वीरेन्द्रनगरको तस्वीर, समृद्धिका आधार

जीवनसँग पौठेजोरी खेल्ने क्रममा यतिबेला मेरो कार्यक्षेत्र सुदूरपश्चिम बन्न पुग्यो । यसक्रममा थुप्रै साथीहरूसँग परिचय हुन गयो । यहाँका थुप्रै साथीहरूले सोध्नुहुन्छ, ‘तपाईंको सुर्खेतमा हेर्न र घुम्न लायक पर्यटकीयस्थलहरू के–के छन् ?’ म उही पुरानै बनिबनाउ उत्तर दिन्छु, ‘देउतीबज्यै मन्दिर, काँक्रेविहार, बुलबुले ताल ।’ ‘त्यस्तो पनि ताल हुन्छ ?’ भनेर प्रतिप्रश्न गर्दा म अक्क न बक्क हुन्छु । आखिर पर्यटकहरूले हेर्न चाहेको बुलबुले ताल कस्तो हुनुपथ्र्यो त, त्यो बारेमा हामीले कहिल्यै सोच्न सकेनौं । अनि केहीले सोध्छन्, ‘रारा ताल कसरी जान सकिन्छ ?’ यसको उत्तर मसँग छैन किनभने त्यो बारेमा म नै अनभिज्ञ छु ।
अर्को प्रसंग, एक जना डोटीकै मित्रले भने, ‘तपाईंको सुर्खेत पुगेर आइयो, तर बाटो भने बिजोगै रै’छ ।’ हो, बाहिरबाट आउनेलाई झट्ट देखेका कुराहरूले निकै प्रभाव पार्ने गर्दछन् । नेपालगन्ज–सुर्खेतको त कुरै छोडौं, नगरभित्रकै मुख्य सडकहरू नै प्रायजसो खाल्डाखुल्डी हुन्छन्, असारमा हतार–हतार टालटुल पारिन्छ । टालटुल पारेको महिना दिन नपुग्दै फेरि पहिलेको भन्दा ठूलो खाल्डो बन्छ, के त्यसलाई अलि राम्रोसँग बनाउन सकिंदैन ? अर्को एकदमै मनमा खट्किरहने समस्या भनेको सुर्खेतमा फोहोर व्यवस्थापन हो । फोहोरबाट नै विजुली निकाल्न सकिने प्रविधिको विकास भइसकेको अवस्थामा के हामीले त्यसलाई अपनाउन सक्दैनौं ? अनि घरको फोहरबीच सडकमा ल्याएर फाल्ने हामी नगरबासीले पनि त्यसको जिम्मेवारी लिन पर्छ कि पर्दैन ? कतिसम्म हामी हाम्रो असभ्यताको परिचय दिइराख्ने ? घर, आँगन, बाटोघाटो सफा राख्नुपर्छ भन्ने हामी सबलाई थाहा छ, तर हामी ठीक उल्टो गर्छौं, यो अशिक्षाको कारणले होइन, विवेकहीन भएका कारणले हो ।
हामी सबैले जतिबेला पनि भन्ने गरेको यो पनि नेताले बिगा¥यो, ऊ पनि नेताले बिगा¥यो । के नेतालाई दोष लाउँदैमा नागरिक हुनुको कर्तव्य पूरा हुन्छ ? के यो देश नेताले मात्र बिगारेका हुन् त ? यहाँका अन्य पेशा व्यवसायमा संलग्न नागरिक हुन् वा सर्वसाधारण नागरिकको राज्यप्रति कुनै दायित्व छैन ? संसारमा विकसित भनिएका देशहरूमा नै नागरिकले राज्यलाई आफ्नो आम्दानीको ५० प्रतिशतसम्म कर तिर्ने गर्दछन् । कर तिर्नुमा गर्व महसुस गर्दछन् तर हामी भने राज्यले तोकेको सीमित कर पनि तिर्न आनाकानी गर्दै कर छलि गर्दछौं । राज्यको स्रोत साधन दुरूपयोग गरी आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्नुमा नै आफूलाई महान ठान्छौं । आफ्नै आँखा अगाडि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य आदिका पूर्वाधारहरू निर्माण क्रममा बद्मासी हुँदैछ, देख्दैछौं तर त्यसको खबरदारी गर्ने आवश्यकता महसुस गर्दैनौं । कर्मचारीहरू भ्रष्ट, घुसखोरी, कामचोर आदि इत्यादि भनेर गाली मात्र गरिरह्यौं तर उसले गरेको बदमासीविरुद्घ सम्बन्धित ठाउँमा उजुरी गर्ने जाँगर चलाएनौं । बरु त्यो झन्झट गर्नुको साटो हामी आफै टेबुलमुनीबाट चियापानी दिन पछि परेनौं । अनि सब अरुले बिगारे भनेर हुन्छ ? यसो भनिरहँदा सम्पूर्ण नागरिक उस्तै छन् भन्न खोजिएको होइन, केही व्यक्ति असल पनि छन् तर एकदमै नगन्य मात्र ।
वीरेन्द्रनगर लामो समयसम्म नेतृत्वविहीन भएको हुनाले पनि केही अस्तव्यस्तता आउनु स्वभाविकै हुनसक्छ । तर अब नगरले नेतृत्व पाइसकेको छ । वीरेन्द्रनगर ६ नम्बर प्रदेशको मुख्य केन्द्र भएको हुनाले पनि अरु जिल्ला÷नगरका लागि उदाहरणीय बन्नु जरुरी छ । मेरो विचारमा नगरको नयाँ नेतृत्वले तत्काल गर्नुपर्ने कार्यहरूमा सर्वप्रथम त स्वतन्त्र विज्ञहरूको टोली बनाइ नगरको गुरुयोजना तयार गर्नुपर्दछ । नगरको आधारभूत तथ्यांक संकलन गरी नगरको स्थितिपत्र (प्रोफाइल) तयार गरी आगामी पाँच वर्षमा खानेपानी, सिँचाइ, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युतमा पहुँच, प्रविधिमा पहुँच, सिमान्तकृत वर्गको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा पहुँच कुन कुन वर्षमा कहाँ–कहाँ पु¥याउने कार्ययोजना, हरेक वर्ष सम्पादन गरिएका कार्यको समीक्षा, दैवी प्रकोप पीडितहरूका लागि तत्काल राहत प्रदान गर्न एउटा छुट्टै दैवी उद्धार कोषको व्यवस्था, सहरभरी सुरक्षाको चुस्त व्यवस्थापन, स्वच्छ सहरका लागि प्लाष्टिक ब्याग प्रयोगमा तुरुन्त पूर्ण प्रतिबन्ध, सडकमा फोहोर फाल्नेलाई कडा कारबाही, बेरोजगार युवा लक्षित सीपमूलक तालिम, नगरभित्र सञ्चालित योजनाहरूको नियमित अनुगमन मूल्यांकन, महिनाको एक दिन सम्पूर्ण नगरबासीलाई सरसफाइ तथा निर्माण अभियानमा सहभागी गराइ सडक, अस्पताल, स्कुल, सामुदायिक भवन सरसफाइ तथा निर्माण कार्यमा सहभागी गराउने व्यवस्था मिलाउने जस्ता योजनाहरू बनाएर कार्यान्वयनमा जोड दिन जरुरी छ ।
केन्द्रीय सरकारबाट केही अनुदान प्राप्त भए पनि अब गाउँपालिका÷नगरपालिकाले विकासका कार्यहरू सञ्चालन गर्न आर्थिक र वित्तीय व्यवस्थापन पनि आफै गर्नु जरुरी हुनेछ । नियमित आउने आयस्रोत तथा करहरूमा मात्र वृद्धि गर्नुभन्दा पनि आम्दानीको नयाँ–नयाँ स्रोतहरू पहिल्याउनु बुद्धिमानी हुनसक्छ । गाउँ नगरको आयश्रोत वृद्धिका लागि अपनाउनुपर्ने केही रणनीतिहरूमा (१) उत्पादनमा वृद्धिः कृषि क्षेत्रको रूपान्तरण, पर्यटन, औद्योगिक एवं साना तथा मझौला व्यवसायको विस्तार (२) पूर्वाधार निर्माणः ऊर्जा, सडक, सूचना तथा सञ्चार (३) मानव विकासमा सुधारः सामाजिक विकास र सामाजिक सुरक्षा एवं सामाजिक संरक्षणमा जोड दिँदै मानव विकासमा उच्च तथा दिगो सुधार (४) सुशासन प्रवद्र्धनः आर्थिक, सामाजिक एवम् शासकीय सुधार, कुशल एवम् जवाफदेही सार्वजनिक बत्ती, स्वच्छ, पारदर्शी र जनमैत्री सार्वजनिक सेवा एवम् मानव अधिकारको संरक्षण र प्रबद्र्धन (५) प्रविधिको उच्चतम प्रयोगः विज्ञान तथा प्रविधि, लैगिक समानता, समावेशीकरण, वातावरण संरक्षणको उच्चतम् प्रयोग गरी उत्पादन क्षमता बढाउन सकिन्छ ।
