मौन अवधि

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । फागुन २१ गते मतदानका लागि सोमवार रातिदेखि मौन अवधि पनि सुरु भइसकेको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जलेसम्म निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा रोक लगाउँदै मौन अवधि तोकेको हो । यो अवधिमा पालना गर्नुपर्ने विशेष आचरण र आचारसंहिता पनि तोकिएको छ । जसले निर्वाचनलाई भयसहित र सौहार्द बनाउन सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

विशेष गरेर निर्वाचन प्रचारप्रसारको कार्य निषेध गरिएको अवधिलाई मौन अवधि भनिन्छ । यसको मुख्य उद्देश्य मतदानका लागि शान्त वातावरण कायम गराउनु हो । त्यसैले मतदानको दिनभन्दा अघि निश्चित समयावधि तोकी मौन अवधि घोषणा गरिन्छ । मतदानको दिन सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि सुरु भइ मतदान सम्पन्न नहुञ्जेलसम्म कायम रहन्छ । यो अवधिमा निर्वाचनमा सहभागी हुने राजनीतिक दल, उम्मेदवारसहित सबै सरोकारवालाहरूले आचारसंहिताको पालना गर्नुपर्ने हुन्छ । मौन अवधिमा पालना गर्नुपर्ने विशेष आचारणहरू निर्वाचन आचारसंहितामा व्यवस्था गरिएका छन् । आयोगले उम्मेदवारी मनोनयन पछि औपचारिक रूपमा प्रचारप्रसारका लागि निश्चित अवधि दिएको थियो । उक्त अवधिभर उम्मेदवारहरूले चुनावी आमसभादेखि मतदाता भेट्न घरदैलो समेत गरे । त्यसपछि मतदानको कम्तीमा २४ घण्टादेखि ४८ घण्टा सम्मको अवधिलाई निषेध अवधिका रूपमा प्रचारप्रसारमा रोक लगाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ । यो सबै उम्मेदवारहरूका कुरा सुनिसकेपछि मतदाताहरूले आफ्नो निर्णय गर्ने समय पनि हो । मतदाताले आफ्नो विवेकको निर्णय नै मतपेटिकामा व्यक्त गर्ने गर्दछन् । निर्वाचनमा स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्न यसको उद्देश्य हो । निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो । यसका केही मापदण्ड र संस्कार हुन्छन् । मौन अवधि पनि त्यसमध्ये एक हो । जसलाई सबैले पालना गर्नुपर्दछ ।

विशेष गरेर राजनीतिक दल र उम्मेदवारहरूले मौन अवधिको दुरूपयोग गर्ने जोखिम रहन्छ । मतदान नजिक रहेका जतिसक्दो मतदाताहरूलाई आफ्नो पक्षमा पार्न अनेक गतिविधि हुने गर्दछन् । अनेक किसिमका आश्वास र दबाबले गर्दा नागरिकले स्वतन्त्ररूपमा आफ्नो विवेकले मतदान गर्न पाउने अधिकारलाई प्रभावित पार्न सक्दछ । त्यसैले मौन अवधिको समयमा पालना गर्नुपर्ने आचारसंहिताको कार्यान्वयनमा सम्बन्धित निकायहरूले पनि ध्यान दिन जरुरी छ । यो अवधिमा मतदाताले निर्वाचनमा भाग लिएका सबै दल अथवा उम्मेदवारको कुरा सुनिसकेपछि त्यसको आधारमा आफ्नो मत कसलाई दिने भन्ने निक्र्यौल र निर्णय गर्ने अवसर पाउनुपर्दछ । त्यसैले मौन अवधिको पालना गर्नु सबैको कर्तव्य हो ।

प्रकाशित मितिः   १९ फाल्गुन २०८२, मंगलवार ०५:०३