कर्णालीमा निर्वाचन

कस्तो आउला कालीकोटको नतिजा ?

 

सुर्खेत: खड्गबहादुर विश्वकर्मा प्रकाण्ड १८ वर्षपछि चुनावी मैदानमा फर्किएका छन् । तत्कालीन नेकपा (माओवादी)मा रहँदा उनले २०६४ मा कालीकोटबाट चुनाव जितेका थिए । त्यसपछि भने उनी चुनावी मैदानमा देखिएनन् ।

माओवादी विभाजन हुँदा उनी नेत्रविक्रम चन्द विप्लवतिर लागे । विप्लव समूहले यसअघि निर्वाचन बहिष्कार गर्दै आएको थियो । तर यसपटक चुनावमा सहभागी हुँदैछ । विप्लव नेतृत्वको माओवादी चुनावमा सहभागी हुने भएसँगै प्रकाण्ड पनि १८ वर्षपछि चुनाव लड्न कालीकोट फर्किएका हुन् ।

प्रकाण्डको उम्मेदवारीले यहाँको चुनावी रौनक नै अलग देखिएको छ । यसपटक माओवादी जनयुद्धका दुई कमाण्डरबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । एकातिर प्रकाण्ड छन् भने अर्कोतर्फ नेपाली कम्युनष्टि पार्टीबाट कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही उम्मेदवार छन् ।

हुन त कालीकोटमा नेपाली कांग्रेसबाट हर्षबहादुर बम, नेकपा (एमाले)बाट नगीन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश न्यौपानेलगायत १० जना उम्मेदवार चुनावी मैदानमा छन् । यद्यपि, मतदाताहरूमाझ भइरहेको चर्चा हेर्ने हो भने कालीकोटमा यसपटक प्रकाण्ड र महेन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

कालीकोटमा २०६४ पछिका सबै चुनाव माओवादीले जितेको छ । प्रदेशसभा र स्थानीय तहको मतपरिणाम हेर्दा पनि यहाँ माओवादी अर्थात् अहिलेको नेकपा बलियो अवस्थामा छ । तर कालीकोटमा जनयुद्धकालदेखि नै प्रकाण्डको प्रभाव, अहिले नेकपा र कांग्रेसभित्र देखिएको आन्तरिक कलह, पुरानै उम्मेदवार छनोट र मतदाताको फेरिएको मनोविज्ञानका कारण यसपटकको नतिजा फरक आउन सक्ने आकलन भइरहेको छ ।

महेन्द्रबहादुर शाहीले कालीकोटबाट तीन पटक चुनाव जितिसकेका छन् । २०७० र २०७९ मा संघीय चुनाव जितेका उनले २०७४ मा भने प्रदेशसभामा निर्वाचित भएका थिए । लगातार शाहीले मात्रै अवसर पाएको भन्दै अहिले नेकपाभित्र विवाद देखिएको छ । शाहीविरुद्ध नेकपाकै अर्का नेता जीवनबहादुर बुढाले स्वतन्त्र उम्मेदवारी दर्तासमेत गराएका थिए । तर उनले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बुढाले उम्मेदवारी फिर्ता लिए पनि नेकपाभित्र देखिएको यो असन्तुष्टी शाहीका लागि भने भारी पर्न सक्नेछ ।

अर्कोतिर नेपाली कांग्रेसभित्र पनि उम्मेदवार छनोटमा विवाद देखिएको छ । अघिल्लो पटक कांग्रेसबाट उम्मेदवार बनेर पराजित भुपेन्द्रजंग शाहीलगायतका नेताहरू पनि टिकटका लागि आकांक्षी थिए । तर केन्द्रीय नेतृत्वले हर्षबहादुर बमलाई उम्मेदवार बनायो । उक्त निर्णयप्रति असन्तुष्ट शाहीले स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिइसकेका छन् ।

विगतको नतिजा हेर्दा कालीकोटमा एमाले कमजोर देखिन्छ । गत चुनावमा पराजित नगीन्द्र शाहीलाई नै एमालेले यसपटक पनि उम्मेदवार बनाएको छ । रास्वपाले युवा नेता प्रकाश न्यौपानेलाई उम्मेदवार बनाएको छ । चर्चित टिकटकर न्यौपानेले युवापंक्तिको मत तान्न सक्ने आकलन गरिएको छ, तर कालीकोटमा रास्वपाको बलियो जनआधार बनिसकेको छैन । त्यसैले पनि कालीकोटमा यसपटक पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र १८ वर्षपछि चुनावी मैदानमा फर्किएका प्रकाण्डबीच प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।

प्रकाशित मितिः   १० फाल्गुन २०८२, आईतवार १५:११