालिकाको दमकल बोलाए पनि उक्त दमकल आगो नियन्त्रणमा आएपछि मात्रै वीरेन्द्रनगर पुगेको थियो । भेरीगंगाबाट खबर भएको घण्टौंपछि मात्र दमकल घटनास्थलमा पुगेको थियो । भौगोलिक दूरी टाढा भएका कारण पनि यो दमकलले काम गर्न सकेन । समयमा नै सेना र प्रहरी नपुगेको भए आगलागीबाट थप क्षति हुने अवस्था थियो ।
दमकल खरिदका लागि प्रयास नभएका पनि होइनन् । तर हालसम्म वीरेन्द्रनगरले दमकल पाउन सकेको छैन । बिहीवारको घटनापछि नगरबासीले सामाजिक सञ्जालमा चर्को आलोचना र आक्रोश पोखेका छन् । उनीहरूले नवनिर्वाचित नगरका जनप्रतिनिधिलाई तत्काल दमकल खरिद गर्न आग्रह गरेका छन् । सम्भावित प्रदेशको राजधानी सहरमा हालसम्म पनि दमकल नहुनु लज्जास्पद भएको उनीहरूको भनाइ छ । स्थानीयले अन्य विषय छाडेर कुनै पनि हालतमा दमकलको व्यवस्था गर्न माग गरेका हुन् । दमकल नभएकै कारण आगलागीबाट ठूलो नोक्सानी व्यहोर्नु परेको भन्दै उनीहरूले यसतर्फ गम्भीर हुनसमेत जनप्रतिनिधिलाई आग्रह गरेका छन् । पछि स्थापना भएका नगरमा दमकलको सुविधा हुँदा समेत वीरेन्द्रनगरमा यो सुविधा नहुनु दुःखद् भएको सर्वसाधारण बताउँछन् ।
भन्सारमा अड्कियो दमकल
वीरेन्द्रनगरमा आगलागीबाट करोडौंको नोक्सानी भइरहँदा खरिद भएको दमकल भने भन्सारमा अड्किएको छ । वीरेन्द्रनगर नगरपालिकाले खरिद गरेको उक्त दमकल रक्सौल भन्सारमा रोकिएको हो । भन्सार शुल्क छुटको प्रक्रिया चलिरहेका कारण दमकल भन्सारमै अड्किएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका कार्यालयका वरिष्ठ अधिकृत प्रकाश पौडेलले दमकल खरिद भइसकेको र भन्सारमा रोकिएको जानकारी दिए । उनका अनुसार उक्त दमकल ६० लाख रकममा भारतबाट खरिद गरिएको हो । दमकल खरिदका लागि स्थानीय विकास मन्त्रालयले उक्त रकम उपलब्ध गराएको हो । भन्सार छुटको प्रक्रिया चलिरहेकाले दमकल आइनपुगेको उनको भनाइ छ । साथै उनले अबको केही दिनभित्रमा नै दमकल वीरेन्द्रनगरमा आइपुग्ने दाबी गरे ।
अब दमकलले निभाउनेछः मेयर
यसैबीच वीरेन्द्रनगरका नवनिर्वाचित मेयर देवकुमार सुवेदीले असारबाट दमकल सुविधा उपलब्ध हुने बताएका छन् । दमकल खरिद भइसकेको भन्दै उनले केहीदिन भित्र वीरेन्द्रनगरले दमकल पाउने र असारबाट नियमित सञ्चालनमा आउने जानकारी दिए । भन्सार छुटका लागि बिहीवार मात्र पत्र पठाइएको उनको भनाइ छ ।
‘हामीले दमकल खरिद गरिसकेका छौं, केहीदिनमा यहाँ पुग्छ’ सुवेदीले भने, ‘दमकल आउने बित्तिकै सेवा सुरु हुन सक्दैन, अग्नि नियन्त्रकलाई तालिम दिनुपर्छ । दमकलको चालक व्यवस्थापन गर्न केही समय लाग्छ, असार पहिलो साताबाट वीरेन्द्रनगरमा दमकलले सेवा दिनेछ ।’ साथै उनले नगरलाई सुविधा सम्पन्न नगर बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेको भन्दै असारबाट वीरेन्द्रनगरमा हुने आगलागी दमकलले नै निभाउने उल्लेख गरे ।
साझा बिसौनी संवाददाता ।