कर्णालीको चुनावी नतिजा
सुर्खेत: कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा(एमाले) र नेपाली कम्युनिष्ट पार्टी परम्परागत प्रतिस्पर्धीका रूपमा थिए । यसअघिका निर्वाचनमा यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो । तर फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि जित निकालेर पुराना दलहरूलाई धक्का दिएका छन् ।
त्यसो त राप्रपाले अघिल्लो पटक पनि चुनाव जितेको थियो । जुम्लाबाट ज्ञानबहादुर शाही निर्वाचित भएका थिए । उनले यसपटक पनि जित हात पारेका छन् । राप्रपासँगै यो चुनावबाट कर्णालीमा रास्वपाको पनि उदय भएको छ । सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट रास्वपाका रमेशकुमार सापकोटा निर्वाचित भएका छन् ।
शनिवार राति यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाका लागि कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमध्ये सात वटाको मतगणना सकिएको छ । सातमध्ये तीन वटामा नेपाली कांग्रेसले जित हात पारेको छ । एमाले, नेकपा, राप्रपा र रास्वपाले भने एक÷एक वटा क्षेत्रमा जित निकालेका छन् ।
मतगणना भइरहेका पाँचमध्ये सल्यान, रूकुम–पश्चिम र डोल्पामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । हुम्लामा कांग्रेसले अग्रता बनाउँदा शनिवार ढिलो मतगणना सुरु भएको मुगुको प्रारम्भिक नतिजामा एमालेले अग्रता बनाएको छ ।
पहिलो पटकमै विष्णुको जित

सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन् । उनले नेकपा (एमाले) का ध्रुवकुमार शाहीलाई पराजित गरे ।
खड्काले २६ हजार आठ सय ९७ मत पाएर चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार आठ सय ९० मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार सात सय २९ मतसहित तेस्रो भएका छन् । पाँचौं भएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार जितबहादुर रानाले दुई हजार आठ सय २८ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठुकरीले एक हजार ४९ मत प्राप्त गरेका छन् ।
पहिलो पटक संसदीय चुनाव लडेका विष्णुले पहिलो प्रतिस्पर्धामै जित हात पारेका हुन् । यो जितसँगै खड्काले उनकै दाजु पूर्णबहादुर खड्काको विजयी विरासतलाई पनि जोगाएका छन् । अघिल्लो पटक यो क्षेत्रबाट दाई पूर्णबहादुर निर्वाचित भएका थिए । यसपटक उनी उम्मेदवार भएनन् ।
पार्टीका निवर्तमान केन्द्रीय उपसभापति रहेका खड्का उम्मेदवार नहुने भएपछि कांग्रेसले जिल्ला उपसभापति रहेका उनकै सहोदर भाइ विष्णुलाई उठाएको थियो । उनले जित हात पारेर संसद्को यात्रा सुरु गरेका छन् ।
रमेशले बजाए घण्टी

अन्य प्रदेशको तुलनामा कमजोर देखिएको कर्णाली प्रदेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हात पारेको छ । सुर्खेतको क्षेत्र नं. २ बाट रास्वपा उम्मेदवार रमेशकुमार सापकोटा निर्वाचित भएका छन् ।
उनले ३० हजार आठ सय ४२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइरालाले १६ हजार तीन सय ७८ मत प्राप्त गरे । एमालेका कुलमणी देवकोटाले ११ हजार पाँच सय ११ मत पाए । नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले चार हजार एक सय ६६ मत पाएका छन् ।
विगतमा यो क्षेत्रमा प्रभावशाली मानिने नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै सापकोटाले जित हात पारेका हुन् । यातायात व्यवसायी सापकोटा कांग्रेसबाट रास्वपा प्रवेश गरेका थिए । कांग्रेसमा छँदा वीरेन्द्रनगर नगर कार्यसमितिका सचिव थिए, अहिले रास्वपा सुर्खेतका जिल्ला सभापति छन् । उनी पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएका हुन् । पहिलो पटकमै जित निकाल्न सफल भएका छन् । सापकोटाको जितले सुर्खेत–२ मा कांग्रेस र एमालेलाई धक्का लागेको छ ।
महेन्द्रको चौथो जित

कालीकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । शनिवार मतगणना सम्पन्न हुँदा शाहीले ११ हजार तीन सय ३८ मत पाएर विजयी भएका हुन् ।
उनले एमालेका नगिन्द्र शाहीलाई नौ सय ८६ मतान्तरले पछि पार्दै विजयी भए । नगिन्द्रले १० हजार तीन सय ५२ मत पाए । कांग्रेसका हर्षबहादुर बमले सात हजार एक सय ३३ मत पाए । त्यस्तै नेकपा (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार पाँच सय ९९ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार नौ सय ३७ मत मात्रै पाए ।
शाही भने लगातार चौथो जित निकाल्न सफल भए । पहिलो पटक २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । त्यसपछि २०७४ मा प्रदेशसभा सदस्यमा जितेर कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बने । २०७९ मा पुनः प्रतिनिधिसभा सदस्यमा जित निकाले । यसपटक पनि सोही जितलाई निरन्तरता दिएका छन् ।
तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरेपछि चर्चित बनेका शाही संघीय सरकारको ऊर्जामन्त्री पनि भइसकेका छन् । यसपटक देशभर नै नेपाली कम्युनिष्ट पार्टीका निकै कम उम्मेदवार निर्वाचित हुने देखिएको छ । त्यसैले अबको संसद्मा उनको भूमिका थप महत्त्वपूर्ण हुने छ ।
दैलेखमा बासना र लक्ष्मी

