‘नाकाबन्दी छिट्टै खुल्छ’

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ पुस । 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ढाल्ने सपना नदेख्न चेतावनी दिएका छन् । मुलुक नै सङ्कटमा परेको बेला केही तŒवहरूलाई सरकार ढाल्ने सपना देखेको भन्दै उनले कुनै पनि हालतमा वर्तमान सरकार नढल्ने स्पष्ट पारे ।  
प्रदेश नम्बर ६ अन्तर्गतका पार्टी कार्यकर्ताहरूलाई प्रशिक्षण दिन सुर्खेत आएका प्रचण्डले बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको पत्रकार सम्मेलनमा केपी ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भए पनि सरकार नै ढाल्नुपर्ने अवस्था नआएको जिकिर गरे । मधेस आन्दोलन, भूकम्प र भारतीय नाकाबन्दीका कारण मुलुक नै गम्भीर सङ्कटमा फसेको अवस्थामा सरकार बनाउने र गिराउने खेलमा कोही पनि लाग्न नहुने उनको भनाइ छ । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसवादी दलहरूको सहभागितामा राष्ट्रिय सरकार आवश्यक रहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘मुलुक अहिले इतिहासकै गम्भीर सङ्कटमा छ, देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ । यस्तो अवस्थामा सरकार बनाउने र ढाल्ने खेलमा नलागौं, यदि कसैले सरकार ढाल्ने सपना देखेको छ भने त्यो मिथ्या सावित हुनेछ ।’ आफू काठमाडौं पुगेर प्रधानमन्त्री ओलीसँग सरकारलाई थप गति प्रदान गर्ने विषयमा छलफल गर्ने जानकारी दिदैं उनले सरकारमा सहभागी हुन कांग्रेस र मधेस केन्द्रित दलहरूलाई समेत आग्रह गरिने जानकारी दिए । वर्तमान सरकारको आयु कति हुने भन्ने विषयमा बहस गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ । 
आफ्नो पार्टीको मुख्य एजेण्डा मुलुकलाई निकास दिने भएको बताउँदै प्रचण्डले सरकार ढाल्ने नभइ थप बलियो बनाउनेतर्फ आफूहरू लागिरहेको बताए । उनले थपे, ‘सरकार बदल्ने पार्टीको कुनै एजेण्डा छैन, बरु कांग्रेस र मधेसवादी दलहरूलाई सरकारमा सहभागी गराउनका लागि हामीले पहल गरी रहेका छौं ।’ पूर्व प्रधानमन्त्री समेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले संसदबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव पारित हुने वित्तिकै नाकाबन्दी खुल्ने समेत दावी गरे । उनले भने, ‘नाकाबन्दीको बारेमा अब धेरै पीर नगरौं, पहिला संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पारित गरौं । त्यसको केही मिनेटमा नै अहिलेको नाकाबन्दी हट्छ ।’ 
पार्टीका शीर्ष नेताहरूसहित कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आएका प्रचण्डले कार्यकर्ताहरूलाई नयाँ शक्तिको नाममा छरिएको भ्रमका कारण हतास नहुन समेत आग्रह गरेका छन् । बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति अभियानको कुनै अर्थ नभएको भन्दै प्रचण्डले कार्यकर्ताहरूलाई पार्टी निर्माणमा जुट्न निर्देशन दिए । भेरी र कर्णाली अञ्चलका अगुवा कार्यकर्ताहरू सहभागी भएको भेलामा प्रचण्डले भने, ‘तपाईंहरू कसैको भ्रममा नफस्नुस्, यो क्षेत्र युद्धमा पनि हाम्रो आधार इलाका हो । यस क्षेत्रमा रहेको पार्टीको साख जोगाउनेतर्फ लाग्नुहोस्, दुई वर्षभित्र एमाओवादी देशको पहिलो पार्टी बन्नेछ ।’ एमालेसँगको सत्ता गठबन्धनलाई निरन्तरता दिइने भन्दै उनले अब हुने स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य गरेर अघि बढ्ने समेत जनाए । पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिएको उक्त भेलामा सहभागी माओवादीका जिल्ला नेताहरूले सबै माओवादीहरूको एकता हुनुपर्नेमा जोड दिएका छन् । साथै उनीहरूले नेतृत्वलाई एकताका लागि पहल थाल्न समेत दबाब दिए । पार्टी नेतृत्व सहरमुखी बनेको भन्दै कार्यकर्ताहरूले ग्रामीण जनताको भावनालाई आत्मसात् नगरे माओवादी लोप हुने समेत चेतावनी दिए । कार्यकर्ताहरूलाई सान्त्वना दिँदै माओवादी नेताहरूले अब चाँडै सबै माओवादीबीच एकता हुने आश्वासन दिएका छन् ।
प्रकाशित मितिः   ३० पुष २०७२, बिहीबार ११:३४