चलचित्र ‘अछुत’को शुभमुहूर्त

सुर्खेत, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर चलचित्र ‘अछुत’को शुभमुहूर्त गरिएको छ । वीरेन्द्रनगरमा सोमवार चलचित्रको शुभमुहूर्त गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारी (ढकाल)ले रिवन काटेर चलचित्र छायांकनको शुभारम्भ गरेकी हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी ढकालले सामाजिक विभेद विरुद्ध बन्न लागेको चलचित्र ‘अछुत’ जातीय छुवाछुत अन्त्य गर्नका लागि कोशेढुंगा बन्ने विस्वास व्यक्त गरिन् । उनले कानुनी रुपमा जातीय विभेदको अन्त्य भएपनि व्यवहारिक रुपमा हुन नसकेको भन्दै सबै मिलेर यसको अन्त्यका लागि अभियान थाल्नुपर्ने धारणा राखिन् । उनले सामाजिक कुरिती र कुसंस्कारको अन्त्यका लागि कला र संगतिको पनि महत्वपूर्ण भूमिका हुने बताईन । त्यसैले पनि बन्दै गरेको चलचित्र ‘अछुत’ले २१ औं शताब्दिमा पनि जरा गाडेर बसेको जातीय छुवाछुतको अन्त्यका लागि सघाउ पुर्याउने उनको धारणा थियो ।

कार्यक्रममा बरिष्ठ कलाकार प्रमेदेव गिरीले कला संस्कृति केवल मनोरञ्जनका माध्यम मात्र नभएर सामाजिक अभियानका माध्यम पनि भएको बताए । उनले कलाकारिताका माध्यमबाट समाजमा जनचेतना फैलाउन र समाज परिवर्तनमा सयोग पुर्याउन सकिने धारणा राखे । साथै उनले चलचित्र अछुतको सफलताको शुभकामना समेत व्यक्त गरे ।

चलचित्रको बारेमा जानकारी दिदै चलचित्रका लेखक बालकृष्ण सुनारले सामाजिक विभेदमा आधारित रहेर चलचित्र बन्न लागेको जानकारी दिए । उनले मानिसहरु सबै बराबर हुन्, उचनिचको भेदभाव गलत हो भन्ने सन्देश दिन र सामाजिक रुपान्तरणमा सघाउ पुर्याउने उद्देश्यले चलचित्र बनाउन लागिएको बताए ।

सुर्खेत मुभी हाउसको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा सञ्जिव बराल र सपना सापकोटाको मूख्य भूमिका रहेको छ भने विवि सोनी, लालबहादुर नेपाली, गीता कटवाल, खगेन्द्र परियार, भूमिका परियार लगायत तीन दर्जन कलाकारले अभिनय गर्ने छन् ।

विशालसानु श्रेष्ठले निर्देशन गर्ने चलचित्रको छायांकन काँक्रेविहार मुभि हाउसका अकबर खानले गरिरहेका छन् । सोमवारबारट सुरु गरिएको चलचित्र छायाकंन एक महिनाभित्रमा गरिसकिने र दसैंमा रिलिज गर्ने तयारी गरिएको चलचित्रका लेखक सुनारले जानकारी दिए । उनका अनुसार दुई वटा गीत रहेको चलचित्रको संगीत तिलक गन्दर्भको रहेको छ ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७४, सोमबार १४:५८