‘नयाँ फिल्म आउने बित्तिकै हेर्न पुगिहाल्थ्यौं’

मोहनमाया भण्डारी (ढकाल) वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख (उपमेयर) हुन् । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट अत्याधिक मतसहित उपप्रमुखमा निर्वाचित ढकाल सुर्खेतकी चर्चित युवा नेतृ पनि हुन् । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ सुर्खेतको अध्यक्ष समेत रहेकी उनले विद्यार्थी छँदै वि.सं. २०५६ सालदेखि नै राजनीतिमा प्रवेश गरेकी हुन् । वि.सं. २०३६ साल फागुन २७ गते बुबा माधवप्रसाद ढकाल र आमा भीमा ढकालको कोखबाट उनको जन्म भयो । उनले राजनीति शास्त्रबाट (एमए) गरेकी छन् भने अहिले उनले कानुन विषयमा एलएलबी गर्दैछिन् । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको पूर्व सचिवालय सदस्य तथा अन्तरपार्टी महिला सञ्जाल सुर्खेतको पूर्व अध्यक्ष समेत रहेकी ढकालले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेकी छिन्  :

मेरो जन्म मध्यम परिवारमा भएको हो । हामी तीन भाइबहिनी छौं । म एउटा मात्र छोरी हुँ । मेरो एक जना दाइ र एक जना भाइ हुनुहुन्छ । वीरेन्द्रनगर–१६ (साविकको गर्पन गाविस) मा मेरो जन्म भए पनि बाल्यकाल भने वीरेन्द्रनगर–१३ धुलियाविटमा बित्यो । हाम्रो परिवार ठूलो थियो । परिवारमा छोरीहरूलाई विभेद कहिले पनि गर्ने चलन नै थिएन् । छोरी र बुहारीलाई बराबर हुन् भन्ने मान्यता थियो, हाम्रो परिवारमा । छोरीहरूलाई प्राथमिकता दिनुहुन्थ्यो ।

म सानो छँदा धेरै नबोल्ने, बोल्नु प¥यो भने पनि चाहिने कुराबाहेक त्यति धेरै बोल्ने गर्दैनथें । म चञ्चले स्वभावको पनि थिएँ । साथीहरूसँग घुलमिल हुने । सबैसँग मिल्ने गर्थे । मलाई सबैले माया गर्नुहुथ्यो । साथीहरूसँग डोरी लगाएर खेल्ने खेल धेरै नै खेलिन्थ्यो । सानो–सानोमा त गोट्टा खेलेको सम्झदा अझै पनि त्यही बाल्यकाल फर्किदिएको भए जस्तो पनि लाग्छ । मैले अमर ज्योति नमुना माविबाट एसएलसी पास गरेको हुँ ।

स्कुल पढ्ने बेलामा नेवारे नजिकको वनमा खजुरी खान गएको याद छ । स्कुलबाट धेरै साथीहरू जम्मा भएर जंगलमा खजुरी खान गएको, खेलेको अहिले सम्झँदा इतिहास जस्तै लाग्छ । पहिले बजारमा धेरै फिल्म हेर्न आइन्थ्यो । साथीहरू मिल्ने र बजारमा नयाँ फिल्म लागेपछि हेर्न पुगि हाल्थ्यौं । तर हामी बाहिरको साथीहरूसँग त्यति धेरै साथ भने गरेनौं । हाम्रो ढकालहरूको परिवार ठूलो थियो । दाइ, भाइबहिनी धेरै भएको कारणले पनि खेल्न रमाउन सजिलो हुन्थ्यो ।

मेरो पढाइ राम्रो थियो । बिहान साँझ घरको काम सघाएर पढ्ने गर्थैं । विद्यालय पढ्दा म अतिरिक्त क्रियाकलापमा भाग धेरै लिन्थें । जिल्ला स्तरीय वक्तृत्वकला, वादविवाद प्रतियोगितामा भागलिन धेरै रुचि थियो अरु विद्यालयमा हुने क्रियाकलापमा पनि नछुट्याइ भाग लिने गर्थें । म यिनी विधामा भाग लिँदा प्रथम, दोस्रो र तेस्रो केही न केही भइहाल्थे । मलाई अझ यस्ता प्रतियोगितामा भाग लिनका लागि हौसला प्राप्त हुन्थ्यो । मैले कविता प्रतियोगितामा पनि भाग लिने गर्थें । शिक्षकहरूले मलाई धेरै माया गर्नुहुन्थ्यो । शिक्षकहरूसँग हामी धेरै नजिक हुने गर्थियौं । मैले नेतृत्व गर्न र बोल्न मन पराउँथे । मलाई सानोमा कथा पढ्न धेरै मनपथ्र्यो । भाइबहिनी साँझको समयमा कथा सुनाएर बस्ने पनि गथ्र्यौं ।

हामी विद्यालयबाट जुनियर रेडक्रस सर्कलमा पनि आवद्ध भएका थियौं । जसले गर्दा मलाई सानैबाट सामाजिक कामहरूमा लाग्न प्रेरणा मिल्न गयो । म भन्दा अघि हाम्रो परिवारमा सामाजिक क्षेत्रमा काम गरेको हुनुहुन्थ्यो । त्यसैले पनि मलाई सामाजिक काममा रुचि थियो । जुनियर रेडक्रसबाट विभिन्न सामाजिक कार्यहरूमा पनि सहभाग िहुने गर्थें ।

सानोमा धेरै ठूलो सपना थिएन् तर पढेर केही गर्नुपर्छ र जागिर खानुपर्छ भन्ने लाग्थ्यो । राजनीतिमा भने क्याम्पस पढ्दाखेरी लागेको हुँ । विद्यालयमा अनेरास्वयुको गठन गर्न भनि गएको बेलामा अलि–अलि बुझेको थिएँ । विद्यालय पढ्दा त्यही हो घरमा आमा बुबालाई घरको काममा सघाउने र पढ्ने गरियो । मलाई विशेष गरेर खाना पकाउने र सरसफाइको काम मनपथ्र्यो । घरको काम त्यति धेरै गर्नु त पर्दैनथ्यो । दाइ भाउजु, बुबा आमाले गर्नुहुन्थ्यो ।

बिदाको समयमा दाउरा लिन बन जाने गथ्र्यौं । मलाई घरमा धेरै विश्वास गर्नुहुन्थ्यो । मानिसले जहिले पनि विश्वास कायम गर्नुपर्छ । घरमा मलाई पढ्नका लागि प्रेरणा दिइरहनुहुन्थ्यो । आवश्यकता जहिले पनि पूरा गर्नुभयो । त्यति ठूलो परिवारले पूरा गर्न नसक्ने चाहना त कहिले पनि राखिनँ । सकेसम्म बुबाआमाले पूरा गर्ने कोसिस गर्नुभयो । समग्रहमा बाल्यकाल राम्रोसँग बित्यो ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७४, सोमबार १०:०५