चुनाव विरोधी गतिविधि गर्ने आठ जना पक्राउ
सुर्खेत: चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले सुर्खेतबाट आठ जनालाई पक्राउ गरेको छ । प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेका विभिन्न दलका नेतालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो । चुनाव बहिष्कार गरेका राजनीति दलका नेताहरूले निर्वाचन विरोधि गतिविधि गर्न सक्ने भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।
पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ६६ वर्षीय नारायण न्यौपाने, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव २० वर्षीय धीर दर्जी र क्रान्तिकारी कम्युनिष्ट पार्टीका ब्यूरो सदस्य ४१ वर्षीय कर्णबहादुर बीसी छन् । न्यौपाने सुर्खेत वीरेन्द्रनगर–१ का बासिन्दा हुन् भने दर्जी कालीकोटको नरहरिनाथ गाउँपालिका–७ का र बीसी सान्नी त्रिवेणी गाउँपालिका–६ का बासिन्दा हुन् ।
यसैगरी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव ३८ वर्षीय श्याम कुँवर, नेकपा बहुमतका जिल्ला सचिव ४५ वर्षीय राजु भनिने राजकुमार पौडेल, नेकपा क्रान्तिकारी सुर्खेत जिल्ला समिति सचिव ५४ वर्षीय रन्तबहादुर वली, नेकपा बहुमतका वडा समिति सदस्य ६६ वर्षीय पूर्ण तिरुवा र रूकुमपश्चिम चौरजहारी नगरपालिका–८ का ३८ वर्षीय मानबहादुर मल्ल छन् । कुँवर कैलालीको धनगढी उपमहानगरपालिका–१२ का बासिन्दा हुन् भने पौडेल वीरेन्द्रनगर–११ का बासिन्दा हुन् । त्यस्तै, तिरुवा भेरीगंगा नगरपालिका–१२ का र मल्ल भेरीगंगा नगरपालिका–९ का बासिन्दा हुन् ।
प्रकाशित मितिः १५ फाल्गुन २०८२, शुक्रबार १३:५३
साझा बिसौनी ।