जनविश्वासको नापजाँच
प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत कर्णाली प्रदेशको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नजिता आइसकेको छ । प्रत्यक्षतर्फ प्रदेशका १२ मध्ये पाँचवटा क्षेत्र जितेर नेपाली कांग्रेस पहिलो हुँदा चार क्षेत्रको जितेको नेपाली कम्युनिष्ट पार्टी दोस्रो स्थानमा रह्यो । बाँकी तीनवटा क्षेत्रमा नेकपा(एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले एक÷एक सिट पाएका छन् । परम्परागत प्रतिस्पिर्धी दलहरू कांग्रेस, एमाले र नेकपासँग राप्रपा र रास्वपाले पनि आफ्नो बलियो उपस्थिति सुनिश्चित गरेका छन् । जसले कर्णालीको राजनीतिक शक्ति समीकरणमा फेरबदल ल्याएको छ । परम्परागत दलहरूलाई चुनौती दिन अन्य दलहरू पनि तयार हुँदैछन् भन्ने प्रष्ट सन्देश फागुन २१ गते भएको चुनावको नतिजाले दिएको छ ।
प्रत्यक्षतर्फको नतिजाले मात्रै होइन, समानुपातिकतर्फको नतिजाले पनि परम्परागत दलहरूको पकड र प्रभाव अब जोखिममा परेको देखाउँछ । प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिकतर्फ पनि पहिलो नै भएको छ । जबकी २०७९ मा पहिलो भएको एमाले यसपटक तेस्रोमा झरेको छ । रास्वपाले एमाले र नेकपाजस्ता शक्तिलाई पछि छोडेर दोस्रो हुन सफल भयो । यो नतिजा धेरैका लागि अपेक्षित थिएन । समानुपातिकतर्फ कांग्रेसले कर्णाली प्रदेभरबाट एक लाख ४१ हजार दुई सय २३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) दोस्रो भएको छ । उसले एक लाख ३३ हजार सात सय ४९ मत पाएको हो । तेस्रो भएको नेकपा(एमाले)ले एक लाख २० हजार आठ सय ६३ मत पाएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीले एक लाख सात हजार एक सय एक मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार सात सय ५५ मत पाउँदा अन्य दलले दश हजार मत कटाउन सकेनन् । प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको रास्वपाले समानुपातिक भने उल्लेख्य मत पाएको देखिन्छ ।
समानुपातिकतर्फको मतको आधारमा जिल्लागत नतिजा हेर्दा नेपाली कांग्रेस तीनवटा जिल्लामा पहिलो भएको छ । नेपाली कम्युनिष्ट पार्टी पनि तीनवटा जिल्लामा पहिलो भएको छ । उसले प्रत्यक्षतर्फ चारवटा क्षेत्रमा जित हात पारेको छ । समानुपातिक मतमा रास्वपा दुईवटा जिल्लामा पहिलो भएको छ । प्रत्यक्षतर्फ भने उसले एउटा क्षेत्र मात्रै जितेको छ । एमाले दुईवटा जिल्लामा समानुपातिकतर्फ पहिलो भएको छ । उसले प्रत्यक्षमा पनि प्रदेशभरबाट एउटा क्षेत्र जितेको छ । यो नै आजको जनादेश हो । निर्वाचनमार्फत नागरिकले दलहरूलाई दिएको विश्वास हो । प्रत्यक्ष र समानुपातिक दुवैको तर्फको नतिजाले कर्णालीमा कांग्रेस धेरैको रोजाइमा रहेको देखियो भने अन्य पार्टीहरूप्रति जनविश्वास घट्दोक्रममा रहेको पाइएको छ ।
प्रकाशित मितिः २७ फाल्गुन २०८२, बुधबार ०५:०३
सम्पादकीय ।