कहिले बन्छ नयाँ सरकार ?
सुर्खेत: प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । सोमवार राति यो समाचार तयार पार्दासम्म समानूपातिकतर्फ पनि ९० प्रतिशत मतगणना सकिएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको गणना सकिएपछि निर्वाचन आयोगले एक साताभित्रै अन्तिम नतिजा सार्वजनिक गर्नेछ । प्रतिवेदन तयार पारेर राष्ट्रपतिलाई बुझाउने छ । त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।
प्रत्यक्षतर्फको एउटा क्षेत्र धनुषा–१ मा विवादका कारण नतिजा सार्वजनिक गरिएको छैन । अर्को एउटा क्षेत्रको मतगणना यो समाचार तयार पार्दासम्म चलिरहेको छ । समानुपातिकतर्फ मतगणना सम्पन्न गर्न अझै एक÷दुई दिन लाग्ने देखिएको छ । निर्वाचन आयोगका अनुसार अझै दश लाख बढी मत गन्न बाँकी छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रत्यक्षतर्फ मतगणना सकिएको ठाँउमा प्राथमिकताका साथ समानुपातिक मत गन्ने काम भइरहेको छ ।
बुधवारसम्ममा समानुपातिकको मतगणना सकिएपछि निर्वाचन आयोगले समानुपातिक प्रणालीको सिट बाँडफाँट गर्ने भएको छ । त्यसपछि उसले दलहरूलाई बन्दसूचीमा भएकामध्ये निर्वाचित उम्मेदवारहरूको नाम छनोट गर्न दुई÷तीन दिनको समय दिनसक्छ । आगामी शुक्रवारसम्म राजनीतिक दलहरूबाट निर्वाचित समानुपातिक सांसदहरूको सूची आउनसक्ने बताइएको छ । त्यसो हुँदा निर्वाचन आयोगका कर्मचारीहरुलाई प्रत्यक्ष र समानुपातिकको नतिजा संकलन गरी ‘निर्वाचनको अन्तिम परिणाम’ घोषणा गर्न करिब दुई÷तीन दिन लाग्छ ।
आयोगले ‘निर्वाचनको अन्तिम परिणाम’ प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ । त्यो प्रतिवेदन पाएपछि राष्ट्रपतिले औपचारिक रूपमा निर्वाचनको नतिजा थाहा पाएको मानिनेछ । संविधानको धारा ७६ (१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ’ भन्ने व्यवस्था छ । त्यो व्यवस्थाअनुसार, रास्वपाले चयन गर्ने संसदीय दलको नेता प्रधानमन्त्री बन्नेछन् । रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरी निर्वाचनमा होमिएको थियो ।
राष्ट्रपतिलाई निर्वाचन अन्तिम परिणाम प्रतिवेदन पेस भएपछि संसदीय दलको नेता चयन गरी रास्वपाले उनलाई प्रधानमन्त्री नियुक्त गर्न पत्र पठाउनेछ । त्यसका आधारमा प्रधानमन्त्री नियुक्त हुनेछन्, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली त्यसैगरी प्रधानमन्त्री बनेका थिए ।
नेपालको संविधान २०७२ मा बहुमत प्राप्त दलको प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पाउने व्यवस्था छैन । तर, दुई वा त्यो भन्दा बढी दल मिलेर सरकार बनेमा ठूलो दलको अल्पमतको सरकार बनेमा वा धारा ७६ (५) अनुसारको सरकार बनेमा एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।
निर्वाचन आयोगका प्रतिनिधिहरूका अनुसार अबको एक साताभित्र राष्ट्रपतिसमक्ष अन्तिम निर्वाचन परिणाम प्रतिवेदन बुझाउने तयारी छ । अन्तिम निर्वाचन नतिजा पेस भएलगत्तै सार्वजनिक हुने दुई सय ७५ जना सांसदहरूको सूचीबाट ज्येष्ठ सदस्यको टुँगो लाग्नेछ र उनले शपथको प्रक्रिया थाल्नेछन् । त्यसपछि रास्वपाको संसदीय दलको बैठकले राष्ट्रपतिलाई प्रधानमन्त्रीको सिफारिस गर्ने बाटो खुल्नेछ ।
निर्वाचन आयोग, संघीय संसद् अनि राष्ट्रपति कार्यालयका पदाधिकारीहरूका अनुसार, ढिलोमा पनि आगामी हप्ता (६ चैत) सम्ममा नयाँ प्रधानमन्त्री नियुक्ति हुने टुँगो लाग्नेछ, त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा अरू मन्त्रीहरू चयन भइ मन्त्रीमण्डल गठन हुनेछ ।
प्रकाशित मितिः २६ फाल्गुन २०८२, मंगलवार १०:१२
साझा बिसौनी ।