‘फोहोर व्यवस्थापन पहिलो प्राथमिकता’

मोतिप्रसाद कँडेल अध्यक्ष/वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–६

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ नगरपालिकाकै केन्द्र हो । अधिकांश बजार क्षेत्र समेटिएको यस वडालाई वीरेन्द्रनगरको मुटुका रूपमा लिइन्छ । त्यति मात्र होइन वडा नम्बर ६ ले समग्र वीरेन्द्रनगरको अनुहार बताउँछ । त्यसकारण पनि वडा नम्बर ६ नगरपालिकाको प्राथमिकताभित्र पर्नुपर्ने क्षेत्रको रूपमा लिइन्छ । अव्यवस्थित बसोबास, फोहोर व्यवस्थापन नहुनु, ढल निकासको उचित प्रबन्ध नहुनु, खानेपानीको अभाव लगायत यहाँ थुप्रै समस्या विद्यमान छन् । ती सबै समस्या समाधानको दायित्व अब स्थानीय तहको हो । स्थानीय तहले जनप्रतिनिधि पाइसकेपछि वीरेन्द्रनगर नगरपालिका र विशेष गरी वडा नम्बर ६ कस्तो बन्छ भन्ने चासो सबैतिर छ । वैशाख ३१ गतेको निर्वाचनबाट वीरेन्द्रनगर–६ को वडा अध्यक्षमा मोतिप्रसाद कँडेल निर्वाचित भएका छन् । उनले आफ्नो वडाका लागि कस्ता योजना बनाएर कार्यान्वयन गर्न सक्दछन् यसको विकास र सुन्दरता त्यसैमा निर्भर हुन्छ । त्यसैले हाम्रा सहकर्मी गीता थापाले वीरेन्द्रनगर–६ का नवनिर्वाचित वडा अध्यक्ष कँडेलसँग यसै सन्दर्भमा रहेर कुराकानी गरेकी छिन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः

वीरेन्द्रनगरको मुटुको रूपमा रहेको वडा नम्बर ६ को वडा अध्यक्षमा निर्वाचित हुनुभयो, कस्तो लागिरहेको छ ?
अनौठो त लागेको छैन । म सामाजिक काममा निरन्तर लागि रहेको मान्छे चुनावमा जित्दा कुनै अनौठो लाग्ने कुरा पनि होइन । वडाबासीहरूको लागि मैले निरन्तर रूपमा काम गरिरहेको छु । जनताको समस्या बुझेर समाधानका लागि सधैं पहल गरिरहेको यो अवस्थामा मलाई वडाबासीहरूले विश्वास गरेर जिताउनुभयो त्यो ठूलो कुरा हो । चुनाव जिते भनेर मलाई अनौठो भने केही लागेको छैन । खुशी छु, जनताले विश्वास गरे ।
मत माग्न जाँदा तपाईंले गरेका प्रतिबद्धताहरू सम्झना छन् ?
हाम्रो पार्टीको घोषणापत्र नगरस्तरबाट बनाइएको थियो । वडास्तरको घोषणापत्र बनाएका थिएनौं । भोट माग्न त गएँ तर, मैले जनतालाई यो गर्छु त्यो गर्छु भनेर प्रतिबद्धता भने जनाइन । मैले पहिले पनि जनताको भावना बुझेर जनताका समस्यालाई समाधान गर्दै आइरहेकोले पनि मलाई जनताले विश्वास गरेर जिताउनुभयो । समाजमा काम गर्ने व्यक्तिले जनताको सामु पूरा गर्न नसकिने प्रतिबद्धता गरेर के काम म गर्न नसकिने कामको प्रतिबद्धता होइन काम गरेर देखाउने भएकाले जनताले मलाई विश्वास गर्नुभएको हो । त्यसैले वडास्तरको कुनै प्रतिबद्धता मैले गरेको छैन, जनताको समस्या बुझेर उहाँहरूको भावना अनुसार काम गरेर देखाउने छु ।
यो वडाका बासिन्दाले अबको तीन महिनाभित्र नयाँ के अनुभूति गर्न पाउलान् ?
मलाई वडाबासीहरूले काम गर्नसक्ने व्यक्ति भनेर विश्वास गरेर निवार्चित गराउनु भएको छ । पहिला तीन महिना भित्रै तीन तहको निवार्चन सकिएपछि वडा अध्यक्षले के र कस्तो काम गर्ने भन्ने कार्यविधि आएपछि मात्र हामीले काम अगाडि बढाउने हो । जनताको विश्वास टुट्न नदिनको लागि वडामा दुव्र्यसनी न्यूनीकरण र फोहोर व्यवस्थापनको कामलाई तीव्र गतिमा अगाडि लैजाने योजना रहेको छ । त्यसका लागि हामीले काम थालनी समेत गरिसकेका छौं । जनताले नयाँ कामको अनुभूति हुने गरी आजैबाट दुव्यर्सनी न्यूनीकरण र फोहोर व्यवस्थापनका लागि हामीले वडाको १५ टोल विकासका अध्यक्षहरूलाई सहभागी गराइ विभिन्न अभियान सञ्चालन गर्नेछौं ।


