भुगोलअनुकूल नीति
अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश पूर्वाधार विकासमा पछाडि छ । सडक होस् या विद्युत, खानेपानी होस् या सिँचाइ । शैक्षिकपूर्वाधारदेखि स्वास्थ्य पूर्वाधार विकासको अवस्था कमजोर छ । पूर्वाधार विकासमा पछि परेकै कारण नागरिक जीवनस्तरमा पनि उल्लेख्य सुधार हुन सकेको छैन । आर्थिक परनिर्भरता, बेरोजगारी र भोकमरीबाट मुक्त भइसकेको छैन । गुणस्तरी शिक्षा र स्वास्थ्य सेवामा पर्याप्त पहुँच पुगेको छैन । यसो हुनुमा विगतदेखिकै राज्यको संरचना, स्रोत–साधनको असमान बाँडफाँड, पूर्वाधार विकास र राजनीतिक प्रतिनिधित्वमा कमजोर उपस्थितिलाई मान्न सकिन्छ । जसले गर्दा भौगोलिक विविधतालाई नै विकट बनाइएको छ । राज्यका नीति र योजनाले कर्णालीको भौगोलिक अवस्था र यहाँको सामाजिक वस्तुस्थितिलाई बुझ्न सकेको छैन ।
राज्य सञ्चालनका संरचना वा केन्द्रीय राजनीतिमा कर्णालीको उपस्थिति धेरथोर भएकै छ । तर त्यो यहाँको विकासमा सन्तुलन ल्याउन पर्याप्त देखिएको छैन । न्यायोचित राजनीतिक प्रतिनिधित्व सुनिश्चित नहुँदासम्म राज्यको प्राथमिकताबाट कर्णाली छुट्ने गर्दछ । यहाँको भौगोलिक विविधताअनुकूल नीति, योजना र कार्यक्रम नबनाएसम्म कर्णालीको समृद्धि हासिल हुन सक्दैन । त्यसका लागि सबैभन्दा पहिला पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्छ । कर्णालीका जिल्लाहरू राष्ट्रिय सडकमार्गमा जोडिए पनि सबै क्षेत्रमा पर्याप्त सडकको पहुँच पुगेको छैन । मुख्य सडकमार्गहरू अझै पूर्णरूपमा स्तरोन्नति हुन सकेका छैनन् । जसका कारण सवारी आवागमन, आपूर्ति र सेवा प्रवाहमा समस्या भोगिरहनु परेको छ । अन्तरजिल्ला सडक सञ्जालको विस्तार तथा प्रदेश राजधानीसँग सबै जिल्लाको सहज र भरपर्दो पहुँच सुनिश्चित हुन सकेको छैन । यातायात पूर्वाधार बलियो नभएसम्म शिक्षा, स्वास्थ्य, कृषि, उद्योग वा व्यापार कुनै पनि क्षेत्र प्रभावकारी रूपमा अघि बढ्न सक्दैन ।
शिक्षा र स्वास्थ्यका सूचकांकमा कर्णाली अहिलेसम्म पनि राष्ट्रिय औसतभन्दा पछाडि छ । शिक्षा र स्वास्थ्यको सहज पहुँच नहुँदासम्म मानवीय विकासको गति कमजोर मानिन्छ । शैक्षिक संस्थाहरूको संख्यात्मक वृद्धि त भएको छ तर गुणस्तरीय शिक्षा प्रदानको सुनिश्चितता तयार भइसकेको छैन । स्वास्थ्य क्षेत्र अनेक समस्याले ग्रसित छ । विशेषज्ञ चिकित्सक, उपकरण र पूर्वाधारको अभाव छ । शिक्षा र स्वास्थ्यमा पर्याप्त लगानी र सुधार कर्णालीका लागि अपरिहार्य छ । उद्योग, ऊर्जा र प्राकृतिक स्रोतको सदुपयोग गर्न नसक्ने हो भने कर्णालीको आर्थिक रूपान्तरण हासिल गर्न सक्दैन । यी सबै समस्याहरूको समाधानका लागि कर्णालीको भुगोल र सामाजिक अवस्थाअनुकूल राज्यका नीति र योजना अपरिहार्य हुन्छ । अबको राजनीतिक नेतृत्वले यसतर्फ ध्यान पु¥याउन जरुरी छ ।
प्रकाशित मितिः ११ फाल्गुन २०८२, सोमबार ०९:३८
सम्पादकीय ।