उम्मेदवारका ५ एजेन्डा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट रवि हमाल ठकुरीलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक संंसदीय निर्वाचनमा भाग लिँदैछन् ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा उनको सक्रिय सहभागिता थियो । उक्त आन्दोलनले उठाएका एजेन्डा पूरा गराउन उनले त्यसपछि पनि निरन्तर खबरदारी गरिरहे । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत विभिन्न पाँचवटा विषयमा केन्द्रित रहेर हामीले हमालका योजना र प्राथमिकता के छन् भनेर सोधका छौँ । प्रस्तुत छ, उनको जवाफः

पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?
स्वास्थ्य, शिक्षा, विद्युतीकरण, कृषि, खानेपानीका क्षेत्रमा आवश्यक पूर्वाधारलाई प्राथमिकतामा राखेको छु । सबै नागरिकको पहुँचमा गुणस्तरीय शिक्षा पुग्न सकेको छैन । शैक्षिक पूर्वाधार योजना मैले प्राथमिकतामा राखेको छु । स्वास्थ्यको क्षेत्रमा पनि पूर्वाधार अभाव छ । सबै नागरिकको घरमा विद्युत पुगेको छैन । मैले विद्युतीकरणमा पनि जोड दिनेछु ।
सबै क्षेत्रमा सडक पुग्न सकेको छैन । त्यसैले सडक पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको छु । ५० शैड्ढयाको मेहेलकुना अस्पताललाई पूर्वाधार निर्माण सम्पन्न गरेर सञ्चालनका लागि पहल गर्नेछु । विभिन्न स्थानमा आवश्यकताका आधार पुल निर्माणको कामलाई पनि जोड दिनेछु । ठूलो सम्भावित आयोजनाहरूको अध्ययनको कामसमेत अघि बढाइनेछ । राजमार्ग निर्माणका काम अघि बढाउन पहल थाल्नेछु । पूर्वाधार विकास आवश्यकता र नागरिकको माग पनि रहेको छ । सोहीबमोजिम मैले योजना निर्माण गरेर पूर्वाधार निर्माणको थालनी गर्नेछु ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?
गुणस्तरीय शिक्षामा मेरो जोड रहेको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदो रहेको छ । विपन्न नागरिकका बालबालिका शिक्षाबाट वञ्चित भइरहेका छन् । शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक ताालिमको व्यवस्था गर्नेछु । निःशुल्क र गुणस्तरिय शिक्षा सञ्चालनका लागि नीतिगत रूपमा पहल गर्नेछु । विद्यार्थी अनुपातमा दरबन्दी मिलानको कामसमेत अघि बढाउनेछु । सबैको पहुँचमा हुनेगरी स्वास्थ्य पूर्वाधार निर्माणमा जोड दिनेछु । ९८ प्ररकारका औषधी निःशुल्क उपलब्ध हुनुपर्नेमा नागरिकले अहिले तीन÷चार प्रकारका औषधी पनि पाइरहेका छैनन् । औषधीको उपलब्धतामा पनि जोड दिनेछु ।
रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?
ठूला आयोजना निर्माणका लागि संघीय सरकारसँग पहल थाल्नेछु । कृषि र उद्यमका माध्यमबाट रोजगारी सिर्जना गर्नेछु । जडिबुटी प्रशोधन केन्द्रको स्थापना गर्नेछु । निजी क्षेत्रलाई लगानीमैत्री वातावरणको सिर्जना गर्नेछु । ब्याज अनुदानका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउनेछु । यसका लागि नीतिगत रूपमा पहलसमेत गर्ने योजना बनाएको छु । युवा उद्यमशीलताका कार्यक्रममा जोड दिएको छु ।
सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?
भष्ट्राचार न्यूनीकरण गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछु । नागरिक सेवालाई प्रभावकारी बनाउनेछु । हरेक कामको सार्वजनिक सुनुवाई कार्यक्रम गर्नेछु । नागरिकलाई बढी जागरुक र जवाफदेहि बनाउनेछु ।
नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?
स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि पर्यटनलगायतका क्षेत्रमा प्रभावकारी काम गर्नुपर्छ । सामुदायिक शिक्षालाई प्रभावकारी बनाउनुपर्छ । जीवनउपयोगी शिक्षामा जोड दिन जरुरी छ । नागरिकको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि काम गर्नुपर्ने हुन्छ । जसले गर्दा नागरिकले सरकारको अपनत्व गर्नेछन् ।
प्रकाशित मितिः १२ फाल्गुन २०८२, मंगलवार ०९:३६
साझा बिसौनी ।