हिमाली जिल्लामा पुग्यो निर्वाचन सामग्री
सुर्खेत: कर्णालीका हिमाली जिल्लाहरूमा धमाधम निर्वाचन सामग्री ढुवानी गरिएको छ । मुगुमा पनि निर्वाचन सामग्री पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आइतवार सुर्खेतबाट मतपत्रसहित निर्वाचन सामग्री मुगु पुर्याइएको हो ।
जिल्ला निर्वाचन कार्यालय मुगुले दिएको जानकारीअनुसार प्रत्यक्षतर्फ ३९ हजार, समानुपातिक तर्फ ४० हजार मतपत्र र ११ प्रकारका निर्वाचन सामग्री जिल्लामा पुगेको छ । निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको सेवा सुविधा, आवश्यक सामग्री तयारी पनि पूरा भएको कार्यालयले जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मुगुमा ३६ हजार ३१ मतदाता छन् । ६८ मतदानस्थल र ७० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच कर्णालीको अर्को हिमाली जिल्ला डोल्पामा पनि आइतवार नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री पु¥याइएको छ । निर्वाचनका लागि आवश्यकमध्ये १३ प्रकारका सामग्री डोल्पा पुगेको छ । मतपत्रलगायतका १३ प्रकारका निर्वाचन सामग्री पुगेको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । केही दिनभित्रै सबै सामग्री मतदान केन्द्रहरूमा पठाइने उनले बताए ।
डोल्पामा ६८ वटा मतदान केन्द्र छन् । तीमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचिमा राखिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार एक सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार एक सय ८७ र पुरुष मतदाता ११ हजार नौ सय २८ रहेका छन् । हुम्लामा भने शनिवार नै निर्वाचन सामग्री पुगिसकेको छ । त्यहाँ पनी नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री पुर्याइएको हो ।
प्रकाशित मितिः ११ फाल्गुन २०८२, सोमबार ०९:३७
साझा बिसौनी ।