कुनै दिन जातीय द्वन्द्वले ग्रस्त भएको रुवाण्डामा अहिले लगानी गर्न चाहने कुनै पनि विदेशी नागरिकले ४८ घण्टाभित्रै सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरि व्यवसाय शुरु गर्न सक्छन् (स्रोतः कान्तिपुर, कोशेली) तर यहाँ भने निकै झन्झटिलो प्रक्रियाहरू पूरा गर्नुपर्ने बाध्यता छ, यसलाई मध्यनजर गर्दै लगानी गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकका लागि एकद्वार प्रणाली लागू गरी लगानीमैत्री वातावरण तयार पारिदिनु पर्दछ । वीरेन्द्रनगरलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्दै ईन्जिनियरिङ्ग कलेज, मेडिकल कलेजहरूको स्थापना गर्नुपर्ने देखिन्छ । नेपालकै पहिलो हाइड्रो ईन्जिनियरिङ्गको पढाइ हुने मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सीट संख्याको अभावमा गतवर्ष हजारौं विद्यार्थी सो विषय अध्ययन गर्नबाट बञ्चित भएको कुरा विधितै छ, ती विद्यार्थीहरूलाई यो वर्ष बाटै समेट्ने प्रयास गर्नु जरुरी छ ।
सुर्खेतलाई चिनाउने बुलबुले ताल, देउती बज्यै माताको मन्दिर, काँक्रेविहार, कर्णाली तथा भेरीमा पिकनिक जान चाहनेका लागि प्याकेज, सिद्धपाइला, दैलेखको गुराँसे, कोटिला, श्रीस्थान, नाभिस्थान, धुलेश्वर, मुगुको राराताल लगायत ६ नम्बर प्रदेशमा अवस्थित पर्यटकीय स्थलहरूको प्रचार–प्रसार तथा प्रबद्र्धन गरिनु जरुरी देखिन्छ । बुलबुले ताल लुगाधुने नुहाउने स्थलका रूपमा मात्र होइन बालबालिकाका लागि फनपार्क, स्वीमिङ्ग पुल, व्यवस्थित रेष्टुराँ बनाउन सके नगरको आम्दानीमा पक्कै वृद्धि हुनेछ ।
अन्तमा, हामी सबैको मुखमा विकास र समृद्धिको शहर भनेर चिनिने स्वीजरल्याण्ड, सिंगापुर जस्ता सहर विदेशीले बनाइदिएका होइनन्, त्यहीका नेतृत्व तथा नागरिकको राज्यप्रतिको दायित्व, इमान्दारिता, जवाफदेहिताबहन गरेका कारणले तयार भएको हो । त्यसैले हामीले पनि हाम्रो गाउँ तथा नगरको लागि अर्काको मुख ताक्ने, नेता तथा कर्मचारीलाई गाली मात्र गर्ने होइन, राज्यप्रतिको दायित्व बोध गर्दै हरेकले आफ्नो काम समयमा सक्ने, अर्काले के ग¥यो भन्दा आफूले के गर्न सकें, त्यसको जवाफ आफै खोज्ने गरौं । समृद्ध गाउँ तथा नगर निर्माणका लागि सबै जाती, धर्म, सम्प्रदायका मानिस हातमा हात र काँधमा काँध मिलाउँदै अघि बढ्न सके समृद्धशाली गाउँ नगर बन्न समय लाग्ने छैन ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७४, बिहीबार १७:५४