प्रश्न सोध्ने मतदाता
देशैभर निर्वाचनको माहोल छ । राजनीतिक दलहरू आ–आफ्ना योजना, बाचा र प्रतिबद्धतासहितको घोषणापत्र लिएर मतदाताको घरदैलो पुगिरहेका छन् । मत मागिरहेका छन् । घोषणापत्रमा दलहरूले आफ्ना उम्मेदवार निर्वाचित भएपछि वा आफ्नो सरकार बनेपछि गर्ने कामको फेहरिस्त समेटेका हुन्छन् । सरसर्ती हेर्दा सबैका चुनावी घोषणापत्रमा लेखिने अधिकांश कुरा उस्तै हुन्छन् । किनभने घोषणापत्र तयार पार्नेहरूको मुख्य उद्देश्य विभिन्न बाचा वा प्रतिबद्धतामार्फत मतदाताको मन जित्नु हो । मत जित्नु हो । त्यसका लागि जे–जस्ता काम र योजना अघि सारेका हुन्छन्, ति मिठा नै लेखिएका हुन्छन् । विगतका चुनावहरूमा पनि यस्तै हुने गरेको छ । तर विडम्बना के छ भने चुनावी घोषणापत्रहरू केही दिनको चर्चामा सीमित हुन्छन् । न त्यसमा समेटिएका नीति, योजना र कार्यक्रमबारे बृहत् छलफल र बहस हुन्छ, न चुनावपछि त्यसको कार्यान्वयन र निगरानी कसैले गर्छ ।
घोषणापत्र भनेको चुनावी प्रतिबद्धता मात्रै होइन । सम्बन्धित राजनीतिक दल वा उम्मेदवारहरूको भिजन पनि हो । त्यसका बारेमा आम मतदातामाझ पनि बृहत् छलफल हुनु अपरिहार्य छ । जसले गर्दा मतदान गर्दा कसलाई रोज्ने भनेर मतदाताहरूलाई छनोट गर्न सहज होस् । योजना, एजेन्डा र प्राथमिकताको मूल्यांकनका आधारमा गरिने मतदानले मात्रै सही व्यक्तिको छनोट हुन सक्दछ । समाजले जहिले पनि प्रश्न गर्ने नागरिक खोजिरहेको हुन्छ । र नागरिकको प्रश्नप्रति जवाफदेही उम्मेदवार खोजिरहेको हुन्छ । प्रश्नकर्ता मतदाता र जवाफदेही उम्मेदवारले मात्रै निर्वाचनको नतिजा निर्धारण हुने हो भने आजको राजनीतिमा देखिएका धेरै समस्या समाधान हुनेछन् । त्यसैले पनि राजनीतिक दल वा तिनका उम्मेदवारहरूले ल्याएका घोषणापत्रहरूको अध्ययन र त्यसका आधारमा प्रश्न गर्ने मतदाता चाहिएको छ । जसले चुनावलाई एउटा लोकतान्त्रिक पक्रिया मात्रै नभएर चुनावी प्रक्रियाको वास्तविक मर्मलाई जागृत गरिराख्न सक्दछ ।
मतदाता फकाउनका लागि लोकप्रिय नारा र प्रतिबद्धताहरू गर्ने र त्यसको कार्यान्वयनमा ध्यान नदिने प्रवृत्तिको अन्त्य हुनुपर्दछ । त्यसका लागि पनि प्रश्न गर्ने मतदाता चाहिएको छ । यस्ता मतदाता जसले उम्मेदवारलाई उनीहरूले गरेका बाचाको औचित्य र अर्थबारे प्रश्न गरुन् । कार्यान्वयनको सुनिश्चितता खोजुन् । विगतमा गरेका बाचा र त्यसको कार्यान्वयनको हिसाब मागुन् । अर्थात् उम्मेदवारहरू मतदाता फकाउने फगत घोषणापत्र बोकेर होइन, व्यावहारिक र कार्यान्वयनमुखि प्रतिबद्धताहरू लिएर चुनावमा आउन् । आफ्ना हरेक कार्य वा बाचा नागरिकको प्रश्नबाट परीक्षण गरिनुपर्छ भन्ने जवाफदेहीता उम्मेदवारहरूमा पनि हुनुपर्दछ । मतदाताको प्रश्नले उम्मेदवारको नारालाई सही नीतिमा बदल्न र कार्यान्वयनमा पनि जवाफदेही हुन बाध्य बनाओस् ।
प्रकाशित मितिः १५ फाल्गुन २०८२, शुक्रबार १३:५३
सम्पादकीय ।