यो वडाका प्रमुख समस्याहरू के हुन् ?
वडाको प्रमुख समस्या भनेको त यहाँको फोहोर व्यवस्थापन हुन नसक्नु नै हो । ढल व्यवस्थापन हुन नसक्नु, खानेपानीको समस्याहरू नै हुन् ।
ती समस्या कहिले सम्म समाधान हुन्छन् ?
पहिला त फोहोर व्यवस्थापन गर्नका लागि ढलको व्यवस्थापन गर्न जरुरी छ । त्यसका लागि हामीले सडक डिभिजन कार्यालय र वडा नम्बर ३, ६, ९ र १० सँग सहकार्य र छलफल भइरहेको छ । अबको केही महिनापछि नै हामी ढल व्यवस्थापन गर्नेछौं ।
फोहोर व्यवस्थापनका लागि कस्तो योजना बनाउनुभएको छ ?
पक्कै पनि, वडाको मात्र नभइ जिल्लाकै समस्या हो फोहोर व्यवस्थापन गर्न नसक्नु । दिनहुँ बजार सरसफाइ गरे पनि पानी पर्दा आउने ढलले फेरि फोहोर थुपारिहाल्ने भएकाले फोहोर व्यवस्थापनका लागि ढलको व्यवस्थापन गर्न जरुरी छ । अर्काे कुरा फोरलेन सडक निर्माण गर्ने काम भइरहेको अवस्थामा सडक डिभिजन कार्यालयले नीति र नियम अनुसार सडक निर्माण नगर्दा ढल जथाभावी बग्ने भएकाले पनि फोहोर धेरै भइरहेको छ । त्यसैले जतिसक्दो छिटो ढल व्यवस्थापन गर्ने योजनामा छौं ।
तपाईंको पाँच वर्षे कार्यकालमा वडा नम्बर ६ लाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
अहिले नै मैले पाँच वर्षमा यो वा त्यो योजना बनाएर काम गर्छु भन्ने अधिकार पाइसकेका छैन । अन्य प्रदेशको चुनाव सम्पन्न भएको छैन । राज्यले वडा अध्यक्षले गर्ने कामको बाँडफाँड ग¥यो भने मात्र पाँच वर्षे कार्ययोजना बनाएर काम गर्न सुरु हुन्छ । अधिकार नपाएको कामको अहिले नै म यो र त्यो काम गर्छु भनेर परिकल्पना गर्ने अवस्था छैन । भौतिक संरचना निर्माणका लागि क्षेत्राधिकार पाउनुपर्छ । त्यसका लागि राज्यले अधिकार दिएपछि मात्र सम्भव छ । अर्काे चुनौती भनेको प्रदेश नम्बर ६ को मुटुको रूपमा रहेको वडा नम्बर ६ लाई अन्य वडाहरू भन्दा अलि बढी नै बजेट छुट्याइनुपर्छ । राज्यले समग्र जिल्लाका लागि ६० करोड मात्र बजेट छुट्याएको छ । तर, कुन वडामा कति भनेर छुट्याएको छैन । त्यसैले पनि काम गर्न सहज छैन ।
खानेपानीको समस्या पनि उस्तै छ, कसरी समाधान गर्नुहुन्छ ?
यो त एकदमै ठूलो समस्या हो । वडाको मात्र नभएर समग्र जिल्लाकै समस्या हो । मैले अधिकार वडा नम्बर ६ को मात्र पाएकाले वडा नम्बर ६ मा खानेपानीको समस्या समाधानका लागि आर्थिक स्रोत जुटाउन सकेमा टोल–टोलमा बोरिङ खनेर पानी निकाली खानेपानीको समस्यालाई समाधान गर्नेछु ।
यदि आफूले गरेको प्रतिबद्धता पूरा गर्न सक्नुभएन भने ?
जनताले मलाई यति धेरै विश्वास गर्नुभएको छ । मैले भोट माग्न जाँदा जनतासँग यो र त्यो काम गरिदिन्छु मलाई भोट दिनुस् भनेर त भनिन तर, जनताको हरेक समस्यालाई बुझेर त्यसको समाधान भने पहिला पनि गर्दै आएको हो र आगामी दिनहरूमा पनि जनताको समस्या समाधानका लागि हर बखत म तयार छु । जनताको विश्वास टुट्न दिने छैन । हातका पाँच औंला मध्येको म बुढी औंला हो अरु चार औंला जनता ती चार औंलालाई सहायता दिने काम बुढी औंलाले गरे जस्तै म पनि जनताको एउटा माध्यम हो काम त जनताको सहकार्यमा नै हुन्छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा वडाबासीले मलाई विश्वास गरेर भोट दिने र नदिने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । मलाई जनताले गरेको त्यो विश्वासलाई टुट्न दिनेछैन । अबको पाँच वर्षभित्रमा वडाको लागि राम्रो काम गरेर देखाउने छु । चुनावी मैदानमा उत्रिनु भएका मेरा प्रतिपक्ष साथीहरूलाई पनि म सधै आफूसँग सहकार्य गरेर सँगसँगै अगाडि लैजाने छु । उहाँहरूको सल्लाह र सुझाव अनुसार नै काम गर्ने छु । म वडा बासीहरूको लागि काम गर्ने छु कुनै पार्टी हेर्ने छैन भन्न चाहन्छु ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७४, बिहीबार १८:११