एकैदिन दुई बैंक उद्घाटन

सुर्खेत, १७ जेठ ।
सुर्खेतमा एकैदिन दुई वटा वैंकको उद्घाटन भएको छ । ज्योति विकास बैंक र सिद्धार्थ विकास बैंकको मंगलवार छुट्टाछुट्टै कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । ज्योति विकास बैंकले सुर्खेतमा आफ्नो ३३ औं शाखाका रूपमा स्थापना गरेको छ ।
ज्योति विकास बैंक लिमिटेड ‘ख’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । बैंकले चल्ती खाता, बचत खाता, मुद्दति खाता, कल खातामा लगायतका सेवा दिने गरेको छ । एटीएम कार्ड सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, निकट भविष्यमै लकर सेवा पनि सञ्चालनमा आउने ज्योति विकास बैंकका मध्य तथा सुदूरपश्चिमका क्षेत्रीय प्रबन्धक मदनबहादुर केसीले जानकारी दिए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक जगदिश्वरप्रसाद अधिकारी, ज्योति विकास बैंक सुर्खेत शाखाका प्रबन्धक मदनबहादुर केसी लगायतको सहभागिता रहेको उद्घाटन कार्यक्रमको सहजीकरण पत्रकार सिर्जना बिसीले गरेकी थिइन् ।
यस्तै बुधवार नै सिद्धार्थ विकास बैंकको सुर्खेत शाखा पनि उद्घाटन गरिएको छ । बैंकका सञ्चालक हेमन्त ज्ञवालीले शाखाको उद्घाटन गरेका हुन् । गत चैत्र ३० गतेदेखि नै वीरेन्द्रनगरबाट सेवा आरम्भ गरिसकेको बैंकको औपचारिक उद्घाटन भने बुधवार गरिएको हो । बैंकले उत्पादनमूलक क्षेत्रमा लागनी गर्ने लक्ष्य राखेको बैंकका क्षेत्रीय प्रबन्धक पदम ठकुल्लाले जानकारी दिए ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७४, बिहीबार १८:१४