कर्णालीमा दलीय हैसियत

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट कर्णाली प्रदेशमा नेपाली कांग्रेस प्रमुख राजनीतिक शक्तिका रूपमा अनुमोदित भएको छ । प्रत्यक्षतर्फ प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै पाँच वटा क्षेत्र कांग्रेसले जितेको छ । नेपाली कम्युनिष्ट पार्टीले चार वटा क्षेत्रमा जित निकाल्दा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक÷एक क्षेत्र जितेका छन् । नेकपाले आफूलाई कांग्रेस सँगसँगै मुख्य प्रतिस्पर्धी शक्तिकै रूपमा उभ्याउँदा एमाले भने कमजोर देखिएको छ । अघिल्लो चुनावबाट कर्णालीमा आफ्नो बलियो उपस्थिति देखाएको राप्राले यसपटक पनि त्यसलाई कायम राख्न सफल भएको छ । यो चुनावबाट रास्वपाले पनि उदाएको छ ।

यसपटक चुनावी गठबन्धन भएन । सबै दल एक्ला एक्लै लडेका थिए । जसको फाइदा कांग्रेसलाई भएको छ । अघिल्लो पटक गठबन्धन गर्दा पनि चार सिट जितेको कांग्रेसले यसपटक एक्लै लडेर पाँच वटामा जित हात पार्न सफल भयो । कांग्रेसले सुर्खेत–१, दैलेख–१, जाजरकोट, मुगु र हुम्लामा जिति निकाल्यो । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पनि राम्रै प्रभाव छ । फागुन २१ गतेको निर्वाचनको नतिजाले पनि कर्णालीमा नेकपालाई प्रमुख राजनीतिक शक्तिकै रूपमा अनुमोदन गरेको छ । चार वटा क्षेत्र जितेर नेकपा कांग्रेसपछिको दोस्रो ठूलो दल बनेको छ । २०७९ मा भने नेकपा (अर्थात् तत्कालीन माओवादी र समाजवादी) ले कर्णालीबाट सात वटा क्षेत्र जितेको थियो । कांग्रेससँगको गठबन्धनको बलमा माओवादीले चार र समाजवादीले तीन सिट जितेका थियो । तर यसपटक दुवै दल मिलेर एउटा पार्टी बनाउँदा भने त्यो सात सिट जोगाउन सकेन । तीन सिट गुमाएर चारमा सीमित हुन पुग्यो । उसले कालीकोट, सल्यान, डोल्पा र रूकुमपश्चिममा जित हात पार्‍यो ।

नेकपा (एमाले) का लागि भने फागुन २१ को चुनाव सम्झनलायक रहेन । त्यसो त एमालेले २०७९ मा पनि कर्णालीका १२ वटै क्षेत्रमा हार बेहोरेको थियो । कांग्रेस–माओवादी र समाजवादीसहितको गठबन्धनविरुद्ध लड्दा नतिजाविहीन हुनु परेको थियो । यसपटक प्रदेशका १२ मध्ये एउटामा मात्रै जित हात पा¥यो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०७९ मा एक सिट जित्दै कर्णालीमा आफ्नो उपस्थिति देखाएको थियो । यसपटक पनि त्यो नतिजालाई कायम राख्न सफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एउटा क्षेत्र जितेर कर्णालीबाट प्रतिनिधिसभामा आफ्नो सहभागिता सुनिश्चित गरेको छ । यो चुनावमा यिनै पाँच दललाई कर्णालीका प्रमुख राजनीतिक शक्तिको रूपमा उभ्याएको छ ।

प्रकाशित मितिः   २६ फाल्गुन २०८२, मंगलवार ०५:०३