अनमीको भरमा स्वास्थ्यचौकी

सुर्खेत, १७ जेठ ।
गत वैशाख १८ गते बिहानै उनलाई सुत्केरी व्यथाले च्याप्यो । आफन्तले उनलाई हतार–हतार नजिकैकोे स्थास्थ्यचौकीमा लगे । तर स्वास्थ्यचौकीमा पुग्दा डाक्टर भेटिएनन् । स्वास्थ्यचौकीमा सुत्केरी गराउन सम्भव नभएपछि उनलाई डोकोमा बोकेरै सालकोटस्थित पलैंटेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइयो ।
गाउँमै रहेको स्वास्थ्यचौकीमा डाक्टर नहुँदा छाप्रेकी मेनुका बिसीले सुत्केरी हुने बेलामा निकै सास्ती भोग्नु प¥यो । गाउँमा न एम्बुलेन्सको सुविधा छ । न त बिरामी बोक्ने स्टेचर नै । बोकेर सालकोट पु¥याएपछि मेनुकाले छोरी जन्माइन् । गाउँमा डाक्टर नहुँदा यहाँका बिरामीले हैरानी व्यहोर्नु परेको हो । विशेषगरी गर्भवती त सुत्केरी महिलाहरूलाई उपचारमा कठिनाइ हुने गरेको छ । गाउँदेखि टाढाका स्वास्थ्य संस्थामा लैजान यातायात नहुँदा डोकोमा राखेर बोक्नुपर्ने बाध्यता रहेको छ ।
दुर्गममा भएका कारण यो स्थानमा डाक्टर बस्न मान्दैनन् । एक जना अनमीको भरमा चलेको स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नहुँदा ६ घण्टाको पैदल बाटोमा बिरामीलाई बोक्नुपर्ने बाध्यता छ । यहाँका बिरामीलाई सालकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रसम्म बोकेर पु¥याउनुपर्ने अवस्था छ । सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि उपचार नपाउँदा गर्भवती महिलाहरूको ज्यान नै जोखिममा जाने खतरा बढ्दै गएको छ । ‘महिलाको लागि सन्तान जन्माउनु नयाँ जीवन पाए जस्तै हो, एक मनले त हार खाइ सकेको थिएँ,’ मेनुकाले भनिन्, ‘समयमा नै गाउँलेले पलैंटे पु¥याइ दिएर म बाँचे ।’ मेनुका सहज रूपमै सुत्केरी भए पनि उनको छोरीमा भने श्वासप्रश्वास सम्बन्धी समस्या देखियो । सुत्केरी भए लगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि तत्कालै उनलाई छोरीको उपचारका लागि वीरेनद्रनगर आउनुप¥यो ।
सुत्केरी हुने बेलामा मेनुकाले पाएको दुःख देखेर अहिले छाप्रेका अधिकांश महिलाहरू आफ्नो अवस्था के हुने हो ? भन्ने चिन्तामा छन् । दुई वर्षअघि गाउँकै स्वास्थ्यचौकीमा सुरक्षित रूपमा सुत्केरी भएकी चन्द्रा बिसी यसपटक पनि गर्भवती छिन् । पहिलोपटक सुत्केरी गराउँदा डाक्टरहरू भएकाले सुरक्षित रूपमा उनले बच्चा जन्माएका थिए । यसपटक भने गाउँमा डाक्टर छैनन् । उनलाई पनि सुत्केरी हुने बेलामा कसरी स्वास्थ्य संस्थामा पुग्ने भन्ने चिन्ताले पिरोलेको छ । ‘गाउँको स्वास्थ्यचौकीमा जाँदा ज्वरो त निको हुँदैन, राम्रोसँग औषधि दिने डाक्टर नै छैनन्’ चन्द्राले भने, ‘मेरो सुत्केरी हुने अवधि आउँदैछ, घरमा हुँदा जोखिम छ । गाउँमा डाक्टर छैनन्, बाहिर जानलाई पैदल हिँड्नुपर्ने
बाध्यता छ ।’ यतिबेला उनलाई छिमेकी गाउँमा रहेको अस्पतालसम्म कसरी पुग्ने भन्ने चिन्ता छ ।
स्वास्थ्यचौकीमा डाक्टर नहुँदा अहिले छाप्रेका गर्भवती महिलाहरूले सुरक्षित रूपमा कसरी सुत्केरी हुने भन्ने चिन्तामा छन् । ‘पहिलो सन्तान जन्माउँदा स्वास्थ्यचौकीमा डाक्टर थिए, अहिले त डाक्टर नै छैनन् । अनमी पनि नयाँ हुन्, त्यसैले मलाई त डर लागेको छ,’ चन्द्राले भनिन् । छाप्रेमा रहेको स्वास्थ्यचौकी एक वर्षदेखि अनमीको भरमा चलेको छ । स्थानीयका अनुसार विकट भएका कारण छाप्रेमा डाक्टर जानै मान्दैनन् । सुत्केरी गराउन छाप्रेदेखि ७ घण्टासम्मको पैलद यात्रा गरेर बावियाचौर र सालकोट पुग्नुपर्ने बाध्यता छाप्रेबासीको छ । गर्भवती महिलालाई सुत्केरी गराउने र सुत्केरी महिलाको उपचारमा निकै कठिनाइ भइरहेको छ ।
यस्तै सरकारले स्वास्थ्यचौकीमा निःशुल्क घोषणा गरेका औषधिसमेत आफूहरूले नपाएको स्थानीयको गुनासो छ । स्वास्थ्यचौकीमा डाक्टर आउनै नमान्ने र आए पनि एक महिनामा नै सुगम स्थानमा सरुवा मिलाएर जाने भएकाले आफूहरू समस्यामा परेको उनीहरू बताउँछन् । छाप्रेमा रहेको स्वास्थ्यचौकीमा अहिले अहेव दुई जना, एचए एक जना र अनमी दुई जना गरी पाँच जनाको दरबन्दी छ । तर विगत एक वर्षदेखि एक जना अनमीको भरमा यो स्वास्थ्यचौकी चलेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी बसन्तमान श्रेष्ठले भने पहिला लोकसेवाबाट आएका अहेवको सरुवा भएको र लोकसेवाले नयाँ कर्मचारी नपठाएकाले समस्या भएको बताए ।