प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका बासना थापा निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न मतगणनाअनुसार थापाले १२ हजार तीन सय ७२ मत प्राप्त गरेर जित हात पारेकी हुन् ।
थापाका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का रवीन्द्रराज शर्माले ११ हजार सात सय ९६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नन्दकिशोर बस्नेत रहे । उनले आठ हजार एक सय ५१ मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वसांसद अम्मरबहादुर थापाले चार हजार दुई सय ५६ मत पाएर चौथो स्थानमा रहे ।
यो क्षेत्रमा विगतदेखि नै कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको थियो । २०४८, २०५१ र २०६४ मा कांग्रेसले जितेको थियो । २०७० र २०७४ मा एमालेले जित हात पा¥यो भने २०७९ मा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले जितेको थियो । १८ वर्षपछि दैलेख–१ मा कांग्रेसले पुनरागमन गरेको छ ।
पछिल्ला दुईवटा निर्वाचनमा त कांग्रेसले यो क्षेत्रबाट उम्मेदवार नै उठाएको थिएन । २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सघाएको कांग्रेसले २०७९ मा एकीकृत समाजवादीलाई सहयोग ग¥यो । यसपटक भने आफ्नै उम्मेदवार उठाउँदा जित हात पारेको छ ।

कांग्रेसलाई जित दिलाएका बासना पहिलो पटक संसदीय चुनाव लडेकी हुन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखको नारायण नगरपालिका उपप्रमुखमा पराजित भएकी थिइन् । यसपटक प्रतिनिधिसभाको चुनाव जितेर संसदीय यात्रा तय गरेकी छिन् । व्यवसायदेखि सामाजिक सेवामा पनि सक्रिय उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।
यसैगरी दैलेखकै क्षेत्र नं. २ बाट नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । पोखरेलले १३ हजार आठ सय ८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार पाँच सय ५२ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार सात सय ९७ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीका योगेन्द्रबहादुर शाहीले तीन हजार आठ सय ५१ मत पाए ।
जाजरकोटमा खडक

लगातार तीनवटा चुनाव जितेका शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै जाजरकोटबाट नेपाली कांग्रेसका खडकबहादुर बुढा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुढाले कुल २० हजार एक सय ४२ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका बस्नेतले १७ हजार चार सय सात मत पाए । एमालेका डम्बरबहादुर सिंहले १६ हजार आठ सय ८३ मत प्राप्त गरेका छन् ।
यो नतिजाले जाजरकोटमा शक्ति बस्नेतको वर्चश्व तोडिएको छ । २०७०, २०७४ र २०७९ मा लगातार शक्तिले जितेका थिए । यसपटक पनि त्यसलाई निरन्तरता दिन सकेनन् । पार्टीभित्र प्रभावशाली मानिने र पटक–पटक महत्त्वपूर्ण मन्त्रीसमेत भइसकेका उनलाई मतदाताले अनुमोदन गरेनन् । २०६४ सालमा समानुपातिक सांसद बनेका बस्नेत त्यसयताका निर्वाचनमा लगातार निर्वाचित हुँदै आएका थिए ।
४० वर्षीय बुढा कांग्रेसनिकट विद्यार्थी संगठनबाट सक्रिय राजनीतिमा आएका थिए । २०७४ मा शिवालय गाउँपालिकाको अध्यक्षमा पराजित बनेका उनले यसपटक संघीय संसद्को टिकट पाए र चुनाव पनि जिते ।
दोहोरिए ज्ञानेन्द्र

हरेक चुनावमा नयाँ उम्मेदवार रोज्ने इतिहास बनाएको जुम्लाले पछिल्ला दुवै चुनावमा एकै व्यक्तिलाई जिताएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही विजयी भएका छन् ।
शाहीले १४ हजार आठ सय १६ मत प्राप्त गरेर जित्दा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीलाई तीन हजार एक सय ८१ मतान्तरले पराजित गरे । भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरे । कांग्रेसका दीपबहादुर शाहीले सात हजार एक सय ४३, एमालेका शान्तिलाल महतले चार हजार पाँच सय १८, रास्वपाकी विनिता कठायतले चार सय २१ मत पाइन् ।
२०७९ मा पनि जुम्लाबाट ज्ञानबहादुर शाही निर्वाचित भएका थिए । उनले लगातार दोस्रो पटक जित निकालेका छन् । पार्टीको सांगठनिक प्रभाव धेरै नभएपनि व्यक्तिगत लोकप्रियताको बलमा उनले चुनाव जित्दै आएका छन् ।
प्रकाशित मितिः २४ फाल्गुन २०८२, आईतवार १०:४९

साझा बिसौनी ।