विद्यालयमा अनौठो समस्या, कक्षामा पुगेपछि बेहोस हुन्छन् छात्रा

घरबाट आरामसँग विद्यालय जान्छन् । विद्यालयसम्म पुग्दा पनि उनीहरू ठीकै हुन्छन् । तर जब पढ्नका लागि कक्षा कोठाभित्र पस्छन्, तब उनीहरू बेहोस नै भएर ढल्छन् । पढाउन छोडेर शिक्षकहरू हतारमा गाउँमा धामी खोज्न दौडिन्छन् । छात्राहरू एकाएक चिच्याउने, रुने र बेहोस भएर ढल्न थालेपछि समग्र विद्यालयको पढाइ नै प्रभावित भएको छ ।

पछिल्लो समय सुर्खेतका केही सामुदायिक विद्यालयमा यस्तै समस्याहरू बारम्बार बल्झिन थालेको छ । जिल्लाको पश्चिममा पर्ने बराहताल गाउँपालिका वडा नम्बर– ७ नयाँवनमा यही समस्याका कारण विद्यालयको पढाइ नै प्रभावित हुन पुगेको छ । स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरू कक्षा कोठामा पस्ने बित्तिकै ढल्न थालेका छन् । करिब १५ दिनदेखि छात्राहरू बेहोस भएर कक्षामै ढल्न थालेपछि शिक्षक र अभिभावकहरू हैरान भएका छन् । अर्कोतर्फ त्रासका कारण छात्राहरू पनि विद्यालयमा जान छाडेका छन् भने उपचारका लागि केही उपाय नलागेपछि अहिले विद्यालय नै धामीको शरणमा पुगेको छ ।

‘कक्षामा पुगेपछि छात्राहरू धमाधम बेहोस हुन्छन्, चिच्याउँदै र रुँदै ढल्छन्’ विद्यालयका शिक्षक गणेश कँडेलले भने, ‘घरमा र विद्यालय बाहिर हुँदा केही हुँदैन, केटाहरूमा पनि केही समस्या छैन । तर कक्षा ६ देखि १० सम्मका छात्राहरूमा यो समस्या छ, अनेक उपाय लगाउँदा पनि समाधान भएको छैन ।’ यो विद्यालयमा अघिल्लो वर्ष केही छात्रामा मात्र यस्तो समस्या देखिएको थियो । यसपाली भने अधिकांश छात्राहरूमा यो समस्या देखिएको छ । समस्या समाधानका लागि स्थानीयले अनेकौं उपाय लगाएका छन् । विद्यालयमा नै धामी बोलाएर उपचारको प्रयास भइरहेको विद्यालयले जनाएको छ । धामी ल्याउँदा पनि समस्याको समाधान हुन नसकेपछि अभिभावकले अन्य उपचारका लागि हारगुहार नै गरेका छन् ।

शिक्षक कँडेलले भने, ‘बाहिर केही पनि हुँदैन, कक्षाभित्र पस्ने बित्तिकै छात्राहरू ढल्छन् । नजिक अस्पताल छैन, हामीले दौडेर धामीलाई बोलाउनुपर्ने बाध्यता छ ।’ विद्यालयका अनुसार छात्राहरूमा चिच्याउने, रुने, काम्ने र बेहोस हुने लक्षण देखिने गरेको छ । ‘हामीले विद्यालयमा धामीहरू पनि ल्यायौं, तर पनि रोकिएन’ कँडेलले भने, ‘यसले विद्यालयको पढाइ नै प्रभावित भयो, त्रासले गर्दा हिजोआज छात्राहरू विद्यालयमा नै आउन छाडे ।’ विद्यालयमा अनौठो समस्या देखिन थालेपछि अभिभावकहरूले नै छोरीलाई विद्यालय पठाउन छोडेका हुन् । छात्राहरू घण्टौंसम्म बेहोस हुने गरेका छन् । कतिपयको घरमा लगेपछि मात्र होस खुल्ने गरेको छ । स्थानीय अभिभावकहरूले भने धामीबाट पनि समस्याको समाधान नभएपछि अब अन्य उपचारका लागि पहल गरिदिन आग्रह गरेका छन् । विशेषज्ञ डाक्टर उपलब्ध गराइदिन स्थानीयले माग गरेका छन् ।

यसअघि जिल्लाको सोही गाउँपालिका अन्तर्गत जनजागृति माविमा पनि छात्राहरू बेहोस हुने समस्या थियो । वर्षौंसम्म स्थानीयले बोका पूजा गरेर समस्या समाधानको उपाय खोजे । केही उपाय नलागेपछि अधिकांश छात्राले विद्यालय नै छाडे । तर, जिल्लाको एक गैरसरकारी संस्थाले विदेशबाट डाक्टरहरू ल्याएर उपचार गराएको थियो । ती डाक्टरहरूले विद्यालयमै पुगेर छात्राहरूलाई मनोपरामर्श गरेका थिए । त्यसयता उक्त विद्यालयमा भने यो समस्या देखिएको छैन । तर जिल्लाका अन्य विद्यालयहरूमा भने बारम्बार छात्रामा यस्तो समस्या देखिने क्रम रोकिएको छैन ।

यता जिल्ला शिक्षा कार्यालयले पनि जिल्लाका केही विद्यालयमा छात्राहरूमा यस्तो समस्या देखापरेको जनाएको छ । कार्यालयले छात्राहरूमा यो समस्या देखिनुको कारण भने थाहा नभएको जनाएको छ । छात्रामा देखिएको यो समस्याले पढाइमा नै समस्या उत्पन्न गराएको छ ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७४, सोमबार १०:१४