सचेत मतदाता
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन नभएको भए दुई वर्षपछि मात्रै प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने थियो । तर जेन–जी आन्दोलनका कारण सरकार ढलेर संसद्समेत विघटन भएपछि २०८४ मा हुनुपर्ने चुनाव २०८२ मा हुँदैछ । अन्तरिम नागरिक सरकारले फागुन २१ गतेका लागि निर्वाचन तोकेर सबै तयारी अघि बढाइसकेको छ । सरकार निर्वाचन गराउने तयारीमा लागिरहँदा राजनीतिक दल र उम्मेदवारहरू मत माग्न व्यस्त छन् । यतिबेला देश नै चुनावमय भएको छ । चुनावी राजनीतिले सबैलाई छोएको छ । हरेक व्यक्तिको चासो चुनाव र त्यसको सम्भावित नतिजालाई लिएर देखिन्छ । बदलिएको राजनीतिक परिवेशमा हुन लागेको चुनावले कस्तो नतिजा दिन्छ भन्ने चासो सर्वत्र छ ।
हुन त चुनाव आफ्ना जनप्रतिनिधि छान्ने लोकतान्त्रिक प्रक्रिया हो । आम नागरिकले आफूले रोजेको व्यक्ति वा दलको पक्षमा मतदान गर्दछन् । जसले धेरै मत पाउँछ, ऊ विजयी हुन्छ । प्रतिनिधिसभाको सदस्य बन्छ । प्रतिनिधिसभा सदस्यको मुख्य दायित्व संसद्बाट कानुन बनाउनु हो । विधायिकी दायित्व उसको हुन्छ । तर एउटा प्रतिनिधिसभा सदस्यको जिम्मेवारी कानुन निर्माण प्रक्रियामा सहभागी हुनु मात्रै होइन, मुलुकको सरकार निर्माणमा पनि उत्तिकै महङ्खवपूर्ण भूमिका रहन्छ । किनभने हामीले अवलम्बन गरेको संसदीय व्यवस्थामा नागरिकले सांसद छान्छन् र सांसदले सरकार बनाउँछन् । त्यसैले पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन केवल सांसद छान्ने प्रक्रिया मात्रै होइन, सरकार बनाउने प्रक्रिया पनि हो । मुलुकको राजनीतिक भविष्य निर्धारण गर्ने बाटो पनि हो । चुनाव कसले जित्छ र कसको सरकार बन्छ भन्ने कुराले मुलुकको राजनीतिक भविष्य मात्रै नभएर आर्थिक, सामाजिक तथा समृद्धिको यात्रालाई समेत मार्गनिर्देश गर्दछ । चुनाव जित्ने राजनीतिक दलले लिएको नीति, योजना र कार्यक्रम नै सरकारको प्राथमिकतामा पर्ने गर्दछन् । त्यसकारण मतदान गर्दा नै हरेक मतदाताले चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल र तिनका उम्मेदवारले अघि सारेका योजना र प्राथमिकतालाई हेर्नुपर्ने हुन्छ ।
सबैजसो दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । घोषणापत्रहरूमा उनीहरूले एक सांसदका रूपमा गर्ने कामदेखि सरकार निर्माण भएपछि गर्ने कामसम्मका प्रतिबद्धता गरेका छन् । जसको मूल्यांकन गर्ने जिम्मेवारी अब मतदाताको हुन्छ । अहिले सही नीति, योजना र एजेन्डा बोकेका दल वा उम्मेदवारलाई छनोट गरिएन भने निर्वाचनपछि बन्ने सरकारले पनि मुलुकलाई सही ढंगले अघि बढाउन सक्दैन । विगत लामो समयदेखि मुलुक जुन अस्थिरताको चक्रमा फसेको छ, त्यसैले निरन्तरता पाउने अवस्था बन्दछ । त्यसैले पनि हरेक मतदाताले सचेतनापूर्वक मतदान प्रक्रियामा भाग लिनु अपरिहार्य भएको छ ।
प्रकाशित मितिः १२ फाल्गुन २०८२, मंगलवार ०९:३७
सम्पादकीय ।