स्काई ट्रकमार्फत निर्वाचन सामग्री ढुवानी

सुर्खेत: कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचन सामग्री पठाउन थालिएको छ । फागुन २१ गने हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कर्णालीका विभिन्न जिल्लामा सामग्री पठाउन थालिएको हो ।

शनिवार हुम्लामा निर्वाचन सामाग्री पुगेको छ । नेपाली सेनाको ‘स्काई ट्रक’ मार्फत निर्वाचन सामाग्री हुम्ला पुर्‍याइएको हो । नेपाली सेनाको स्काई ट्रकबाट मतपेटिका, सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री हुम्ला पुगेको जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले जानकारी दिए ।

हुम्लामा थप एक सय ९६ मतपेटिका आवश्यक रहेको बताउँदै उनले यसअघि दुई सय ३५ वटा जिल्लामै रहेको बताए । एउटा मतदान केन्द्रमा तीन वटा मतपेटिका आवश्यक रहेको उनले बताए । हुम्लामा १८ हजार २१ जना पुरूष र १६ हजार तीन सय ५१ जना महिला गरि कुल ३४ हजार तीन सय ७२ जना मतदाता छन् । जिल्लाभर ६० वटा मतदानस्थल अन्तर्गत ६४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । सातवटा राजनीतिक दलबाट उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

प्रकाशित मितिः   १० फाल्गुन २०८२, आईतवार १६:०८