आर्थिक वर्ष २०७४/०७५ को बजेट, कुन स्थानीय तहलाई कति ?

सुर्खेत, १६ जेठ ।
सरकारले आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । सोमवार संसदमा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट विनियोजन गरेका हुन् । विगतका वर्षहरूको तुलनामा यसपालीको बजेटमा केही भिन्नता रहेको छ । देश संघीय संरचनामा गएसँगै सरकारले यो आर्थिक वर्षबाट स्थानीय तहलाई सिधै बजेट उपलब्ध गराएको छ ।
सुर्खेतमा रहेका नौ वटा स्थानीय तहका लागि सरकारले बजेट विनियोजन गरेको छ । जिल्लाका पाँच नगरपालिका र चार गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ । सरकारले सुर्खेतमा सबैभन्दा बढी बजेट वीरेन्द्रनगर नगरपालिकालाई विनियोजन गरेको छ । वीरेन्द्रनगरका लागि आउँदो आर्थिक वर्षका लागि ६० करोड २४ लाख पाँच हजार उपलब्ध गराएको हो । यस्तै दोस्रोमा गुर्भाकोट नगरपालिकाले बजेट पाएको छ । उक्त नगरपालिकाका लागि ४२ करोड २६ लाख ४२ हजार रकम विनियोजन गरिएको छ ।

यस्तै सुर्खेतमा नगरपालिकातर्फ सबैभन्दा कम बजेट लेकवेशी नगरपालिकाले पाउने भएको छ । लेकवेशीका लागि ३० करोड ५१ लाख तीन हजार छुट्याइएको छ । यो नगरपालिकाले जिल्लाका गाउँपालिकाहरू भन्दा कम बजेट पाएको हो । यस्तै गाउँपालिकातर्फ जिल्लाको सिम्ता गाउँपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । यो गाउँपालिकाको लागि सरकारले ३२ करोड ३२ लाख ९० हजार रकम विनियोजन गरेको छ । यस्तै गाउँपालिकातर्फ सबैभन्दा कम बजेट चिङ्गाडले पाएको छ । यो गाउँपालिकाको लागि सरकारले २२ करोड २२ लाख ९० हजार बजेट उपलब्ध गराएको छ । सरकारले विनियोजन गरेको यही बजेटबाट स्थानीय तहले विकास आयोजनाहरू सञ्चालन गर्नेछन् । यही बजेट वडा तहमा पुग्नेछ ।
सरकारले दैलेखका ११ वटै तहका लागि पनि बजेट विनियोजन गरेको छ । जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाको लागि बजेट विनियोजन भएको हो । दैलेखमा सबैभन्दा बढी बजेट दुल्लू नगरपालिकाले पाएको छ । यो नगरपालिकाका लागि सरकारले ४१ करोड ६४ लाख १५ हजार रकम विनियोजन गरेको छ । जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकाले भने ३२ करोड ३४ लाख ५६ हजार पाउने भएको हो । यस्तै नगरपालिकातर्फ सबैभन्दा कम बजेट चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पाउने भएको छ । यो नगरपालिकाका लागि सरकारले २६ करोड ७० लाख दुई हजार विनियोजन गरेको छ । यस्तै गाउँपालिकातर्फ जिल्लामा सबैभन्दा बढी बजेट गुराँस गाउँपालिकाले पाएको छ । यो गाउँपालिकाका लागि २८ करोड ९६ लाख ९८ हजार रकम विनियोजन गरिएको छ । यस्तै सबैभन्दा कम बजेट पाउनेमा डुङ्गेश्वर गाउँपालिका रहेको छ । यो गाउँपालिकाले २० करोड १५ लाख २८ हजार मात्र पाएको छ ।
कालिकोटमा पनि नौ वटै तहले बजेट पाएका छन् । जिल्लामा सबैभन्दा बढी बजेट खाँडाचक्र नगरपालिकाले पाएको छ । यो नगरपालिकाका लागि सरकारले २६ करोड ८६ लाख दुई हजार रकम विनियोजन गरेको छ । कालिकोटमा यो नगरकै हाराहारीमा नरहरिनाथ गाउँपालिकाले बजेट पाएको छ । यो गाउँपालिकाले पनि २६ करोड १८ लाख ९८ हजार पाएको हो । नगरपालिकातर्फ रास्कोटले सबैभन्दा कम बजेट पाएको छ ।
यो नगरपालिकाका लागि सरकारले २० करोड ९० लाख ६५ हजार बजेट उपलब्ध गराएको हो । यस्तै गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट नरहरिनाथले पाएको छ । यस्तै सबैभन्दा कम बजेट पाउने गाउँपालिकामा महावै गाउँपालिका रहेको छ । यो गाउँपालिकाले १६ करोड ७६ लाख ७५ हजार रकम प्राप्त गरेको छ ।

प्रकाशित मितिः   १७ जेष्ठ २०७४, बुधबार १६:१७