निर्वाचन सचेतना

प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्री सबै जिल्लामा पुगेको छ । मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पु¥याइसकिएको जानकारी निर्वाचन आयोगले दिइसकेको छ । सबै जिल्लामा पुगिसके पनि कतिपय मतदानस्थलसम्म पुग्न भने बाँकी छ । पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिइने मतदान अधिकृतले आवश्यक निर्वाचन सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागि सकेका छन् भने तराई–मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ । निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनलगायतका लागि सबै तयारी गरिएको छ ।

फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार तीन सय ६३ पुरुष र एक हजार सात सय ७२ महिला गरी तीन हजार एक सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ एक सय १० स्थानका लागि निर्वाचन हुनेछ । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष, ९२ लाख ४० हजार एक सय ३१ महिला र दुई सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । एक लाख ८६ हजार एक सय ४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार नौ सय ६७ मतदानस्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ । यसरी निर्वाचनका लागि आवश्यक सबै तयारी धमाधम गरिए पनि मतदाता शिक्षामा भने पर्याप्त ध्यान पुगेको देखिँदैन ।

भयरहित वातावरण निर्वाचन गराउनु राज्यको दायित्व हो । अधिकतम नागरिकको सहभागिता बढाउनु पनि उत्तिकै महङ्खवपूर्ण कार्य हो । सँगसँगै हरेक मतदाताले निर्वाचन शिक्षा पाउनु पनि अपरिहार्य छ । विगतका चुनावको अभ्यास हेर्दा पनि ठूलो संख्यामा मत बदर हुने गरेको छ । मत बदर हुनु भनेको त्यसको नतिजामा समेत प्रभाव पार्नु हो । मताधिकारको सही उपयोग नहुनु पनि हो । त्यसैले निर्वाचन शिक्षा नागरिक शिक्षाको अंश मानिन्छ । जसले हरेक नागरिकलाई सही व्यक्ति छनोट गर्न सक्ने वैचारिक सोच र सुझबुझपूर्ण निर्णय गर्न सक्षम बनाउँछ । त्यसैले पनि निर्वाचन शिक्षालाई प्राथमिकता दिने गरिन्छ । यसपटक पनि निर्वाचन शिक्षाका लागि विभिन्न गतिविधि नभएका होइनन् । तर ति पर्याप्त भएनन् । मतदाता सचेतनामा सम्बन्धित निकायहरू चुकेको देखिन्छ ।

प्रकाशित मितिः   १८ फाल्गुन २०८२, सोमबार १८:३०