हत्या भएको ३८ वर्षपछि काजकिरिया


पञ्चायतको विरोध गर्दा सुर्खेतमा हत्या गरिएका इन्द्र बिसीको ३८ वर्षपछि काजकिरिया गरिएको छ । २०३६ साल जेठ १५ गते दशरथपुरमा हत्या गरिएको बिसीको आफन्तले दाहसंस्कार तथा काजकिरिया गरेका हुन् । कुशको प्रतिमा बनाएर आफन्तले भेरीमा दाहसंस्कार गरेका छन् ।

प्रजातन्त्र स्थापनाका लागि २०३६ जेठ १५ गते किसानले निकालेको जुलुसमा सहभागी भएको बेलामा प्रहरीले बिसीसहित सात जनाको हत्या गरेको थियो । हत्यापछि आफन्तले शव पाउन सकेनन् । तत्कालीन अवस्थामा भएको धरपकडको त्रासका कारण मृतकका आफन्तले धार्मिक संस्कार अनुसार काजकिरिया गर्न पनि सकेका थिएनन् । तर हत्या भएको ३८ वर्षपछि मात्र आफन्तले मृतकको दाहसंस्कार तथा काजकिरिया गरेका हुन् ।

दशरथपुर गोलीकाण्डमा बिसीसहित लेखफर्सा, दशरथपुर र रामघाटका न्याउले कामी, लालवीर टमटा, हस्तबहादुर सार्की, कर्णबहादुर खत्री, ब्रहमदत्त तिवारी र बहादुरे कामीको मृत्यु भएको थियो । प्रहरीले गायव बनाएका कारण उनीहरूको शव आफन्तले फेला पार्न सकेनन् । पञ्चायतद्वारा हत्या गरिएको इन्द्र बिसीका भाइ सत्यन्द्र बिसी भन्छन्, ‘हामीले दाइको लास नै पाएनौं, त्यतिबेला किरिया गर्न खोजेका
थियौं । तर प्रहरीले घरमै पुगेर धरपकड गरे, हामीले संस्कार अनुसार काजकिरिया नै गर्न पाएनौं ।’ अहिले देशमा गणतन्त्र स्थापना भएको र मृतकको आत्मालाई पनि शान्ति मिलोस् भनेर लामो समयपछि दाहसंस्कार र काजकिरिया गरिएको उनले बताए ।

आफन्तका अनुसार हत्या भएको स्थान र शव गाडिएको भनिएको स्थानबाट माटो ल्याएर कुशको प्रतिमा बनाएर अन्त्यष्टी गरिएको हो । धार्मिक संस्कार अनुसार भेरी नदीमा दाहसंस्कार गरेका आफन्तले काजकिरिया समेत गरेका छन् । गणतन्त्र दिवसको अवसर पारेर सोमवार मात्र आफन्तले संस्कार अनुसारका आवश्यक प्रक्रिया पूरा गरे । प्रजातन्त्रका लागि आफन्तले ज्यान दिएको भए पनि राज्यले उनीहरूको अपमान गरेको पीडित परिवारको गुनासो छ । हत्या भएको ३८ वर्षसम्म पनि मृतकलाई सहिद घोषणा नगरेर राज्यले रगतको अपमान गरेको आफन्तको दुखेसो छ । हत्या गरिएका सात जनालाई हालसम्म राज्यले सहिद घोषणा गरेको छैन । यद्यपि घटनाको छानविन गर्नका लागि बेला–बेलामा विभिन्न उच्चस्तरीय कार्यदल र समितिहरू जिल्लामा नआएका भने होइनन् । तर हालसम्म पीडित परिवारले राहतसमेत पाउन सकेका छैनन् ।

स्थानीय प्रयासबाट हत्या भएको स्थानमा एउटा स्तम्भ निर्माण गरिएको छ । राज्यको तर्फबाट भने कुनै वास्ता नभएकोमा पीडित परिवार निराश बनेका छन् । ‘गाडीले किचेर मर्दा सहिद घोषणा हुन्छ, पञ्चायतविरुद्ध लड्दा ज्यान गुमाउनेहरू बेखवर छन्’ सत्यन्द्रले भने, ‘हाम्रा आफन्तको रगतले प्रजातन्त्र आयो, त्यही जगमा गणतन्त्र हुर्किदैं छ । तर राज्यले रगतको अपमान गरेको छ, हाम्रा आफन्त किन सहिद भएनन् ?’ देशमा सयौं सहिद घोषणा हुँदा समेत सुर्खेतमा प्रजातन्त्रका लागि ज्यान गुमाउनेलाई बेवास्ता गरिएको उनको गुनासो छ । आफूहरूले राहत रकम खोजेको नभइ, रगतको सम्मान मात्र खाजेको उहाँले उल्लेख गरे । पीडित परिवारले मृतक सबैलाई राज्यले सहिद घोषणा गर्नुपर्ने माग गरे । साथै उनीहरूले गोलीकाण्ड भएको स्थानमा मृतकको शालिक निर्माण, प्रतिक्षालय र स्मृति पार्क निर्माणका लागि राज्यले सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन् ।

आफूहरूले हालसम्म राज्यबाट राहत तथा क्षतिपूर्ति नपाएको पीडित परिवारले बताएका छन् । साथै उनीहरूले अब राज्यले मृतकलाई राज्यले उच्च सम्मान दिनुपर्ने, आफन्तलाई रोजगारी दिनुपर्ने र राज्यको निकायमा प्रतिनिधित्वको अवसर दिन आग्रह गरेका छन् । हत्या भएकाहरूका आफन्तहरूले पटकपटक राज्यसँग रगतको सम्मान गर्न माग गर्दै आएका छन् । तर राज्यले नै बेवास्ता गरिरहेको उनीहरूको दुखेसो छ ।
३८ वर्षअघि पञ्चायतको विरोधमा निकालिएको किसान जुलुसमा प्रहरीले अन्धाधुन्द गोली चलाएको थियो । सोही क्रममा दशरथपुरमा सात जनाको ज्यान गएको थियो । तत्कालीन समयमा प्रशासनको त्रासका कारण आफन्तले काजकिरिया समेत गर्न सकेका थिएनन् ।

प्रकाशित मितिः   १६ जेष्ठ २०७४, मंगलवार ११:२४