निशानामा बालिका
सुर्खेत: २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशा विकको बलात्कारपछि हत्या भएको पुष्टि पोष्टमार्टम रिपोर्टले ग¥यो । १६ वर्षीया इनिशाको बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको खुलेको हो ।
उक्त प्रकरणमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुर्खेत प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सुक्ष्म अध्ययन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले अबको दुईदेखि तीन दिनभित्र अनुसन्धान सकिने बताए । उनका अनुसार मृतक इनिशा र आरोपित बालकहरूका मोबाइललगायत विद्युतीय सामग्री, इनिशाको भजाइनल स्वाबलगायतका प्राप्त प्रमाणहरू केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ । त्यो रिपोर्ट आएपछि मात्रै इनिशाको मृत्युको रहस्य खुल्ने बुढथापाले बताए ।
इनिसा घटनाको तीन दिनपछि २६ फागुनमा दैलेखमा १२ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कृत भएको अर्को घटना सार्वजनिक भयो । काकाबाट बलात्कृत बालिका गर्भवती भएको थाहा पाएपछि मात्रै घटना बाहिर आएको हो । घटनामा संलग्न आरोपित काकालाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ । पीडित बालिकाका अनुसार उनीमाथि गत माघ १२ गते जबरजस्ती करणी भएको थियो ।
यसरी एकपछि अर्को गर्दै बालिका बलात्कृत भएका घटना सार्वजनिक भइरहेका छन् । २२ साउन २०८२ मा दैलेखमै १२ वर्षीया बालिकामाथि लखेटी–लखेटी बलात्कार भएको थियो । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तिजको नाच हेर्न गएकी बालिका बलात्कृत भएकी थिइन् । तिजको नाच हेरेर फर्किंदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी गरेका थिए ।
हरेक वर्षजसो कर्णालीका विभिन्न स्थानमा बालिकामाथि यस्ता बर्बरता भइरहेका छन् । २०८० भदौ २ गते दैलेखबाट सुर्खेत झरेकी १५ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । अटो चालक अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीले उनलाई बन्धक बनाएर बलात्कार गरेका थिए ।
त्यसैगरी २०८० भदौ कै ३० गते सुर्खेतमै अर्की एक १३ वर्षीया बालिका बलात्कृत भइन् । बिहान स्कुल जान लागेकी बालिकालाई अपहरण गरेर बलात्कार गरिएको थियो । बालिका अपहरण गरी काँक्रेविहार जंगलमा लगेर बलात्कार गरिएको थियो ।
यसरी पछिल्लो समय बालिका बलात्कारका घटना लगातारजसो भइरहेका छन् । बलात्कृत हुनेमा अधिकांश १५ वर्षसम्मका नाबालिकाहरू छन् । कसैलाई अपहरण गरेर त कसैलाई बन्धक बनाएर बलात्कार गरिएको छ । अर्कोतर्फ दिनदाहाडै बालिका अपहरण गरेर बलात्कार गर्नेजस्ता जघन्य अपराध हुनुले बढ्दो अपराधको दृष्टान्त देखाएको छ ।
पछिल्लो समय बलात्कार र जबरजस्तीकरणीका जघन्य अपराधको सिकार बालिकाहरू बनिरहेका छन् । अन्य उमेर समूहका महिलाभन्दा बालिका तथा किशोरीहरू बढी जोखिममा देखिएका छन् । प्रहरी तथ्याङ्कअनुसार बालिकामाथि हुने बलात्कारका घटना बर्सेनि बढ्दोक्रममा छन् । आर्थिक वर्ष २०८२/०८३ मा दुई बालिकाको बलात्कारपछि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतमा एक र दैलेखमा एक गरी दुई बालिकाले बलात्कारको सिकार भइ मृत्युवरण गर्नुपरेको हो ।
पछिल्ला तीन आर्थिक वर्षमा चार सय ९२ वटा जबरजस्तीका मुद्दा दर्ता भएका छन् । प्रदेशभर आर्थिक वर्ष २०८०÷०८१ मा दुई सय नौ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/०८२ मा एक सय ७४ जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भए । आर्थिक वर्ष २०८२/०८३ मा एक सय नौ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले बताए । उनका अनुसार बलात्कारका बढीजसो घटनामा चिनेजानेका, नजिकका आफन्त र समाजले भरोसा गरेका व्यक्तिहरूकै संलग्नता देखिने गरेको छ । त्यस्ता कैयन् घटनामा परिवारका अभिभावक र सदस्यहरू नै संलग्न हुने गरेको पाइएको शाहको भनाइ छ ।
प्रकाशित मितिः २ चैत्र २०८२, सोमबार ०५:०५

रजनी याेगी ।